पूर्वकार्य तथा प्रतिकार्य अभ्यास सम्पन्न

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०८०, शुक्रबार १०:४१

धुन्चे, रसुवाको उत्तरगया गाउँपालिकामा जिल्ला विपत् व्यवस्थापन रसुवाको आयोजना तथा प्रतिबद्ध परियोजनाको सहयोगमा चैत २० देखि २३ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न भएको छ ।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले गर्ने मनसुन बुलेटिन सातदिने, तीनदिने र विशेष मौसम तथा बाढीको बुलेटिनमा रही अभ्यास गरिएको थियो । उत्तरगया गाउँपालिकाको उच्च जोखिममा रहेका स्थानलगायत सम्पूर्ण स्थानमा सूचना प्रवाहको विषयमा स्थानीय विपत् व्यवस्थापन समिति, वडा तथा सामुदायिक विपत् व्यवस्थापन समिति, स्वयम्सेवक, युवा क्लब, आमा समूह, रेडक्रसलगायतका सरोकारवालालाई कसरी विपत्पूर्व र विपत्पश्चात् परिचालन गर्न सकिन्छ र गर्ने गरिन्छ भन्नेबारेमा अभ्यास भएको थियो । विशेष जानकारी दिन र उत्तरगया गाउँपालिकाले तयारी गरेको विपत् पूर्वकार्य तथा प्रतिकार्य योजनाको मूल्याङ्कन गर्न, यस घटना अभ्यासबाट अवगत भएका कमी तथा सुधार्नुपर्ने कुरालाई आगामी आउने वर्षको योजनामा समावेश गर्न सहयोग पुग्ने बताइएको छ । मानिसमा सतर्कता कसरी अपनाउने, विपत्को समयमा गर्नुहुने नहुने कार्यबारेमा जानकारी दिने साथै विपत्को समयमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका, विषय क्षेत्रका कर्मचारी, सुरक्षा निकाय, सामुदायिक विपत् व्यवस्थापन समिति, रेडक्रस, युवा क्लब, आमा समूह, स्थानीयलगायत सम्पूर्ण सरोकारवालाले आ–आफ्नो ठाउँमा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराइएको थियो । यस्तै, वडा नम्बर २ डाँडागाउँमा गरिएको कृत्रिम घटना अभ्यासमा जोखिममा रहेको लाम्चेढुङ्गा क्षेत्रका जोखिममा रहेका २१ परिवारलाई स्थानान्तरण, सवारी दुर्घटनाका घाइतेको उद्धार साथै प्राथमिक उपचार गरी अस्पतालसम्म लैजानेलगायतका अभ्याससमेत गरिएको थियो ।

अर्को घटना अभ्यासमा उत्तरगया गाउँपालिका वडा नम्बर ५ नौबिसे नयाँबस्तीका पहिरोबाट जोखिममा रहेका १७ परिवारलाई पनि स्थानान्तरण साथै स्थानान्तरणपश्चात् अस्थायी बसोवासको प्रबन्ध साथै राहतसमेत वितरण गरेको थियो । सोही क्षेत्रमा एक कुखुरा खोरमा भएको आगलागीको नियन्त्रण गरिएको थियो । अभ्यास कार्यक्रमका अनुभव साथै कार्यक्रमबारे चर्चा गर्दै गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले समापन गरेका थिए । उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, विषयगत शाखा प्रमुखलागायत कर्मचारी, विपत् व्यवस्थापन शाखा, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रका कर्मचारी, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि, नौकुण्ड गाउँपालिकाका प्रतिनिधि, भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका प्रतिनिधि, रसुवा जिल्ला सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, हाइड्रोपावरका प्रतिनिधि, रेडक्रस, विभिन्न योजना तथा परियोजनाका प्रतिनिधि, प्रतिबद्ध परियोजना, स्थानीयलगायत सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको हो ।