काठमाडौं-त्रिशूली वैकल्पिक सडक ४७ किलोमिटर !

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १३:१२
  • नरेन्द्रराज पाठक

हामी नेपालीले कालान्तरदेखि पश्चिमतर्फबाट राजधानी काठमाडौं प्रवेश गर्दै आएको पैदलमार्गमध्येको एउटा प्रमुख त्रिशूली-काठमाडौं पैदलमार्ग हो । पृथ्वी राजमार्ग (काठमाडौं-पोखरा) नबनुन्जेल पाल्पा-स्याङ्जा-पोखरा-गोर्खा-लमजुङ जिल्लालगायत त्यस आसपासका जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यो मार्ग रहेको थियो ।

वि.सं. १८२६ चैत १० गते काठमाडौं राजधानी घोषणापश्चात् सालिन्दा वसन्त ऋतुको वैशाख कृष्णपक्षको अष्टमीका दिन विधिविधान साथ नागपानी नुवाकोटसम्म हनुमानढोका दरबार कर्णेचोक भगवतीको रथयात्रा गराउने र बेत्रावती, गोसाइँकुण्डजस्ता तीर्थस्थल आवत-जावत गर्ने मार्ग भएकाले अग्रजले यस मार्गलाई उत्तरापन्थ एवम् धार्मिकमार्गसमेत भन्ने गर्दथे । गोरखा सदरमुकामदेखि सल्यानटार-सामरी-त्रिशूूली-चतुराले-रानीपौवा-तिनपिप्ले-मुड्खु भञ्ज्याङ-काठमाडौंसम्मको यस पैदलमार्गलाई नेपाल एकीकरण प्रथम पदमार्ग ठम्याई हाम्रा नेपाली सैनिकद्वारा प्रत्येक वर्षको पुस २७ गते पृथ्वीजयन्तीअगावै गोरखादेखि काठमाडौंसम्म उक्त मार्गमा सैनिक पदयात्रा गरी आएकाले यो मार्ग धार्मिक र ऐतिहासिक रूपमा अब्बल पदमार्ग रहेको प्रमाणित हुन्छ ।

विकासका पूर्वाधार अघि सर्दै आउँदा त्रिभुवन राजपथ (बाइरोड) पछिको मोटरद्वारा यात्रु आगमन गर्ने काठमाडौं-त्रिशूली ६५ किलोमिटर मोटरमार्ग एउटै थियो । समयको माग र आवश्यकताअनुसार काठमाडौं-गल्छी-त्रिशूली ६६ किलोमिटर मोटरमार्ग सँगसँगै काठमाडौं-गुर्जेभञ्ज्याङ-त्रिशूूली ५३ किलोमिटर मोटरमार्ग सञ्चालनमा भर्खर-भर्खर आएको हो । जनचाहना र विकासले गति लिँदै गर्दा ०५१ मा स्थानीय गाविस साथ नागरिक सक्रिय भएर रानीपौवा-चतुराले-ढाँडेफेदी मोटरबाटो निर्माण सञ्चालन गरिराख्दा तत्कालीन जिल्ला विकास समिति र ग्रामीण विकास परियोजना नुवाकोटको समेत थप सहयोग प्राप्त भएर कच्ची मोटरबाटो निर्माण भएको लामो समयको प्रयासपछि स्थानीय सामाजिक अभियन्ताद्वारा दिएको निवेदन ०७८ कात्तिक ५ गते शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्रीले सौहार्द साथ ग्रहण गरे ।
भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको च.नं.५७४ २०७८ कात्तिक १० गतेको पत्रद्वारा रानीपौवा-चतुरालेबजार-ढाँडेफेदी-नारायणस्थान-विदुर मोटरबाटोका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको च.नं.२६८ २०७८ कात्तिक ११ गते ०७८ कात्तिक १० गते मन्त्रीस्तरीय निर्णयबाट बहुवर्षीय योजनामा समाहित साथ रकम विनियोजन हुँदा यसमा निरन्तर लागिपरेका सामाजिक अभियन्ताका साथै त्यस क्षेत्रका सबै नागरिक हर्षित छन् । नयाँ बसपार्क-काठमाडौं-तिनपिप्ले पक्की दुईलाइन सुचारु सडक साढे सात किलोमिटर, तिनपिप्ले सुचारु दुई लाइन पक्की सडक रानीपौवा साढे १३ किलोमिटर, रानीपौवा-चतुराले-ढाँडेफेदी-नारायणस्थान-तादीको पुलबाट १९ किलोमिटर सुचारु कच्ची सडक र तादीको पुल-त्रिशूली कच्ची पक्की सात किलोमिटर सडकसमेत गरी काठमाडौं-त्रिशूली-वैकल्पिक द्रुत मोटरमार्गको लम्बाइ एवम् दूरी जम्मा ४७ किलोमिटर रहेको छ । त्रिशूली-रसुवागढी राजमार्गको दूरी एवम् लम्बाइ ५८ किलोमिटर भएकाले नेपाल-चीन-रसुवागढी राजमार्गको दूरी काठमाडौंबाट लम्बाइ एक सय पाँच किलोमिटर कायम हुनेछ । काठमाडौं-रानीपौवा-चतुरालेबजार-ढाँडेफेदी-नारायणस्थान-विदुर-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी दूरी एक सय पाँच किलोमिटर हुनेछ । यो सडकको स्तरोन्नति र प्रचारप्रसारका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।

यात्रा र व्यापारिक दृष्टिले काठमाडौं-त्रिशूली यात्रामा सहजता, कृषि र ग्रामीण पर्यटनमा अभिवृद्धि, वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी, औद्योगिक क्षेत्रको विस्तार, समय र इन्धनको बचतसमेत हुने हुँदा सबै तह र तप्कामा सरकारले समयमै निर्माण सम्पन्न गर्न गराउन ध्यान दिए यो काठमाडौं-त्रिशूली वैकल्पिक द्रुतमार्गले स्थानीयलाई भन्दा मुलुककै यातायात क्षेत्रको विकासमा टेवा पु¥याउँछ भन्ने विश्वास छ । मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा यस क्षेत्रका मतदाताले भोट माग्न आउने उम्मेदवारसँग यो मार्गको स्तरोन्नति र प्रचार-प्रसारमा प्रतिबद्धता माग्नुप¥यो ।