गोसाइँकुण्ड क्षेत्रमा रेडपाण्डा देखियो

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार ११:२३

धुन्चे, वसन्त ऋतुको आगमनसँगै चितुवाको टाउको भएका रेडपाण्डा रसुवा जिल्लाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्ड मार्गमा पर्ने चोलाङपाटी क्षेत्रको जङ्गलमा देखिन थालेको छ । सन् १९८७ मा वन्यजन्तुविज्ञ डा. प्रह्लाद योङ्जेनको अध्ययनले चन्दनबारी तथा चोलाङपाटी क्षेत्रमा रेडपाण्डा पाइने पत्ता लागेको थियो । वन्यजन्तुविज्ञ योङ्जेनले पत्ता लगाए पनि रेडपाण्डा विगतमा देख्न मुस्किल थियो ।

चन्दनबारी तथा चोलाङपाटी क्षेत्रमा रेडपाण्डा रहेको पत्ता लागेपछि लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत रेडपाण्डा संरक्षणमा गतिविधि सञ्चालन भइरहेको छ । गोसाइँकुण्ड तीर्थ गर्न जाने हिन्दु एवम् बुद्ध धर्मावलम्बी र हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्न अहिले सहज भएको छ । लोपोन्मुख रेडपाण्डा समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको वन क्षेत्रमा पाइन्छ । वन क्षेत्रको प्रभावकारी संरक्षण भइरहेको कारण रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले बताए । निकुञ्जको संरक्षणमा तैनाथ नेपाली सेनाले नियमित गस्ती गर्दै चेलाङपाटीमा सेनाको पोस्ट राखेर निगरानी गरिरहेको र उक्त क्षेत्रमा अन्य चौपाया तथा मानिसको बस्ती नभएको कारण चन्दनबारीको माथिल्लो भाग चोलाङपाटी जङ्गल क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको हो । यो क्षेत्र अहिले रेडपाण्डाका लागि उपयुक्त वासस्थान बन्दै गएको छ । चन्दनबारीको माथिल्लो भाग चेलाङपाटी वन क्षेत्रमा रेडपाण्डाको सङ्ख्या बाक्लै रहेको नेपाली सेनाले जानकारी दिएको छ । लजालु स्वभाव भएका रेडपाण्डाले राति रुखको टोड्कामा वास लिने र दिउँसो रुखको हाँगामा आराम गर्न बस्ने, भोक लाग्दा झरनासँगै खोल्साको निगालोका टुसा र झारपात खान भुइँमा झर्ने गर्छ । वरिष्ठ संरक्षण अधिकृत बरालले रेडपाण्डा संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताए ।