जग्गाको सरकारी मूल्य निर्धारण

  • त्रिशूली प्रवाह
  • १० श्रावण २०८१, बिहीबार ११:५१

विदुर, नुवाकोटमा आव ०८१/८२ का लागि जग्गाको कारोबार गर्ने सरकारी मूल्य निर्धारण भएको छ । निर्धारित जग्गाको मूल्य खासै वृद्धि भएको छैन ।

गत असार २६ गते मालपोत ऐन, २०३४ को दफा ८ (२) र मालपोत नियमावली, २०३६ को नियम ५ (ख) को प्रावधानबमोजिम चालू आवमा मालपोत कार्यालयको कार्यक्षेत्रका जग्गाको न्यूनतम मूल्य निर्धारण भएको हो । न्यूनतम मूल्य निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अध्यक्षतामा बसेको पदाधिकारीको उपस्थितिमा निर्धारण भएको मूल्य यही साउन १ देखि लागू भएको समितिका सदस्य सचिव एवम् प्रमुख मालपोत अधिकृत ओमबहादुर अधिकारीले बताए । १२ स्थानीय तहबाट सिफारिस भएका आधारमा समितिले मूल्य निर्धारण गरेको हो । चालू आवका लागि लिखु गाउँपालिका र बेलकोटगढी नगरपालिकाको बजारोन्मुख क्षेत्रका मुख्य सडकमार्ग क्षेत्रमा गत आवभन्दा १५ प्रतिशतसम्म मूल्यवृद्धि भएको जनाइएको छ ।

जिल्लामा जग्गाको सरकारी मूल्याङ्कनभन्दा वास्तविक किनबेचको मूल्याङ्कन भने निकै बढी छ । सोही आधारमा जिल्लामा जग्गाको कारोबार बढी हुने गरेको छ ।