डढेलो नियन्त्रण गर्न सचेतना जरुरी

  • त्रिशूली प्रवाह
  • १० जेष्ठ २०८१, बिहीबार ०८:४०

मानवीय जीवनमा अपरिहार्य तापीय तथा इन्धनको स्रोतका रूपमा प्रयोगमा आएको आगाको दुरुपयोग हुँदा धनजनको क्षतिसँगै पर्यावरणमा समेत समस्या उत्पन्न भइरहेको छ । आफ्नै अधीनको वस्तु नियन्त्रणबाहिर गयो भने प्रयोगकर्ता मात्रै नभएर सम्पूर्ण वातावरणका निम्ति अभिशाप बन्छ । एउटा रुखबाट लाखौँ सलाईका काँटी बन्छन्, तर एउटै काँटीले लाखौँ रुख भएको जङ्गल सखाप बनाइदिन्छ । वनजङ्गलका साथै मानवबस्तीमा सल्किएको आगाले सिङ्गो गाउँलाई नै क्षणभरमा खरानी बनाइदिएको दुःखद समाचार प्रायः हिउँद लागेसँगै आउने गरेका छन् । यसरी आगलागी हुनामा ९६ प्रतिशत मानवीय कारण नै हुने गरेको अनुसन्धानले देखाएको छ । बाँकी चार प्रतिशतमा एक प्रतिशत प्राकृतिक र तीन प्रतिशत रहस्यपूर्ण हुने गरेको छ । प्रायः सुक्खायाममा लाग्ने डढेलो र आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौँ रुपैयाँको भौतिक संरचना एवम् वन पैदावार नष्ट हुने गरेको तितो यथार्थ नेपालले विगतदेखि नै भोग्दै आएको छ ।

यस वर्ष पनि मुलुकभरका वनजङ्गल र मानवबस्तीमा आगलागी भएका सयौँ घटना सार्वजनिक भइरहेका छन् । चालू आवको १० महिनामा देशभर पाँच हजारभन्दा बढी आगलागीको घटना भइसकेको छ । मुलुकको कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन तथा बुट्यान क्षेत्रमा जताततै डढेलो लागेको छ । कुनै बेला ‘हरियो वन, नेपालको धन’ भनिए पनि डढेलाका कारण जीवजन्तुका साथै वनपैदावारमा पुगेको क्षतिको आकलन गर्न सकिने अवस्था देखिँदैन । वर्षा कमी हुँदा गत फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना जारी छ । देशव्यापी रूपमा फैलिएको डढेलाको असर हिमाली क्षेत्रमा समेत देखिएको वातावरणविद्ले औँल्याएका छन् । डढेलाबाट उत्सर्जित धुवाँ तथा कार्बनले हिउँ पग्लन थालेको छ । जलवायु परिवर्तनले बढेको तापमान र डढेलाको धुवाँले हिमाल नाङ्गिने र हिमनदी विलीन हुने अवस्था आएको छ । तापक्रम वृद्धिका साथै श्वास–प्रश्वासमा अपरिहार्य वायु नै प्रदूषित बनेपछि मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनु स्वाभाविक हो । वायुको गुणस्तर मापन गर्ने संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काठमाडौं उपत्यका र मुलुकका अन्य प्रमुख सहरको प्रदूषण अधिक छ । अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अनुसार एक्युआई शून्यदेखि ५० सम्मलाई स्वस्थकर मानिन्छ । यसैगरी ५१ देखि सयसम्मलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई अस्वस्थकर र एक सय ५० देखि दुई सयसम्मलाई अतिअस्वस्थकर मानिएको छ । काठमाडौं र मुलुकका अन्य प्रमुख सहरको प्रदूषण बढेकाले अस्वस्थकरमा गणना भएको छ । वायु प्रदूषण वृद्धि भएर मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको जनस्वास्थ्यविद्को भनाइ र अस्पतालमा आँखा तथा श्वासप्रश्वासका बिरामीको चाप देखिनाले यसतर्फ सर्वसाधारणलाई सचेत रहन र सरकारलाई आवश्यक तयारी गर्न जरुरी छ । जङ्गलमा भएको आहार आगाले डढाइदिएपछि वन्यजन्तु आहाराका खोजीमा बस्ती पस्दा अर्को आतङ्क सिर्जना भइरहेको छ । वास, ज्यान र आहाराका खोजीमा गाउँ पसेका जीवजन्तुका कारण मानिसले लगाएको खेतीबालीदेखि मानव जीवनसम्म जोखिममा परिरहेको छ ।

वन–जङ्गलमा होस् कि घरमा, आगो आफैँ उब्जिने होइन । वन पैदावारको चोरी–पैठारी तथा नयाँ घाँस पलाउने लोभले वनजङ्गलका आसपासका बासिन्दाले डढेलो लगाउने गरेको यथार्थसमेत सार्वजनिक हुने गरेको छ । केटाकेटीले अन्जानमा तथा चुरोट, बिँडी खानाका कारण पनि आगो लाग्ने गरेको छ । वनजङ्गलमा वन हेरालुको व्यवस्था गर्ने तथा सुरक्षाकर्मीको नियमित गस्तीका साथै अग्नि नियन्त्रण रेखा कायम गर्ने हो भने डढेलाका घटनामा कमी आउने वातावरणविद्को भनाइलाई सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ । विपत् आइपरेपछि मात्र चासो देखाउने, तर बेलैमा सचेतना तथा सुरक्षाका उपाय अवलम्बन नगरिने प्रवृत्तिको अन्त्य गरी वातावरण विनाश तथा जनधनको क्षति हुनबाट जोगाउन सबै पक्षले सतर्कता अपनाउनु जरुरी छ । आगो लागिसकेपछि नियन्त्रणमा आवश्यक उपाय अपनाउन कत्ति पनि ढिला गर्न नहुने र सम्बन्धित निकायले तदारुकता नदेखाउँदा परिणाम गम्भीर हुने गरेको छ । त्यसो त वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने व्यवस्था वन ऐन, २०७६ मा उल्लेख छ । राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै काम गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु. ६० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था भए पनि अहिलेसम्म दोषीलाई कानुनी दायरामा ल्याइएको पाइएको छैन । आगलागीका घटना न्यूनीकरण तथा नियन्त्रणमा स्थानीयस्तरमा सचेतना अभियान सञ्चालन गर्नाका साथै सम्बन्धित निकायबीच समन्वय र सक्रियता हुनु आवश्यक छ ।