‘त्रिशूली प्रवाह’

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:५५
  • धर्तीचन्द्र यात्री

वि.सं.२०८१ वैशाख ५ गते बेलुकी साहित्यकार एवम् पत्रकार श्याम रिमालको फोन आयो । उहाँले भन्नुभयो, ‘यात्रीजी, भोलि ‘त्रिशूली प्रवाह’ साप्ताहिकको कार्यक्रममा नुवाकोट जानुपर्ने भयो ।’ नुवाकोट आफू जन्मेको, हुर्केको जिल्ला । म हरेक क्षण जिल्लाबारे उत्सुक हुने मानिस । त्यसमा पनि शरण उत्सुकले गर्नुभएको त्यस निम्तालाई मैले कसैगरी नाइँनास्ती गर्न मिल्दैनथ्यो । सोहीबमोजिम वैशाख ६ गते बिहीबार बिहानै घर धापासीदेखि केही थान मेरो अनुसन्धान–चिन्तनमूलक निबन्धात्मक कृति ‘जङ्गलमा ३३ वर्ष’ लिएर बाहिरिएँ । बिहान ७ बजेतिर रिमाल, पत्रकार तीर्थ भट्टराई र पर्यटन व्यवसायी मित्र गाडी लिएर रमेश सिलवाल आइपुग्नुभयो ।

गाडी चढ्नासाथ रिमालले भन्नुभयो, ‘यात्रीबिनाको यात्रा त कसरी गर्नु ?’ हामी ८ः३० बजे कार्यक्रमस्थल होटेल सनसाइन विदुर पुग्यौँ । करिब ९ः५ बजे कार्यक्रम सुरु भयो । प्रमुख अतिथि हुनुहुन्थ्यो– राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे ।

‘त्रिशूली प्रवाह’ पत्रिकाको रजतउत्सव मनाइरहँदाको क्षण मेरा मनमा थुप्रै सम्झना खेल्न थाले । मैले पनि पत्रिकामा स्थापनाकालदेखि नै साहित्यमार्फत योगदान गरेको थिएँ, छु । रिमाल भने ‘त्रिशूली प्रवाह’मा ‘जेठी तरबार’ भन्ने एउटा ऐतिहासिक उपन्यास शृङ्खला चलाउनुहुन्थ्यो, साहित्य, इतिहास, संस्कृति आदिबारे लेखिरहनुहुन्थ्यो । उहाँका ‘बागमतीको पत्र त्रिशूलीलाई’ र ‘एकै फाँको’ स्तम्भ पनि चर्चित नै थिए ।

कति दुःख गर्नुभयो उत्सुकलगायत मित्रहरूले, त्यसको समीक्षा फेरि छुट्टै गर्नुपर्ला । जिल्लाकै अग्रणी पत्रिकाका रूपमा यसले आफूलाई उभ्याइसकेको छ । यसले धादिङ र रसुवाका समाचार पनि राम्रैसँग समेट्छ । अब ऊ एउटा गधापच्चीसी उमेर लिएर हामीमाझ देखा परेको छ । आगामी दिनमा उसको यात्रा अत्यन्तै सफल बनोस्, सदैव जिम्मेवारी वहन गर्ने काममा कसैसँग सम्झौता नगरोस्, जनताका घरदैलो र कुनाकाप्चाका खबर सङ्कलनमा अग्रसर भइरहोस्, सकारात्मक समाचार सम्प्रेषण गरी असल पत्रकारिताको भूमिका निर्वाह गरोस् । पहिलेको ‘पश्चिम १ नम्बर’ मा मात्र नभई देशको एउटा सर्वोत्कृष्ट साप्ताहिक समाचार बनोस् भन्ने शुभकामना पनि म व्यक्त गर्छु ।
थानसिं, नुवाकोट हाल ः बुढानीलकण्ठ– १०
च्यासिन्डोल, काठमाडौं