नागपञ्चमीको महत्व

  • त्रिशूली प्रवाह
  • ३२ श्रावण २०८०, बिहीबार १३:१२
  • आचार्य वासुदेव उपाध्याय नेपाल

यस वर्षको नागपञ्चमी ०८० साल भदौ ४ गते सोमबार परेको छ । श्रावण शुक्लपक्षको पञ्चमी नागपञ्चमी तिथि अर्थात् घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा–अर्चना गरेर नाग–देवतालाई प्रसन्न पार्ने दिन हो । बिहान सबेरै खोला, नदी, धारा, कुवामा स्नान गरेर चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि गाईको गोबरले नागको चित्र टाँसेर गाईको दूध र दुबो चढाई पूजा–अर्चना गर्ने गरिन्छ । पुराणमा पातालमा निवास गर्ने नाग देवताले पृथ्वीलाई धारण गरेको प्रसङ्ग एवम् भगवान् शिवजीको गहना तथा भगवान् नारायणको शय्याका रूपमा नाग देवताको विशिष्ट भूमिका दर्शाइएको छ । रोपाइँका लागि पानी पार्न नागले सहयोग गरेको र अब रोपाइँ सकिएकाले नागप्रति कृतज्ञता ज्ञापन गर्न पूजा–अर्चना गर्ने चलन रहेको जनविश्वास रहिरहेको छ । नागपञ्चमीमा मूलढोकाको दुवैतिर विषालु सर्पको चित्र वा मूर्ति निर्माण गरी दही, दुबो, अक्षता, कुश, गन्ध, पुष्प, नैवेद्य आदि अर्पण गरी पूजाअर्चना गर्नुपर्दछ । घरमा नागपूजन गर्नाले चट्याङ (बिजुली) बज्र, अग्नि, सर्प आदिको भय हुँदैन भनिन्छ । भूमिमा नाग देवताको निवास हुन्छ । यसर्थ जुनसुकै कामका लागि भूमि खन्नुपूर्व वा गृह निर्माण गर्नुपूर्व भूमि धारण गर्ने नाग देवतालाई प्रसन्न पार्न विशेष पूजा गर्नुपर्दछ । यो दिन व्रतालुले पाँचवटा टाउका भएका वा अष्टकुली नागको आकृति बनाई अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलिर, कर्कट र शंखपाल नाम भएका अष्टनागलाई विशेष पूजा गर्नुपर्छ ।

नागपूजन मन्त्र – आस्तिकस्य मुनेमातर्जगदानन्दकारिणी ।
एह्येही मनसादेवी नागमातर्नमो स्तुते ।।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका : ।।

पूजा गरेपछि नाग स्तोत्रको पाठ गर्नुपर्छ :

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा :।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रितो मम सर्वदा ।१।
इन्द्रलोकेषु ये सर्पाः वासुकी प्रमुखादय :।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।२।
कद्रबेयाश्च ये सर्पाः मातृभक्ति परामा ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।३।
इन्द्रलोकेषु ये सर्पाः तक्षका प्रमुखादय : ।४।
नमोस्तुतेभ्यः सर्पाः सुप्रिताः मम सर्वदा ।५।
सत्यलोकेषु ये सर्पाः वासुकिन च रक्षता ।
नमोस्तुतेभ्यः सर्पाः सुप्रिताः मम सर्वदा ।६।
मलये चैव ये सर्पाः कर्कोतक प्रमुखादय : ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।७।
प्रार्थव्याचैव सर्पेभ्यः ये साकेत वासित ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीताः मम सर्वदा ।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ती च ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।१०।
समुन्द्रतिरे ये सर्पाये सर्पाजलवासिनः ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।११।
रसातंलेषु ये सर्पाः अनन्तादि महाबला : ।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रिताः मम सर्वदा ।१२

नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको नौहजार पटक जाप गर्ने गर्नुपर्छ भन्ने उल्लेख पाइन्छ । नागगायत्री मन्त्र (ॐ नव कुलाय विद्ममहे विषदंताय धिमही तन्नो सर्पः प्रचोदयात) को समेत एक माला (एक सय आठपटक) जप गर्ने गरिन्छ । यो नागमन्त्रको तीन माला जप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ । नाग देवतालाई श्रीखण्डको सुगन्ध विशेष रूपले मनपर्ने भएकाले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्ने सेतो रंगको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कार्य पूर्ण रूपमा गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ । वर्षा ऋतुको प्रारम्भमा (पहिलो शुक्ल पञ्चमीमा) नागपूजा हाम्रा धेरैजसो चाडपर्व चन्द्रमाले निर्धारित हुने चान्द्र ऋतु, महिना र तिथिले निर्धारित हुन्छन् र अधिकमासले गर्दा ऋतुअनुसार नै परिरहन्छन् । एसरी ऋतुबाट विचलित नहुने मूल वैदिक गणनाले वर्षा ऋतुको पहिलो शुक्ल पञ्चमी नभः शुक्ल पञ्चमी (ऋतुबद्ध श्रावणशुक्ल पञ्चमी) वा नागपञ्चमी भएकाले वर्षाको प्रारम्भमा नागादिको भयबाट मुक्त रहन गर्नुपर्ने यो कर्म दीप, कलश र गणेशको पूजनपश्चात् विधिपूर्वक अनन्तादी अष्ट–नागको पुजा गरी माकुरा बिच्छी, खजुरो आदिसहित नागका चित्र घरमा टाँस्ने र टाँसेपछि आठैै नागलाई घृतधारा दिई प्रातः कालमा सम्पन्न गरिन्छ । श्रावण शुक्ल पञ्चमीलाई नागपञ्चमी भनिन्छ । मुख्यतया नाग आठ प्रकारका हुन्छन् ।

अनन्तो वासुकी : पद्मो महापद्मस्च तक्षकः । कुलिर : कर्कट : शङ्खस्चष्टौ नागा : प्रकिर्तिता ।
१) अनन्त २) वासुकी ३) पद्म ४) महापद्म ५) तक्षक ६) कुलिर ७) कर्कट ८) शङ्ख गरेर आठ प्रकारका हुन्छन् । पञ्चमी तिथिका देवता नाग भएका हुँदा यस दिन नाग देवताको पूजा गर्ने परम्परा चलेको हो । शास्त्रीय वचन यसप्रकार रहेको छ । पञ्चम्यां पूजयेन्नागाननन्ताद्यान् महोरगगान् । क्षीरं सर्पिस्तु नैबेद्यं देयं सर्ब सुखावहम् । श्रावण शुक्ल पञ्चमीको दिन नागपूजा गर्नाले नागलाई दूध, घ्यू, कपास र नैवेद्य चढाउनाले नाग देवता खुसी भएर सबै प्रकारका सुख हामीलाई प्रदान गर्नुहुन्छ । यस दिन गोबरका नाग बनाएर वा नागका चित्र कोरेर ढोकाको दायाँबायाँ अथवा माथि टाँस्ने शास्त्रीय विधान छ । यस दिन ब्राह्मण गुरु–पुरोहितलाई भोजन गराउने, दक्षिणा दिने र सिदा दिने चलन छ । महाभारतका अनुसार अरू नाग ऐरावत, कालीय, धनञ्जय, मणिनाग, पिञ्जरक, आपुरण, एलापत्र, वामन, नील, अनिल, कम्बल, अश्र्वतर, धृतराष्ट्र, कुण्डोदर, महोदर र शङ्खपाल आदि नाम गरेका थुप्रै नाग छन् । यस दिन जन्मकुण्डलीमा सर्प दोष हुनेले हवन, नागदेवताको पूजा, जप आदि गर्नाले नागदेवता प्रसन्न हुन्छन् ।

भविष्यपुराणको वचनमा यस प्रकारको उल्लेख गरिएको छ –
‘श्रावणे मासी पञ्चम्यां शुक्लपक्षे नराधिप ।
द्वारस्योभयतो लेख्या गोमयेन विषोल्वणाः ।।
पूजयेद् विधिवद् विर दधिदूर्वाङ्कुरैः कुशैः ।
गन्धपुष्पोपहारैश्च ब्रह्मणानाञ्च तर्पणैः ।।
ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरःसराः ।
न तेषां सर्पतो विर भयं भवति कुत्रचित् ।।’

