नुवाकोटको नयाँ पर्यटकीय गन्तव्य सुइरेचौर

वियोगी पत्रकारिता केन्द्रले थपेको पर्यटन आकर्षण

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १४:०८
  • सुनील श्रेष्ठ

गुर्जेभञ्ज्याङ (नुवाकोट), पत्रकारितामा संलग्नलाई थाहा नहुन सक्छ गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रले पत्रकारका लागि आवासीय तालिमसमेतका लागि आवश्यक भौतिक संरचना बनाएको छ । केन्द्रले नुवाकोटको शिवपुरी गाउँपालिका–७, सुइरेचौर (सूर्यचौर)मा तीनतले भवन निर्माण गरेर सञ्चालनको तयारी गरेको छ । उक्त भवनमा सम्पादक समाज नेपालले आफ्नो गतिविधि र कार्यक्रम गर्दै त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणमा पहल गरिरहेको छ । सम्पादक समाजले निकट भविष्यमै तालिमका कार्यक्रम सञ्चालन गर्ने महासचिव श्याम डोटेलले बताए । यो क्षेत्र एउटा नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुनेसमेत उनले बताए ।

‘मातृभूमि’ साप्ताहिकका सम्पादक गोविन्द वियोगीको अध्यक्षतामा वि.सं. ०५१ मा स्थापित पत्रकारिता अध्ययन केन्द्रले बर्सेनि ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ र ‘सम्पादक समाज सम्मान’ दिँदै आएको छ । ‘सञ्चार क्षेत्रमा आएका कतिपय नयाँ अनुहारलाई ज्ञानको कमी र प्रशिक्षणको अभाव हुन सक्छ ।’ त्यस्तै अभाव पूरा गर्ने उद्देश्यले सम्पादक समाज नेपालले आफ्नै भवनमा पत्रकारिता अध्ययन एवम् प्रशिक्षणका लागि व्यवस्था गरेको छ,’ वि.सं. ०५१ मा समाजद्वारा प्रकाशित ‘सञ्चारदूत’ले ‘पत्रकारितामा प्रशिक्षणको अभाव’ शीर्षकमा सम्पादकीय लेखी विभिन्न प्राकृतिक घटना, दुर्घटना, अन्तर्वार्ता आदिमा सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका आदिबारे पत्रकारलाई सिकाउनुपर्ने कुरा उल्लेख गर्दै भनेको छ । बागिश्वरी पुस्तकालय, २००८ को प्रकाशन ‘बागिश्वरी’ हस्तलिखित मासिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका गोविन्द वैद्य ‘वियोगी’ले ‘गोरेटो’, ‘लोकदूत’ र ‘मातृभूमि’ साप्ताहिक र ‘जनदूत’ दैनिक पत्रिका प्रकाशन, सम्पादन गरेका भए पनि उनी ‘मातृभूमि’का सम्पादक नै भनी चिनिए र पछि समाज स्थापना गरी त्यसैमा क्रियाशील भए । ०४६ सालको आन्दोलनअघि र पछि गरी दुई कार्यकाल नेपाल पत्रकार महासङ्घका सभापति भएका वियोगी नेपालको न्युज एजेन्सी राष्ट्रिय समाचार समितिका पनि संस्थापक रहेका थिए । उनी नेपाल प्रेस काउन्सिलका सदस्य हुनुको साथै नेपाल प्रेस इन्स्टिच्युटका संस्थापकमध्ये एक हुन् ।

वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्य साढे तीन रोपनी जग्गा स्थानीयवासीसँग खरिद गरी केन्द्रको भवन निर्माण र वार्षिक कार्यक्रमसमेत सम्पन्न गर्न निकै मिहिनेत परेको र यसमा स्थानीय जनताको पनि सहयोग प्राप्त भएको बताउँछन् । ‘राजधानीमा जग्गा महँगो हुने र भवनको महत्व राजधानीबाहिर नै रहेको ठानी जहरसिंहपौवादेखि काभ्रेको साँगासम्म खोज्ने क्रममा काठमाडौंनजिक नुवाकोटको रमणीय ठाउँमा आइपुग्यौँ । पूर्वप्रधानमन्त्रीसमेतको प्रमुख आतिथ्यतामा यहीँ चार–पाँचवटा कार्यक्रम पनि गर्न सक्यौँ,’ स्थानीय जनबोलीमा ‘सुइरेचौर’ पनि भनिने ‘गोविन्द वियोगीमार्ग’परिसरमा उभिई गोविन्द वियोगी स्मृति ट्रस्टका संरक्षक वैद्यले भने । ट्रस्टले तीन भागमा ‘मातृभूमि साप्ताहिक सम्पादकीय सङ्ग्रह’ पनि प्रकाशन गरिसकेको छ । समाजका महासचिव श्याम डोटेलका अनुसार केन्द्रसँग अहिले २५ जनासम्मलाई एकैचोटि पत्रकारिताको आवासीय तालिम दिन सक्ने क्षमता छ । ‘निकट भविष्यमा त्यो कार्यक्रम पनि सुरु गर्नेछौँ,’ उनले भने । परिसरमा पूर्वतिर फर्किरहेको वियोगीको अर्धकदको मूर्ति पनि केन्द्रको आकर्षण हो । केन्द्रमा करिब ४० जना अटाउने बैठक कक्ष र अन्य कक्ष र सुविधा पनि छन् जहाँ वियोगी, मातृभूमि, समाजसँग सम्बन्धित तथा अन्य पुस्तक, पत्रिकासहितको पुस्तकालय पनि बन्दै रहेको डोटेलले जानकारी दिए । उनका अनुसार भवनपरिसरमा वृक्षरोपण र पार्किङको योजना पनि छ ।

