वातावरण विनाशले खाद्य शृङ्खला र पारिस्थितिक प्रणालीमा असर

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७८, शुक्रबार ०८:४७


  • केशव पौडेल

नेपाल विकसित राष्ट्र बन्ने लक्ष्यमा लम्कँदै गर्दा र भौतिक पूर्वाधारको निर्माणले गति लिइरहँदा पहिलो प्राथमिकतामा विकासलाई अघि बढाउँदा वातावरणको सन्दर्भ र संरक्षणको पाटो उपेक्षामा परेको छ । जसरी पनि विकास हुनुप¥यो, वातावरणबारे पछि सोचौँला भन्नेजस्ता प्रतिक्रिया अहिले आइरहेको छ । बाल्नलाई बिजुली छैन, खोलाको माछाको चिन्ता किन ? सुरुमा त बाटोघाटो हुनुपर्छ, वनजङ्गल त पछि भइहाल्छ नि भन्ने खालका तर्क गर्ने ठूलै समूह देख्दा उदेक लाग्छ ।


वास्तवमा मानव आफैँ वातावरणको अङ्ग भएको र समग्र सृष्टिको अस्तित्वका लागि समेत सबैभन्दा ठूलो कुरा वातावरण नै हो । योभन्दा ठूलो केही हुन सक्दैन । सम्पूर्ण जनहितका कार्य तब मात्र सफल हुन्छन् जब वातावरणलाई प्राथमिकतामा राखेर कार्य गरिन्छ । वातावरणको जैविक र अजैविक तत्वमध्ये जैविक तत्वको प्रमुख अङ्ग मानव हो । भएका खोज, अनुसन्धान तथा वैज्ञानिक तथ्य हेर्दा ४ दशमलव ५ खर्ब वर्षअगाडि साधारण एक कोषीय जीवतत्वको विकासको प्रक्रिया बढ्दै गएर आजको अवस्थामा आइपुगेको हो । कुल वातावरणको साथ पाएर जैविक विकास गर्दै तथा उन्नत हुँदै जाने प्रक्रियाबाट स–साना जीव विकासका विभिन्न चरण पार गरेर करिब दुई लाख वर्ष पहिला मात्र आजको मानवको प्रारम्भिक स्वरूप देखापरेको थियो । मानव जातिको सुख, सुविधाका लागि बोटबिरुवा, चराचुरुङ्गी र जीवजन्तु तथा समग्र पारिस्थितिक प्रणालीमा असर पर्ने गरी काम गर्ने अधिकार कोही–कसैलाई छैन । हामी सबै प्रकृतिको सन्तान भएकाले प्रकृतिका सन्तानबीच यस पृथ्वीमा समान अधिकार स्थापना हुनैपर्छ र सबैको अस्तित्वको सम्मान गर्नुपर्छ ।


संसारमा मानव मात्रैको अस्तित्व कल्पना गर्न सकिँदैन । सास लिन, गाँस, वास, कपास, औषधोपचार, मनोरञ्जन आदिमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा बोट–बिरुवा तथा जीवजन्तुमा हामीले भर पर्नुपर्छ । वातावरणमा एउटा बोट र जीव पारिस्थितिक प्रणालीअन्तर्गत अर्को बोटमा तथा जन्तुको अस्तित्वमा भर परिरहेको हुन्छ । खाद्य शृङ्खला र पारिस्थितिक प्रणालीबाट नै मानवलाई चाहिने हरेक कुरा प्राप्त हुन्छ । कुनै एकको अस्तित्वका लागि अर्काको सहयोग आवश्यक पर्ने अनेकन उदाहरण छन् । वातावरणमा हुने विनाशले खाद्य शृङ्खला र पारिस्थितिक प्रणाली बिग्रने गर्छ । कुनै विशेष ठाउँमा भौतिक पूर्वाधार तयारी गर्नका लागि वातावरणमा खलल पु¥याउने, स्थानान्तरण गर्नेजस्ता कार्य गर्नुपर्ने हुन्छ । सो क्रममा त्यहाँका बोट–बिरुवा, जीवजन्तुलाई असर पर्ने तथा तिनको अस्तित्व नै सङ्कटमा पर्ने गरेको छ । अहिले कुनै ठाउँको जुन प्राकृतिक वातावरण छ त्यो सय, दुई सय वर्षको प्रकृतिको उपलब्धि होइन, त्यसमा लाखौँ वर्ष लागेको छ । वातावरणमा भएका जैविक–अजैविक तत्वको सही सम्मिश्रण तयार हुन हावापानी, उचाइ, जमिनको संरचना, खनिज तत्व र पानीको उपलब्धता आदिले ठूलो भूमिका खेलेको हुन्छ ।


