प्रधानमन्त्रीले भोलि महोत्सव उद्घाटन गर्ने

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १४:३३

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा नुवाकोट महोत्सव २०८० भोलि शुक्रबारबाट सुरु हुँदै छ । महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि नुवाकोट आउने जानकारी सङ्घले दिएको छ ।

सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएअनुसार महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शुक्रबार १२ बजे नुवाकोट आउने र २ बजे फर्कने कार्यक्रम रहेको छ । सङ्घको आयोजनामा ०६३ मा पहिलो महोत्सव भएको थियो । त्यसलाई निरन्तरता दिँदै सङ्घको आयोजनामा हुन लागेको यो महोत्सव आठौँ हो । महोत्सवको सबै तयारी पूरा भइसकेको सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्रीबाट उद्घाटन हुने महोत्सवमा विशेष अतिथिका रूपमा अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्लाका पूर्वमन्त्री, सांसद आउने निश्चत भएकोसमेत महासचिव बुढाथोकीले बताए । ०६३ मा सम्पन्न पहिलो महोत्सवको उद्घाटन तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले र छैटौँ महोत्सव नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव गरेका थिए भने यसपटक प्रधानमन्त्री दाहालले गर्ने भएका छन् । प्रधानमन्त्रीबाट उद्घाटन हुने महोत्सवमा जिल्लामा उत्पादित कृषि तथा लघु घरेलुका उत्पादनलाई विशेष प्रदर्शनीको व्यवस्था गरिएको छ । महोत्सवका लागि दुई सय ५० वटा स्टल निर्माण भई बुकिङसमेत भइसकेको सङ्घका द्वितीय उपाध्यक्ष तथा नुवाकोट महोत्सव २०८० का स्टल व्यवस्थापन समितिका संयोजक सविन राजभण्डारीले जानकारी दिए । महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएकाले विशेष सुरक्षाको प्रबन्ध गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएकाले महोत्सवको भव्य उद्घाटनको तयारीमा जुटिरहेकोसमेत उपाध्यक्ष राजभण्डारीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

१० दिनसम्म सञ्चालन हुने महोत्सव विदुरमा सञ्चालन हुनेछ । महोत्सवमा ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडबराबरको कारोबार हुने उद्योग वाणिज्य सङ्घको अपेक्षा छ । सङ्घका अध्यक्ष श्रेष्ठले जिल्लाको खस्किँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्नुका साथै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सव सहयोगी सावित हुने बताए । ‘स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु र जडीबुटीको व्यवसायीकरण गर्दै लगानीका अवसरको खोजी गर्नुका साथै स्थानीय कला, संस्कृति, साहित्य, भाषा, व्यापार, व्यवसाय र सुनसान रहेका बजारलाई चलायमान बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘स्थानीय उत्पादनको प्रदर्शन गरी प्रचार–प्रसार तथा बिक्री–वितरण गर्ने, धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने, कृषि उत्पादन र प्रविधिको जानकारी गराउने, विश्वसमुदायमा विकास भएका नयाँ–नयाँ उत्पादन तथा टेक्नोलोजीको खोजमा जोड दिन महोत्सव आयोजना गरिएको हो ।’ महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाकीको प्रदर्शन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।