स्यानिटरी प्याड तथा मास्क उद्योग सञ्चालनमा

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार १३:०८

धुन्चे, रसुवामा पछिल्लो समय उद्योग, व्यवसाय विस्तार हुने क्रम बढेको छ । जिल्लाको उत्तरगया गाउँपालिका– ५ बेत्रावतीमा स्यानिटरी प्याड तथा मास्क उद्योग गत चैतबाट सञ्चालनमा आएको छ ।

गत ०७९ चैतबाट चमेली सुनुवार (शिला)ले आफ्नै लगानीमा स्थानीय ठाउँमा केही गरौँ भन्ने उद्देश्यले २० लाखको लगानीमा एसएस टेलर्स एन्ड स्यानिटरी प्याड तथा मास्क उद्योग सञ्चालन गरेकी हुन् । उनले आफ्नै सिलाइ उद्योगमा रहेको मेसिनद्वारा स्यानिटरी प्याड बनाउने गरेकी छिन् । थोरै काम भएको बेला आफैँ गर्ने र अत्यधिक माग आएको बेला पाँचदेखि ६ जना कामदार राखेर उत्पादन गरिरहेको उनले बताइन् । मास्क र प्याड अरू जिल्लाबाट आउनुभन्दा आफ्नै जिल्लामा यस्तो काम गरे पैसा पनि यहीँ रहने र काम पनि हुने भनेर परिवार मिलेर सुरु गरेको उनको भनाइ छ । समाजसेवामा लागिपरेकी चमेली सुनुवार समाजसेवालगायत राजनीतिमा पनि सक्रिय छिन् । महिला भएकै कारण घरको चुलोचौकोमा मात्रै सीमित नभई आय–आर्जनका लागि केही गर्नुपर्छ भनेर दिदीबहिनी, आमालाई काम लाग्ने प्याड र रोगबाट बच्न आवश्यक मास्क आफ्नो गाउँठाउँमा किन नगर्ने त भन्ने सोचले परिवारसँग मिलेर निजी लगानीमा उद्योग सञ्चालनमा ल्याएको उनले बताइन् ।