नुवाकोटका पाण्डे एमालेको केन्द्रीय सदस्यमा मनोनीत

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १३:३२

काठमाडौं, नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले नुवाकोटका एमालेका युवा नेता केशवराज पाण्डेसहित ६ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । शुक्रबार बसेको एमाले सचिवालय बैठकले यसअघि एमाले प्रदेश अध्यक्षबाट बिदा भएका पाँचजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

मनोनीत हुनेमा बागमती प्रदेशबाट केशवराज पाण्डे, कोशी प्रदेशबाट तुल्सीप्रसाद न्यौपाने, कर्णालीबाट विनोद शाह, मधेशबाट रामअवतार यादव, सुदूरपश्चिमबाट दामोदार भण्डारी र झापाबाट दीपक कार्की रहेका छन् । मनोनीत कार्कीबाहेकका सबै नेता विगतमा हालै सम्पन्न प्रदेश कमिटीका अध्यक्षको जिम्मेवारीमा रहेका थिए । मनोनीत पाण्डे यसअघि एमाले बागमती प्रदेश अध्यक्ष रहेका थिए । उनी ०७४ सालको निर्वाचनमा नुवाकोटबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई आन्तरिक मामिला र भौतिक पूर्वाधारमन्त्री रहेका थिए । अब पाण्डेसहित नुवाकोटबाट एमालेको केन्द्रीय कमिटीमा तीनजनाको प्रतिनिधित्व रहनेछ । यसअघि नै एमालेको भरतपुरमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट बिन्दा ढुङ्गाना र उषाकिरण तिमल्सिना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।