संरक्षणको पर्खाइमा बेत्रावतीको कृष्ण मन्दिर

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:१४
  •  शशिकुमार डङ्गोल

उत्तरगया, बेत्रावतीबजारको नुवाकोटतर्फको भूभागमा भगवान् कृष्णको एउटा सानो मन्दिर छ । स्थानीय समाजसेवी स्व. चन्द्रलाल श्रेष्ठ ‘भरत साहु’ले आफ्नो निजी जग्गामा आफ्नै लगानीमा वि.सं. ०४३ भदौ ११ गते निर्माण गरेका थिए ।

       कृष्ण मन्दिरसँगै भजनकीर्तनका लागि पाटी पनि थियोे । यो अहिले छैन, ०७२ को भूकम्पले पाटीमा क्षति पुगेपछि यो भत्काइयो, मन्दिरको गजुरमा पनि भूकम्पको क्षति पुगेको थियो । स्थानीय संस्कृतिकर्मी तुलसी डङ्गोलले स्मरण गर्दै भने, ‘भरत साहुको पालामा बेलुकीको खानपिनपछि दिनहुँ भजनकीर्तनको बेग्लै रमाइलो हुन्थ्यो ।’ याद रहेसम्म कृष्णबहादुर, सूर्यबहादुर, चन्द्रबहादुर, तुलसीनारायण, भरत साहुका भजनमा साथ दिने र रमाउने गायक, वादक सहपाठी थिए । यो पङ्क्तिकार पनि भजनकीर्तनपछि प्रसादको रूपमा नरिवल, मिश्री र चकलेट खान पाइने आसमा ताली बजाई अनिँदो बस्थ्यो, जबसम्म आरती सकिँदैनथ्यो । पछिल्लो पुस्तामा सोमलाल, पूर्णबहादुर, सन्तलाल, मुरली, ईश्वर थापा पछिल्लो पुस्ताका भजनमा रुचाउने व्यक्ति थिए । अहिलेको समय यिनीहरूले नै जेनतेन जात्रामात्रामा भजनकीर्तन धानिरहेका छन् । अबको नयाँ पुस्तामा भने भजनकीर्तन गरेर रमाउनेको सङ्ख्यामा खडेरी देखापरेको छ ।

      भरत साहु यहाँका पुराना रैथाने कपडा व्यापारी हुन् । वि.संं. १९७४ ताका नेपाल-भोट व्यापारको सिलसिलामा आवत-जावत गर्दा बेत्रावतीमा व्यापारीको जमघट तथा वास बस्ने स्थल थियोे । यही क्रममा न्हाकनटोल, काठमाडौंबाट सिद्धिलाल श्रेष्ठको परिवार बेत्रावती आई कपडा व्यवसाय गरी बसेको इतिहासबाट बुझिन्छ । उनीहरूका सन्तान अझैसम्म पनि यही पेसामा आबद्ध छन् बेत्रावतीमा । उनै सिद्धिलालका सन्तान भरत साहुका कान्छा छोरा हुन् ईश्वरलाल श्रेष्ठ, अहिलेका सफल व्यापारी छन् । उनैले अहिलेसम्म यो मन्दिर संरक्षण गर्दै आइरहेका छन् । पासाङल्हामु मूल सडकसँगै जोडिएको सानो आकारमा रहेकोे मन्दिरभित्र कृष्ण र राधाको पत्थरजडित मूर्ति रहेको छ । यहाँ दैनिक पूजापाठ यस टोलका भक्तजनबाट हुने गरेको छ । श्रीकृष्ण जन्माष्टमीका दिन विशेष पूजाआजा हुने गर्दछ । उक्त दिन बेत्रावती आसपासका आँगीटार, भैँसे, तुप्चे, सिहाले, केराघारी, कैदलीटार, बोगटीटार, लहरेपौवालगायतका गाउँबाट समेत ठूलो सङ्ख्यामा हिन्दू धर्मावलम्बीले पूजा-आराधना गर्दछन् ।

       नेवारी परम्पराको लाखेनाचलाई कृष्ण जन्माष्टमीको भोलिपल्ट राति भजनकीर्तनसहितको टोलीले कृष्णको मूर्तिलाई रथमा राखी बेत्रावतीबजार बौधबिहारदेखि राममन्दिर परिक्रमा गराई यसै कृष्ण मन्दिरमा त्यस वर्षको कृष्ण रथयात्रा तथा लाखेनाच विसर्जन गर्ने चलन रहिआएको छ । यो परम्परा भरतसाहु बाँचुञ्जेल धुमधामका साथ मनाइन्थ्यो । उनको देहावसानपछि यो परम्पराले निरन्तरता पाउन निकै कठिन भइरहेको अवस्था छ । अब त झन् गल्छी-बेत्रावती-मैलुङ-रसुवागढी अन्तर्राष्ट्रिय सडकभित्र परेपछि यो मन्दिर भत्किने क्रममा छ । अब कतै सार्वजनिक स्थलको पहिचान गरी कृष्ण मन्दिरको पुनर्निर्माण गर्न जरुरी रहेको स्थानीय बताउँछन् । बेत्रावतीवासीले कृष्ण मन्दिरलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने तयारी गर्दै छन् ।