गोले थरका तामाङ भैरवकुण्ड र गोसाइँकुण्ड जाँदैनन्

गोसाइँकुण्ड पुगेका भैरवकुण्ड पुग्दैनन्

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १४:४९
  • सरस्वती न्यौपाने

धुन्चे. रसुवा जिल्लामा रहेका एक सय आठ कुण्डमध्ये भैरवकुण्ड पनि एक हो जुन सबैभन्दा ठूलो पनि हो । गोसाइँकुण्डको तल यसैको पानी बगेर आएर कुण्ड भैरवकुण्डमा पूजा र नजिकबाट दर्शन गर्न नहुने किंवदन्ती छ । देख्दैमा कालो डरलाग्दो भएका कारण कोही पनि मानिस यहाँ दर्शन गर्न नजाने र गोसाइँकुण्ड दर्शन गरेर फर्कँदा यस कुण्डलाई हेर्न नहुने भनाइ पनि छ । फर्केर हेरे दुःख, कष्ट दिने र अशुभ हुने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । यो भनाइ विगतदेखि नै चलिआएकोसमेत बताए । सत्ययुगमा देवता र दानव मिली गरेको समुद्र मन्थनबाट निस्केको कालकुट विष सेवनले छटपटाएर हिँडेका शिवको पसिना छुटी जमेर सो कुण्ड बनेको भनाइ छ । विषयुक्त पसिनाबाट निर्मित कुण्ड भएकाले भैरवकुण्डमा विषालु नाग रहेको भन्ने विश्वास छ । ब्रह्माको शिर छेदन गरेको पापले गुप्ताङ्ग रोगले कुरूप भएका शिवले गोसाइँकुण्डमुनि कुण्ड सिर्जना गरी विराजमान रहेको कथन पनि छ ।

किंवदन्तीअनुसार गोले थरका एक झाँक्री कुण्डका भैरव र नागसँग लडाइँ गर्ने उद्देश्यले सँगै रहेकी पत्नीलाई आफू कुण्डबाट ननिस्किएसम्म ढ्याङ्ग्रो बजाइरहनू र बाहिर आएपछि अक्षताले हिर्काउनू भनेर कुण्डमा पसे । एकैछिन पछि नागसँग लडाइँ लडेर बाहिर निस्कँदा श्रीमती डरले चिच्याएर भागेको हुनाले नागले नै लडाइँ जितेर आएका उनलाई नागले मारेको भन्ने जनविश्वास छ । सोही कारण गोले थर भएकाहरू भैरवकुण्ड, गोसाइँकुण्ड जाँदैनन् ।

बोन्पो किंवदन्ती
तामाङ बोन्पोहरूले गोसाइँकुण्डलाई विभिन्न नाम दिएका छन् । छो कर – सेतो कुण्ड, ह्याप क्षेग्याल – पिता, ह्युमफमा डोल्मा– माता र ल्हाक्षेम्पो मादेउ– ठूला भगवान्का रूपमा मान्ने चलन छ । बोन्पो झाँक्रीहरू धेरै कुण्ड पुग्ने गर्छन् । तीमध्ये गोसाइँकुण्डलाई सबैभन्दा ठूलो देवताका रूपमा लिइन्छ । यसलाई सयौँ बोन्पोहरू भेला हुने पवित्र धाम मानिन्छ । उहिले भैरवकुण्ड (छोना)का नामले गोले बोन्पोलाई तानेर कुण्डभित्र लगेको जनश्रुतिनुसार तामाङ समुदायकै गोले वंशका बोन्पो झाँक्रीहरू भने गोसाइँकुण्ड जाँदैनन् । गोसाइँकुण्डमा हिन्दु तथा बौद्धमार्गीबाट दैनिकी पूजाप्रार्थनाका अतिरिक्त वर्षका दुईपटक मेला लाग्ने गर्छ ।

गंगादशहरा
वेगवान गंगालाई पृथ्वीमा ल्याउने क्रममा महादेवले जटामा राखेर थामिदिएको पुराणमा वर्णित छ । गंगा पृथ्वीमा अवतरण भएको दिन ज्येष्ठ शुक्ल प्रतिपदाबाट सुरु भई दशमीसम्म लगातार १० दश दिन मनाइने गंगादशहरामा मेला लाग्छ । पौराणिक मान्यतानुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ । यस दिन कुनै पवित्र नदी वा तलाउको पूजाअर्चनाका साथ देवाधिदेव महादेवलाई जलाभिषेक गरिन्छ । दस प्रकारका पापको नास हुने यस दिन दान तथा उपवासको विशेष महत्व छ ।

जनैपूर्णिमा
साउन शुक्ल पूर्णिमाका दिन सबै देवीदेवताको गोसाइँकुण्डमा जमघट हुने र शिव पनि सोही दिन कैलाशबाट गोसाइँकुण्डमा आएर विराजमान हुने विश्वासले सो दिन कुण्डमा पूजा तथा स्नान गर्दा सबै देवताको दर्शनबाट मोक्ष प्राप्त हुने र धर्म मिल्ने जनविश्वास छ । स्थानीय किरण खनालले बताएअनुसार जनैपूर्णिमाका दिन तागाधारी सक्नेहरू गोसाइँकुण्डमा र नसक्नेहरू आफू नजिक रहेको ताल, तलाउ, नदी वा कुण्डमा गई वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको जनै तथा रक्षाबन्धन धारण गर्ने गर्छन् ।

