ह्युमपूजालाई निरन्तरता

  • त्रिशूली प्रवाह
  • १० श्रावण २०८१, बिहीबार १२:०६

धुन्चे, रसुवा जिल्ला सदरमुकाम धुन्चेआसपासका बासिन्दाले पुर्खौँदेखि मान्दै आएको ह्युमपूजालाई यस वर्ष पनि निरन्तरता दिएका छन् । यही साउन २ गते एकादशीदेखि ६ गते गुरुपूर्णिमासम्म धुङलाङ जोङचेत समूह प्रथम समूह (ह्युम न्युङ्ने र च्याकुरिम)ले आयोजना गरेको ह्युमपूजा चार समूह मिलेर पालैपालो गरिएको थियो ।

महिलाले नाङ्लामा पूजाको सामग्री फूलप्रसाद र पुरुषले पुस्तक बोकेर बजार परिक्रमा गर्छन् । यसरी बजार परिक्रमा गर्दा सबैको मनोकामना पूरा हुने विश्वास छ । धुन्चे छ्योलिङ गुम्बाका लामा गुरु लामा रिन्जेन घलेका अनुसार स्थानीयवासीले चार समूह बनाई पालैपालो वार्षिक तीन पाठपूजा गर्छन् । त्यसमध्ये पहिलो लामा धर्म गुरुहरूको उपस्थितिमा त्रिपिटक ग्रन्थ ह्युमपाठ गर्ने र स्थानीय बुद्ध धर्मअनुसार गन्ती गरिन्छ । यसको विशेषता हिउँदपछि वर्षा ऋतुमा प्रवेश गर्ने तथा रुखबिरुवा पलाउने, जाडो महिनामा खुम्चिएर जमिनभित्र रहेका किराफट्याङ्ग्रा गर्मी महसुस गरी बाहिर निस्कने गर्छन् ।

राष्ट्रिय फूल लालीगुराँस यही समय फुल्ने, वनजङ्गल हरियाली हुने तथा स्वदेशी तथा विदेशीको आगमन पनि बढ्छ । पहिलो दिन लामाहरू आफ्नै मौलिक वेशभूषा, गरगहनामा सजिएर माने घुमाउने, गीत गाउने, पुस्तक र नाङ्लामा सजाइएका फलफूल र अन्य सरसामानसहितको प्रसाद बोकी बजार परिक्रमा गर्छन् । साथै लामा र लाखे नाचसमेत प्रदर्शन गरिन्छ । त्रिपिटक ग्रन्थको पाठले मानव जाति, किराफट्याङ्ग्रा र वन्य जीवजन्तु, पशुपन्छीमा लाग्ने रोगव्याधि हटेर सुख, शान्ति र दीर्घायु हुने विश्वास गरिन्छ । पूजा अवधिभर लाखबत्ती बाल्नाका साथै विभिन्न मोलम पाठ गरिन्छ । सो अवधिभर लामा धर्मगुरुको समूहले माछामासु, लसुनबाहेकका भोजन खाना मात्रै खान्छ । अन्तिम दिनमा उपस्थित सम्पूर्णलाई आयोजकबाट साधारण भोजन खुवाउने र लामा गुरुबाट आशीर्वाद छोग (प्रसाद) लिएपछि कार्यक्रम समापन गरिन्छ । खासगरी बुद्ध धर्मअनुसार कात्तिक (दावा ग्येपा) त्रयोदशीदेखि अष्टमी चार दिनसम्म न्युङ्ने पूजाव्रत बसिन्छ ।

पूजामा लामा धर्मगुरु र माने आमाहरू उपस्थित भई नमो अवलोकेश्वर (चेङरिसी)को माने जप गरिन्छ । त्यस समयमा एक–अर्कासँग बोल्नसमेत नहुने चलन छ । २४ घण्टासम्म व्रत बस्नेले पानीसमेत पिउँदैनन् । आधुनिकतामा ढल्के पनि धुन्चेवासीले आफ्नो धर्मसंस्कृति र परम्परालाई जोगाइराखेको धर्मगुरु लामा रिन्जेन घलेले बताए ।