रजत वर्षको अविरल कठिन यात्रा

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १५:१५

‘त्रिशूली प्रवाह’ साप्ताहिक आजदेखि रजत वर्षमा प्रवेश गरेको छ । चौबीस वर्षअघि ०५७ वैशाख १ गते बिहीबार यस साप्ताहिकको प्रकाशन प्रारम्भ गर्दा हामी पत्रकारिताको कखरा पढ्दै गर्दै थियौँ । थुप्रै कठिनाइसँग जुध्दै अविरल रूपमा हरेस नखाईकन पाठक वर्गसँग एकाकार हुन सकेकाले नै हामी यहाँसम्म आइपुगेका हौँ ।

यस यात्रामा हामीले नेपाली समाज, यसले भोगेको सङ्कट र सुखदुःखका साक्षी बन्ने अवसर पाएका छौँ । हामीले सुरु गरेको यात्रा सजिलो थिएन । पत्रिका प्रकाशन सुुरु गर्दा देशमा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । मर्ने, मार्ने र मारिने क्रम बढ्दो थियो । प्रारम्भ कालमै मुलुकले नारायणहिटी राजदरबार हत्याकाण्ड देख्नुप¥यो भने सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाले आतङ्कवादीबाट ट्विन टावर हमला व्यहोर्नुप¥यो । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति चरम विषमावस्थामा हुँदा हाम्रो पत्रकारिता कर्म पनि सहज र सुरक्षित हुने कुरै भएन । देश भयङ्कर अन्योल, आशङ्का र अविश्वासबाट गुज्रिरहेको थियो । हामी निडर–निर्भीक बनेर खबरदारी गर्दै रह्यौँ । ०७२ को गोरखा भूकम्पसँगै नयाँ संविधान जारी, भारतीय नाकाबन्दी, संविधान जारीपछिको हिंसात्मक तथा शान्तिपूर्ण राजनीतिक विद्रोह, कोरोना महामारीजस्तो प्राकृतिक प्रकोपबाट देशले पीडा भोग्दा पनि हामी भागेनौँ । त्यस्ता अप्ठ्यारा परिस्थितिमा हामी स्थानीयताको निरन्तर पहरेदारी गरी बहुलता, बहुदलीय लोकतन्त्र, संविधानवाद तथा नागरिकको वाक् स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा किञ्चित डगमगाएनाँै । सीमान्तकृतको आवाज उठाउने सवालमा होस् कि सुशासनका पक्षमा, हामीले हाम्रो निडरतामा कुनै कमी हुन दिएनौँ । यस अवधिमा दसैँ–तिहारका केही हप्ता, भूकम्पमा चार अङ्क र कोभिड– १९ का समय पाँच अङ्कबाहेक गरी पत्रिकाका करिब ११६० अङ्क प्रकाशन गरेर हामीले जनताको सुसूचित हुने अधिकारको सम्मान गरिरह्यौँ । पत्रिका ‘सिल्भर जुब्ली’सम्म आइपुग्दा यो मोफसलको पत्रकारिताको पाठशाला बन्न सकेकामा पनि हामी गौरव महसुस गर्छाैँ ।

पछिल्ला वर्षमा सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा नौलोखाले चुनौती देखिएका छन् । कोरोना महामारीसँगै छापा माध्यम अत्यन्त मारमा प¥यो । त्यसयता अनलाइनमा समाचार दिने र पढ्ने चलन झन्झन् बढ्दो छ । मानिसहरू मोबाइल, ल्यापटप र डेस्कटप कम्प्युटरमा समाचार हेर्न, पढ्न, सुन्न थालेका छन् । युरोप, अमेरिकाका कतिपय प्रतिष्ठित छापा पत्रिका पनि यसबीचमा बन्द भएका छन् भने हाम्रै देशमा पनि त्यस्तै अवस्था छ । भएका कतिपय मिडियाले छापा माध्यम बन्द गर्ने वा सँगसँगै अनलाइन न्युज पोर्टल पनि खोल्न थालेका छन् । हेर्दाहेर्दै छापा पत्रकारिताको भविष्य अन्धकारमय बनिरहेको छ ।

देश अहिले अघोषित आर्थिक मन्दीबाट गुज्रिरहेको छ भने कुसूचना फैलाउने प्रवृत्ति मौलाइरहेको छ । त्यसलाई चिर्न र उत्कृष्ट पत्रकारिता अभ्यासका निम्ति आर्थिक मन्दी एवम् स्रोतका अभावका बाबजुद हामीले पाठकको प्रिय पत्रिकालाई निरन्तरता दिइरहेका छौँ । यस अवस्थालाई नै हामीले अवसर मानेका छौँ र हजारौँ पाठकप्रतिको कर्तव्यबाट भाग्न नहुने ठानिरहेका छौँ । मोफसलमा साधन, स्रोत र जनशक्तिका अभावमा पनि निरन्तर पत्रिका प्रकाशन गर्ने आँट गरिरहेका छौँ । यसरी कहिलेसम्म टिकिरहन सक्छौँ भन्ने कुरा आमपाठकवर्गमा नै भर पर्छ । पत्रिका र पत्रकारिताको दिगोपन स्थानीय तह तथा प्रदेश र केन्द्र सरकारले गर्ने सहयोग र नीति, नियममा पनि भर पर्नेछ । विज्ञापनदाताको विवेकले पनि हाम्रो अस्तित्व निर्धारण गर्नेछ ।

प्रविधिको विकास र समयको मागअनुरूप हामी यस वर्षदेखि अनलाइनमा पनि जाने तयारी गर्दै छौँ । यसै अवसरमा यसलाई नुवाकोट, रसुवा र धादिङसहित बागमती प्रदेश क्षेत्रको बौद्धिक दस्ताबेज र र मुखपत्र तथा सबैको सूचनाको भोक मेटाउने पत्रिका बनाउने प्रण पनि गर्छौँ ।
यस रजत वर्षको यात्रासम्म आइपुग्न तपाईं पाठक, विज्ञापनदाता, बिक्रेता, लेखक, शुभेच्छुकले दिनुभएको योगदान अमूल्य छ । यहाँहरूकै साथ र सहयोग पाएर हामीले कठिन परिस्थितिको पनि सहज सामना ग¥यौँ । आउने दिन पनि ‘त्रिशूली प्रवाह’ स्थानीयताको भरपर्दाे पहरेदार बन्दै मुलुककै सुशासन, समृद्धि र सामाजिक न्यायका लागि प्रतिबद्ध रहने नै छ । हामीमाथि रहेको यहाँहरूको विश्वास र भरोसालाई मर्न दिनेछैनौँ ।

शरण उत्सुक सापकोटा

प्रकाशक/सम्पादक