तसर्थ पुनस्र्थापना हुने वातावरणमा हावापानी, उचाइ, जमिनको संरचना, खनिज र पानीको उपलब्धता पहिलाको जस्तो नहुने भएकाले पुनस्र्थापित वातावरण पहिलेको जस्तो हुँदैन । जेनतेन हामीले पुनः वृक्षरोपण गरी नयाँ वातावरण स्थापना गरौँला, तर पहिलाको जस्तो जुन बोट–बिरुवा थिए, जुन जीवजन्तु थिए सोही सम्मिश्रण तयार गर्न सकिँदैन । हजारौँ वर्षदेखि रहेको अस्तित्व कायम राख्नुपर्छ । खाद्य शृङ्खला र पारिस्थितिक प्रणालीमा अटाउन नसकेर लोप हुने सम्भावना बढ्छ । हालसालै बनाएका पहाडी भेगका बाटोको कुरा गर्दा जहाँ मन लाग्यो त्यहीँ बाटो खनिएको छ । बाटो खन्दा निस्किएको माटो र ढुङ्गा जहाँ मन लाग्यो त्यहाँ, भिरपाखा, पानीको स्रोत नभनी फालिएको छ । वास्तवमा निश्चित क्षेत्र बनाएर वातावरणलाई असर नगर्ने गरी तिनको व्यवस्थापन हुनुपथ्र्यो, त्यो भइरहेको छैन । त्यस्तै, जलविद्युत् आयोजनाको निर्माण गर्दा जलचरलाई ध्यान दिई निर्माण कार्य अगाडि बढाउनुपर्नेमा त्यसो गरिएको देखिँदैन । विभिन्न ठाउँमा सडक सञ्जाल निर्माण गर्दा जनावर हिँड्ने बाटो नबिथोलिने गरी बनाउनुपर्ने, बिथोलिने भए बाटोमा जनावर यताउता गर्न मिल्ने गरी बाटोमाथि र बाटो तलबाट जनावरका लागि बाटो बनाउनुपर्नेतर्फ ध्यान दिएको पाइँदैन । तर, यसबारे विज्ञहरूले आवाज उठाउन थालेका छन् ।

विकासको पूर्वाधार स्थापना गर्दा केही न केही मात्रामा वातावरणमा असर पर्दछ नै । विकासको गतिमा अगाडि बढ्दै जाँदा अहिलेको पूर्वाधार निर्माण शैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ । अहिले जुन योजनाअनुसार भौतिक पूर्वाधारको सिर्जना गर्दछौँ, त्यसले भोलिका दिनमा वातावरण पुनस्र्थापना गर्ने उद्देश्य राख्दैन, राखेको पनि देखिँदैन । भोलिका दिनमा वातावरण बिग्रेको कारणले गर्दा निश्चित रूपमा वातावरण पुनस्र्थापन गर्नुपर्ने आवश्यकता आइपर्छ । अहिले विकसित देश, संयुक्त राष्ट्र र विश्व बैंकले वातावरण पुनस्र्थापनामा खर्च गरिरहेका छन् । विकसित देशका कुरा गर्नुपर्दा ती देशको वातावरण पुनस्र्थापन गर्न, वातावरणमैत्री प्रविधिले विस्थापन गर्न कुल गार्हस्थ्य उत्पादनको उल्लेख्य रकम खर्च गर्नुपरेको उदाहरण छन् । त्यहाँ वातावरणमैत्री प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दा अर्थतन्त्र नै धराशायी हुने डरले अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर नगरिएको उदाहरण पनि छन् । यी सबै हाम्रा लागि वातावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने शिक्षाका स्रोत हुन् ।


हामी वातावरण विनाशबाट उत्पन्न, वातावरणको विनाशमा व्यक्तिको कल्पनासमेत गर्न सक्दैनौँ । नेपालका समस्याको कुरा गर्दा हिमालमा हिउँ सकिँदै जानु, जसको फलस्वरूप नदीमा जलस्तर पनि घट्दै जानु, भूक्षय बढ्दै जानु, पहाडी भेगमा पानीको स्रोत घट्दै जानु, अनपेक्षित रूपमा बाढी आउनु र पूर्वाधारमा क्षति पुग्नु तथा मानवबस्ती जोखिममा पर्नेजस्ता समस्या देखिन थालेको छ । यसर्थ वातावरणलाई प्राथमिकता नदिई गरिने विकासले निम्त्याउने विनाश अकल्पनीय हुन्छ । जब वातावरण बिग्रँदै जानेछ माथि उल्लेख गरेजस्ता ठूला प्राकृतिक विपत् आउने र बढ्नेछन् । जसले मानव अस्तित्व नै सङ्कटमा पर्नेछ । यसै वर्ष सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको सय वर्षदेखिका बस्ती हिमपहिरो र बाढीपहिरोको चपेटामा परेर धेरै धनजनको क्षति हुन पुगेको छ ।