स्वास्थ्य बिमामा नागरिक सहभागिता बढ्दै

नुवाकोटका २७ प्रतिशत जनसङ्ख्या आबद्ध

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १५:५४

स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणअनुसार सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम हो । स्वास्थ्य बिमा बोर्डले यो कार्यक्रम २०७२ देखि आंशिक रूपमा र अहिले देशभरि लागू गरिएको छ । नुवाकोटमा यो कार्यक्रम २०७७ भदौ १ गतेदेखि सुरु भएको हो ।

जिल्लाको १२ पालिकाको ८८ वटै वडामा लागू भए पनि स्वास्थ्य बिमा कार्यक्रमको जनस्तरसम्म यसको उपयोगबारे जानकारी पुग्न सकेको छैन । नुवाकोटको विदुरमा स्वास्थ्य बिमा बोर्ड कार्यक्रमको सम्पर्क कार्यालय रहेको छ । जिल्ला संयोजकसहित सीमित जनशक्ति रहेको जिल्ला कार्यालयले ८८ वडामा दर्ता सहयोगी नियुक्ति गरेर कार्यक्रम विस्तार गरे पनि कुल जनसङ्ख्याका २७ प्रतिशत मात्र आबद्ध हुन भनेको यसको उपयोगिताबारे सबै नागरिकलाई जानकारी नभएको संविधानसभा सदस्य राज्यलक्ष्मी पाँडे श्रेष्ठले बताइन् । वर्षैपिच्छे नवीकरण गरिरहनुपर्ने, बिमितले सेवा लिन झन्झटिलो र सेवा प्रदायक सङ्ख्या कमी भएकाले सङ्ख्या वृद्धि सन्तोषजनक हुन नसकेकोसमेत उनले बताइन् । वर्तमान संविधानको धारा ५१ (ज)मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बिमाद्वारा पूर्वभुक्तानीको माध्यमद्वारा बिमितको आर्थिक सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा ऐन, २०७४ जारी भइसकेको छ भने यस कार्यलाई व्यवस्थित गर्न स्वास्थ्य बिमा नियमावली, २०७५ समेत पारित भई कार्यान्वयन रहेको छ ।

न्यून आर्थिक अवस्था र पहुँच नभएका नागरिकको असाध्य वा आकस्मिक रोग लाग्दा अकालमा मर्न नपरोस् भनेर ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीले बताए । विभिन्न स्वार्थी समूहबाट स्वास्थ्य बिमा कार्यक्रमलाई असफल बनाउन स्वार्थपूर्ण राजनीतिक हस्तक्षेप, आर्थिक अव्यवस्थापन, ढिलासुस्ती, रकमको समयमा शोधभर्नाको अभाव, बिमाको दुरुपयोगस्तरीय उपचार सेवाको सहज उपलब्धताको अभावलगायतका चुनौती रहेकोसमेत उनले बताए । ३५ सयमा एक वर्षको लागि एउटा परिवारको पाँचजनाले बिमा गर्न पाउने व्यवस्था कार्यक्रममा रहेको छ । परिवार सङ्ख्या थप भए प्रतिव्यक्ति सात सय थप गर्नुपर्नेछ । बिमितले एक वर्षमा एक लाखसम्मको औषधोपचार सेवा लिन सक्छन् । बर्सेनि नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ ।

नुवाकोटमा यो कार्यक्रम लागू भएको पहिलो वर्ष ०७७ मा १२ हजार ६ सय ५४ जनाको बिमा भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयले जानकारी दिएको छ । सम्पर्क कार्यालयका जिल्ला संयोजक विनोद डाँगीले बताएअनुसार कार्यक्रममा आबद्धता हुनेको सङ्ख्या वृद्धि भइरहेको छ । यस कार्यक्रममा २०७८ सालमा २१ हजार चार सय १५, ०७९ मा ३० हजार ७६, ०८० मा ५२ हजार दुई सय ३७ र ०८१ को वैशाख २५ गतेसम्म पाँच सय नयाँ बिमा गर्ने र नवीकरण गर्नेको तथ्याङ्क रहेको कार्यालयले बताएको छ । स्वास्थ्य बिमा गराउने सहजकर्ता अहिले जिल्लाको ८८ वटै वडामा नहुँदा पनि बिमितलाई समस्या परेको छ । नुवाकोटको १२ पालिकामध्ये सबैभन्दा बढी विदुर र बेलकोटगढी नगरपालिकामा बिमा गर्ने बिमित रहेका छन् । १० वटा पालिकामध्ये सबैभन्दा बढी ककनी गाउँपालिकामा बिमित सङ्ख्या बढी रहेको तथ्याङ्कमा देखिन्छ ।

ककनीको वडा नम्बर २ र ३ का सबै नागरिकको काठमाडौं महानगरपालिकाले बिमा गरिदिएकोले सङ्ख्या बढी देखिएको सहजकर्ताले बताएका छन् । काठमाडौंको फोहोर, मैला, डम्पिङ गर्ने उक्त दुई वडाका अधिकांश नागरिकको बिमाको भुक्तानी काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । ककनीको वडा नम्बर २ मा ४६ सय ४८, वडा नम्बर ३ मा ४५ सय ४२, विदुर नगरपालिका वडा नम्बर ९ मा ३८ सय ३२, वडा नम्बर ३ मा २७ सय ३३ र वडा नम्बर १२ मा १८ सय ३५ नयाँ र नवीकरण गर्ने बिमितको सङ्ख्या रहेको छ ।

बोर्डको नुवाकोट कार्यालयले दिएको विवरणअनुसार नगदी प्रिमियम तिर्ने बिमितको सङ्ख्या ५१ हजार तीन सय ६६, महिला स्वास्थ्य स्वयंसेवी तीन हजार ९९, ज्येष्ठ नागरिक १२ हजार सात सय ४२, एचआइभी/एड्सका तीन सय तीन, कुष्ठरोगी १०, अशक्त रातो कार्ड लिने २२ सय ३४, टिबी रोगका ३८ जनासहित ६९ हजार सात सय ९२ बिमित रहेका छन् । गत २०७८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ६२ हजार नौ सय ८१ रहेको छ । कुल जनसङ्ख्यामध्ये ६९ हजार आठ सयले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा गर्ने कुल जनसङ्ख्याको २७ प्रतिशत रहेको छ ।