काठमाडौं गोंगबुबाट उत्तरतिर पर्ने करिब १२ किलोमिटरको दूरीमा रहेको सूर्यचौरबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका हरियाली, गणेश–लाङटाङ, दोर्जेलाक्पा आदि हिमालका हिमशृङ्खला, नेपालको राम्रो धान फल्ने भनेर चिनिने नुवाकोटको थानसिंह फाँट, लिखु नदी र उपत्यका, राम्रोसँग अवलोकन गर्न सकिन्छ । युवाको हाइकिङको रोजाइमा पनि यो पर्न थालेको छ । काठमाडौं–नुवाकोटमार्गको गुर्जे भञ्ज्याङबाट करिब दुई किलोमिटर टाढा पूर्व पर्ने एक हजार नौ सय ८० मिटर उचाइको ‘सुइरेचौर’लाई पर्यटकीय केन्द्र बनाउन सकिने स्थानीय ‘लालीगुराँस लोकल खाजाघर’का सञ्चालक बद्रीबहादुर गुरुङले बताए । ‘यहाँ कोरोना महामारीअघि शनिबार र अन्य बिदाका दिन दैनिक ५० जनासम्म रात बस्ने गरी आउँथे, बीचमा सङ्ख्या निकै घटे पनि गत वर्षबाट यहाँ आउनेको सङ्ख्या बढिरहेको छ । अहिले फेरि आन्तरिक पर्यटक आउन थालेका छन्, हामी उत्साहित छौँ,’ नेपाली सेनाका पूर्वहवल्दार गुरुङले भने । सोही खाजाघरका सञ्चालककी पत्नीले भने बँदेलजस्ता जङ्गली जनावरले मकै, कोदो आदि खाद्यान्न खाइदिएको, तर सरकारबाट क्षतिपूर्ति नपाएको गुनासो गरिन् ।

तत्कालीन छिमेकी गाविस पञ्चकन्याका अध्यक्ष राम थापा नेपाली पत्रकारिताका हस्ती वियोगीका नाममा स्थापित पत्रकारिता केन्द्रले सूर्यचौर र समग्र नुवाकोटको पर्यटन विकासमा अर्को आकर्षण थपेको बताउँछन् । उनी भन्छन्, ‘सो क्षेत्र काठमाडौं उपत्यकाको वायु नियन्त्रक अथवा फोक्सो नै हो । यहाँ अरू तीन भञ्ज्याङभन्दा अपार पानीको स्रोत छ । यो चराचुरुङ्गी, जीवजन्तु र वनस्पतिको वासस्थान, ट्रेकिङ, हाइकिङ, रकक्लाइम्बिङ, क्यानोनिङ, वायु र जल–पर्यटन तथा रैथाने विविध संस्कृति र कृषि उत्पादनका लागि उपयुक्त स्थल रहेकाले केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारले त्यसको उपयोगमा ध्यान दिनुपर्छ ।’ यहीँको गुर्जेभञ्ज्याङ उपत्यकाका चार भञ्ज्याङमध्ये एक हो जुन उत्तरपट्टिको मूल ढोका पनि हो । निकुञ्ज स्थापनापूर्व यहाँ शिवपुरी जलाधार विकास परियोजना स्थापना गरिएको थियो । यसै क्षेत्रमा पश्चिमका एक व्यवसायीले ०३८ मा स्थापना गरेको हरियालीपूर्ण ‘शिवपुरी भिलेज’ले विदेशी पर्यटकलाई पनि सेवा प्रदान गरिरहेको छ । काठमाडौं–नुवाकोट–त्रिशूली मार्गको गुर्जेभञ्ज्याङबाट करिब दुई किलोमिटर टाढा पर्ने सुइरेचौरमा सम्पादक समाजका पदाधिकारी र यससँग सम्बन्धित व्यक्तिको नियमित आवत–जावतले यस क्षेत्रको चर्चा चुलिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए । पालिकाले सुइरेचौर क्षेत्रमा पिकनिक स्थलका लागि आवश्यक पूर्वाधार निर्माणमा वडासँग समन्वय गरेर कार्यक्रम राखेकोसमेत उनले बताए ।