श्रावणशुक्ल पञ्चमीमा गोबरका नाग बनाएर वा नागका चित्र लेखेर ढोकाका दुवैतिर टाँस्ने शास्त्रीय विधान छ । नाग भगवान् महादेवका भूषण स्वरूप हुन् भन्ने विषयमा कालिका पुराणमा यसप्रकार वर्णित छ –
वासुक्याद्याश्च ये सर्पा यथास्थानञ्च ते हरम् ।
भूषयाञ्चक्रुरुद्गम्य शिरोबाह्वादिषु द्रुतम् ।।’

कुनै समयमा ब्रह्माबाट कुनै निमित्तबाट मृत्यु हुने सङ्केत पाएर वासुकी आदि नाग मृत्युबाट बच्नका लागि मृत्युञ्यस्वरूप शिव र पार्वतीका विवाहमा शिवजीका हातमा, शिरमा र घाँटीमा गहनास्वरूप भएर शिवका शरणमा परे । आफ्ना शरणागत नागलाई शिवजीले सधैँ गहनाका रूपमा धारण गरेर उनीहरूको रक्षा गरेको हुँदा नागको पूजा–आराधना गर्दा शिवजी प्रसन्न हुुन्छन् । मुख्यतया नाग आठ प्रकारका मानिए पनि यिनीहरूका अतिरिक्त ऐरावत, धनञ्जय, कालीय, मणिनाग आपूरण, पिञ्जरक, एलापत्र, वामन, नील, अनिल, कम्बल, अश्वतर, धृतराष्ट्र, कुण्डोदर, महोदर आदि थुप्रै नागका नाम भएको कुरा महाभारतमा उल्लेख छ । (महा.आदि. ३५ अध्याय)
यस दिन घरको मूलढोकाका दुवैतिर गोबरले नाग टाँसेर त्यसमा कपास, सुपारी, दुबो, कुश, चन्दन, अक्षता, लावा, अबिर, आदिले पूजा गरी दूध, दही र घिउ आदिका साथै विभिन्न नैवेद्य चढाउनुपर्छ । कतैकतै घिउको धारा लगाउने पनि चलन छ । साथै ब्राह्मणलाई सिदा, दक्षिणा र भोजन गराएर तृप्त गराउनुपर्दछ । यसबाट सर्पको भय नहुने, घरमा चट्याङ् नपर्ने र घरको सुरक्षा हुने विश्वास पनि गरिन्छ ।

नागको पूजा गर्ने मन्त्र यसप्रकार छन् –
‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारकाः ।।
मुनेः कल्याणमित्रस्य जैमिनेश्चापी किर्तनात् ।
विद्युदग्नीभयं नास्ती लिखित्वा गृहमण्डले ।।
सर्पापसर्प भद्रं ते गच्छ सर्प (दूरङ्गच्छ) महाविष ।
जनमेजयस्य यज्ञान्ते आस्तीकवचनं स्मर ।।
असितं चार्तिमन्तं च सुनीथं चापी यः स्मरेत् ।
दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं भवेत् ।।
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवती बज्रस्य तत्र शूलस्यका कथा ।।’

नागको पूजा विधिपूर्वक गरिसकेपछि मनसादेवीको पनि पूजा गरेर प्रार्थना गर्नुपर्दछ, मन्त्र यसप्रकार रहेको छ :
आस्तीकस्य मुनेः मातर्जगदानन्दकारिणी ।
एह्येहि मनसे देवी नागेश्वरी नमो४स्तु ते ।।’

नागको स्थानमा वा पानीको मूल भएका स्थानमा पिठाको अथवा कपासको नागको आकार बनाएर नागपूजा गर्ने प्रचलन पनि छ । यसबाट पानीको स्रोत सुक्दैन भन्ने मान्यता रहिरहेको छ । लोकमा यस दिन गुरु पुरोहितले आफ्ना यजमानका घर–घरमा नागको चित्र बनाएर वा छापिएका रङ्गीबिरङ्गी पोस्टर लगेर टाँसिदिने प्रचलन छ । नाग देवताले सबैको रक्षा गरून् ॐ स्वस्ती शान्ति नागराजाय नमः ।

विनपा–५ द्वारपाल, देवीघाट, नुवाकोट nepalbasudev98@gmail.com