कृषि उत्पादनमा जोड दिऊँ

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार १३:३२

प्राकृतिक स्रोतमध्ये भूमिलाई महत्वपूर्ण मानिन्छ । यो सीमित प्रकृतिप्रदत्त उपहार हो । भूमि जुनसुकै देशको पनि अमूल्य सम्पत्ति हो । जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा धेरै किसानले खेतीपाती गरी जीविकोपार्जन गर्ने हुनाले जमिनको धेरै महत्व छ । भूमिबिना कुनै पनि देशको चौतर्फी विकास गर्न सकिँदैन । वास्तवमा भौगोलिक वास्तविकतालाई आधार मानेर भूमिको सदुपयोग गर्न सके कृषि क्षेत्रबाट धेरै फाइदा प्राप्त गर्न सकिन्छ । नेपालले भने कृषि क्षेत्र बर्सेनि सदुपयोग गर्न नसक्दा खाद्यान्न आयातको आकार बढिरहेको छ ।

नेपालको कुल भूभागमध्ये झन्डै २८ प्रतिशत भूमि खेतीयोग्य छ, तर यहाँबाट प्रत्येक वर्ष करिब दुई करोड ४० लाख मेट्रिक टन माटो बगेर अन्यन्त्र जान्छ । नेपालको कुल भूभागमध्ये झन्डै २८ प्रतिशत कृषियोग्य छ । यहाँको उचाइ ७५ मिटरदेखि आठ हजार आठ सय कृषि उपजहरू उत्पादन गर्न सकिन्छ । नेपालको हावापानीले विश्वकै हावापानीको प्रतिनिधित्व गर्छ । वस्तुतः यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, केही वर्षयता नेपालमा खाद्यान्न उत्पादन घटेकाले आयातको ग्राफ बिस्तारै बढिरहेको छ । तर, यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान राम्ररी आकृष्ट हुन सकेको छैन । सबै बाली सबै ठाउँमा समान रूपले फस्टाउन सक्दैन । किनभने कुनै निश्चित भूधरातल कुनै निश्चित बालीका लागि उपयुक्त हुन्छ भने अर्को बालीका लागि अनुपयुक्त हुन सक्छ । यसले भूधरातलको अध्ययनको आधारमा कुनै निश्चित क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । वस्तुतः नेपालका केही कृषि उपज विश्वप्रसिद्ध छन् । उदाहरणका लागि यहाँ उत्पादित अलैँची विश्वको प्रथम स्थानमा अङ्कित छ भने अदुवा तेस्रो र मुसुरो छैटौँ स्थानमा छ । नेपालकोे व्यापार घाटा बर्सेनि बढ्दो छ । आधुनिक उपकरण, मोटरगाडीलगायत मेसिनको आयात बढ्नु स्वाभाविकै मान्न सकिन्छ, तर कृषिजन्य उपजको आयात पनि ह्वात्तै बढेका कारण मुलुकको वैदेशिक व्यापार घाटा पनि निकै बढ्दो रूपमा छ । चामल, तरकारी तथा फलफूलजस्ता कृषिजन्य वस्तुको आयात अर्बौँ रुपैयाँको आँकडामा हुनु हाम्रोजस्तो कृषिप्रधान मुलुकका लागि सुहाउँदो विषय होइन । हिजोआज दिनहुँजसो सयौँ युवा वैदेशिक रोजगारीका नाममा बिदेसिने क्रम बढिरहेको छ । यी युवाले बिदेसिनुका लागि गर्ने लगानी तथा यिनीहरूले खाडीमा गर्ने मिहिनेतबाट नेपालको अर्थतन्त्रलाई निकै सुधार्न सकिने तथ्यमा नीतिनिर्माताको ध्यानाकर्षण जान नसक्नु नै आजको दुर्भाग्य हो । बाली लगाउने समयमा मल, बिउ, कीटनासक विषादीको हाहाकार, लम्पी स्किन रोगको महामारीले किसानको गोठको दुहुनो गाई, भैँसी मरेका छन्, खडेरीले लगाएको बाली सुक्न थालेका छन्, जङ्गली जनावरबाट कृषक प्रताडित छन्, बल्लबल्ल उत्पादन भएको फसलको मूल्य नपाउँदा किसानको लगानी जोगाउन नसक्ने अवस्थालाई तीन तहका सरकार र कृषि क्षेत्रका सरोकारवाला निकायको ध्यान नपुग्दा कृषि कर्म गर्नेहरू पलायन हुँदै छन् ।

प्रकृतिको सुन्दर उपहारका रूपमा रहेको हाम्रो देश नेपालमा सबै किसिमको हावापानी पाइन्छ र यहाँ सबै किसिमका खाद्यान्न, तरकारी तथा फलफूलको राम्रो उत्पादन गर्न सकिन्छ । सम्भावना भएर पनि देशको व्यापार घाटा बढिरहने तथा युवाको विदेश पलायन रोक्ने सहज तथा सरल उपायका रूपमा कृषि उत्पादन वृद्धिलाई लिइनु उपयुक्त हुने देखिन्छ । यसका निम्ति सरकारले कृषि कर्ममा विशेष गरी युवा रोजगारीलाई प्रोत्साहन गर्ने नीति लिनु अत्यावश्यक देखिन्छ । यसबाट कृषिजन्य वस्तुको आयातमा कटौती भएर व्यापार घाटामा सुधार हुनेछ । यसरी युवाले रोजगारीकै निमित्त खाडीलगायतका मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य भएर स्वदेशमा नै स्वदेशी श्रमशक्तिको उपयोग हुने वातावरण सिर्जना हुन सक्छ । विकसित मुलुकमा पाँचदेखि १० प्रतिशत श्रमशक्ति परिचालन गरेर कृषि उपज उत्पादन गरिन्छ । उत्पादन आफ्नो देशलाई पुगेर अन्य देशमा निर्यात गर्नुको मुख्य कारण यान्त्रीकरण पनि हो । सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिका लागि आवश्यक मलखाद, उपकरण, सिँचाइको सुव्यवस्थाका अतिरिक्त उत्पादित सामग्रीका बजारीकरण सहजकर्ताको भूमिका निर्वाह गर्नु जरुरी छ । यस किसिमको वातावरण तयार भएमा खाद्यान्नजस्ता क्षेत्रमा मुलुक आत्मनिर्भर हुन सक्ने र व्यापार घाटामा कमी आएर वैदेशिक व्यापारमा केही हदसम्म सन्तुलनको वातावरण आउन सक्छ । परम्परादेखि गरिआएको कृषिकर्मप्रतिको दृष्टिकोण परिवर्तन गरेर कृषि उत्पादनलाई प्रश्रय गर्न अब ढिलो गरिनुहुँदैन । अथाह सम्भावना भएर पनि मुलुकको अविकास, अव्यवस्था, गरिबी र पछौटेपनको जिम्मेवार ओहोदामा आसीन र हामी सबैको धेरथोर भूमिका छ । यसमा आत्मसमीक्षा अपरिहार्य छ । यथार्थवादी बजेट बनाउने, नाराका लागि नारा नलगाउने र कार्यान्वयनमा लैजान सकिने योजना र कार्यक्रम अघि सार्ने हो भने त्यसले हाम्रो कृषि उत्पादनमा टेवा पुग्नेछ ।