बौद्धमार्गीहरू गोसाइँकुण्डलाई बोधिसत्व अवलोकितेश्वरका रूपमा पुज्ने गर्छन् । उनीहरूका अनुसार अवलोकितेश्वर आफ्नो करुणाका कारण कुनै पनि रूप धारण गरेर दुःखी प्राणीको सहायता गर्छन् । महायान बौद्धधर्म सम्प्रदायको सबैभन्दा लोकप्रिय बोधिसत्व अवलोकितेश्वरमा अपार करुणा हुने धार्मिक कथनमा बताइएको छ । बोम्पो धर्म मान्ने तामाङ जातका लामा, झाँक्रीहरूको सिद्धि प्राप्तिको थलो बनेको छ गोसाइँकुण्ड । झाँक्री विद्या सिकेपछि कुण्डमा गएर पूजा गर्नुपर्छ । बोन्पो झाँक्रीको मृत्युपछि उनको आत्मा (बेन्से) लाई गोसाइँकुण्डमा पूजा गरेर कुण्डदेखि पश्चिममा रहेको डुप्खङ गुफामा तोर्मो बनाएर बिदाइ गर्ने परम्परा छ । तामाङ तथा लामाहरूले मृतकका नाममा बत्ती बाल्ने, जीवनका विभिन्न कर्मकाण्डको शुद्धीकरणका लागि गोसाइँकुण्डमा पूजा, प्रार्थनाका लागि जाने गरेका छन् । गोसाइँकुण्डमा स्नान गरेपछि दुःख, रोग र ग्रहदशा काट्न सकिन्छ तथा मनले चिताएको पूरा हुन्छ भन्ने ठूलो विश्वास छ । जीवनभरिमा सके तीनपटक, नसके एपटक भए पनि गोसाइँकुण्डमा गएर पूजा गर्दा आफ्नो लक्ष्य र उद्देश्य पूरा हुने तामाङ समुदायमा धार्मिक विश्वास छ । गोसाइँकुण्डमा हरेक वर्ष मनाइने दुई मेलाका अतिरिक्त कात्तिक पूर्णिमा र फागुपूर्णिमामा पनि मेला लाग्ने गर्छ । सो मेलामा खासगरी स्थानीयवासी र पर्यटकीय दृष्टिकोणले जाने धर्मावलम्बी तथा प्रकृतिप्रेमीले भाग लिने गरेका छन् । स्थानीयवासीका भनाइमा नीलकण्ठ महादेव गोसाइँकुण्डबाट रसुवागढी, केरुङको गेफु गुफा हुँदै मानसरोवर र कैलाश गएका हुन् ।

हलाहल विष कण्ठमा राखेर भारतको बिहार राज्य, बाँका जिल्ला, भागलपुरमा अवस्थित मदार पर्वतदेखि गंगा नदी, नेपालको सप्तकोशी, बराह क्षेत्रबाट सुनकोशी कुशेश्वर दुम्जाबाट रोशी नदीको लङ्केश्वर, फड्केश्वर, पनौतीको त्रिवेणीबाट पद्मावती (पुण्यमाता) नदीको मुहान रत्नडेश्वर पर्वतको महादेव पोखरी, गोकर्ण, शिवपुरीको जङ्गल बागद्वार हुँदै बेत्रावती, गोसाइँकुण्डदेखि रसुवागढी, चीनको केरुङ भएर मानसरोवर कैलाश फिर्ती शिव सवार हुने विश्वास छ । यस मार्गको एउटा वृत्तचित्र बनाई प्रचारप्रसार गर्न सके मुलुक विश्वकै ठूलो धार्मिक÷सामाजिक पर्यटकीय क्षेत्र बन्ने थियो । केही वर्ष पहिले गोले थर भएका सचिव गोसाइँकुण्ड पुगेर फर्केर आएका थिए । बौद्धमार्गीका अनुसार यो शिवका दाजु छोनाले निर्माण गरेका हुन् ।

भैरवकुण्डको महत्व
– धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्व तथा जैविक विविधताले भरिपूर्ण
– विश्वसम्पदा सूची (रामसार) मा सूचीकृत
– अमरसिंह थापाको गुफा
– लोपोन्मुख रातो हाब्रे वासस्थल
– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन) लालीगुराँस, धुपी, गोब्रे सल्लो प्रशस्त
– नेपालको तेस्रो पर्यटकीय मार्ग
– माने, छुर्तेन, गुम्बा र मन्दिर अवलोकन
– सुविधासम्पन्न आवास तथा होटेल, लजको सुविधा

भैरवकुण्ड कसरी पुग्ने
– रसुवाको कालिकास्थानबाट लोकिल जुरेढुङ्गा–स्यार्मा हुँदै बाबिजुलीजोङ सिम्बन्दी । स्यार्माबाट नौकुण्ड हुँदै
– सदरमुकाम धुन्चेबाट मिनी गोसाइँकुण्ड (घट्टेखोला) देउराली, ढिस्सा, चन्दनबारी हुँदै
– नुवाकोटको विदुरबाट चोगदे, लच्याङ, सरमथली, यार्साबाट राहुचुली, नौकुण्ड हुँदै
– काठमाडौंको सुन्दरी जलबाट चिसापानी, पाटीभञ्ज्याङ, वातालामराङ, घोप्टे, फेदी, सूर्यकुण्डबाट पुगिन्छ ।