चालीस जाति, भाषा, धर्म र सांस्कृतिकको नमुना गाउँ रुबिभ्याली

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार ११:५३
  • सज्जन उत्सुक सापकोटा

धादिङको रुबीभ्याली गाउँपालिकामा तामाङ बाहुल्य छ । वडा नम्बर–४ को गुरुङ र वडा नम्बर–३ को तामाङ बस्ती–चालीस जाति, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ हुन् ।

तामा, फलाम खोज्दै आएका गुरुङ अनि कृषि औजारका लागि ल्याइएका कामी अनि ओरापरीका लागि ल्याइएका दुई घर परिवार पाटनका शाक्य । तामाङले घलेलाई राजा बनाए । तामाङका मित गुरुङले भेडाको छालाले ओगट्ने जमिन मागे । बाठा गुरुङले त्यो छालाको धागो बनाएर जग्गा नापेर लिए भन्छन् स्थानीयवासी । चालीस गुरुङ बस्तीको जग्गा अहिले पनि फराकिलो छ । सेर्तुङका तामाङले मित (गुरुङ) लाई वास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । चौतर्फी तामाङ बस्ती र बौद्ध परम्परा । गुरुङ भन्नासाथ बौद्ध धर्म, परम्परा, संस्कृति, तमु क्यु (गुरुङ भाषा) अनि भाङ्ग्रा, घलेक, लुङ्गीजस्ता पोसाकका ठानिन्छ तर त्यो भएन । अघिल्ला पुस्ता घाँटु, मारुनीजस्ता गीत–नृत्यमा त खुवै रमाए, तर हराउन थाल्यो त्यो पनि । अबचाहिँ पुनः जागृत हुँदै छ चालीस । ‘यहाँका गुरुङ भर्खर आफ्नो भाषा खोज्दै छन्,’ रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ भन्छन् । रुबीभ्यालीमा आएर बसोवास गरेका परिवारको सङ्ख्याका आधारमा गाउँका नाम बने पैंतीस, चालीस र साठी । पैंतीस अहिले छैन, साठीमा हो अत्यधिक तामाङ, केही घले र कामी रहेको उपल्लो गाउँ हो – सेर्तुङ । यी सबैको साझा भाषा बन्यो तामाङ । तामाङ र गुरुङ दुवै जातीय आग्रहबाट बौद्धमार्गी ठानिन्छन्, तर चालीसका गुरुङको न त तमु भाषा न त बौद्ध धर्म, संस्कृति, परम्परा । खस–बाहुन नरहेको त्यो ठाउँमा उनीहरूको मातृभाषा नै नेपाली छ । अझ छोरी, बहिनीभन्दा खस शब्द ‘छरबैनी’ प्रयोग गर्छन् । परम्परा, संस्कृति हिन्दू छ ।

तामाङ बाहुल्य समाजमा सहअस्तित्वमा रमाउँदै आएको चालीस बस्तीमा देवदेवीस्थान बनाइएका छन् । ५२ वर्षीय धनबहादुर घलेका अनुसार यहाँ तीन कन्या मन्दिर, भवानी (बलि पुज्ने थान) गणेश मन्दिर, शिव मन्दिर छन् । यहाँको जन्ममृत्यु संस्कार हिन्दूको छ । बाहुन ज्योतिषलाई हेराएरै न्वारान, पास्नी, बिहेको लगन जुराइन्छ । मृत्यु भए अविवाहितबाहेकलाई जलाइन्छ र १३ दिन किरिया र सेतो कपडा लगाएर बरखी बार्ने गरिन्छ । वैशाखमा पर्ने नयाँ वर्षदखि चैतेदसैँसम्मका प्रायः सबै हिन्दू पर्व (शिवरात्रिबाहेक) मनाउने गरिन्थ्यो । तिजमा महिला व्रत बसी रातो पहिरन र चुरामा सजिएर शिव मन्दिरमा मेला भर्थे – स्थानीय बासिन्दा तथा गणेश हिमाल पर्यटन विकास समितिका पूर्वध्यक्ष तेजबहादुर गुरुङ भन्छन् । उनका अनुसार तर अब अवस्था फेरिँदै छ । गुरुङले आफ्नो भाषा, धर्म, संस्कारमा आफ्नो पहिचान स्थापना गर्न खोजिरहेका छन् । शायद नेपालमा सबैभन्दा बढी धर्म परिवर्तन भएको ठाउँ हो यो क्षेत्र । बाराङमा पुर्खा भएका पूर्वमन्त्री बुद्धिमान तामाङ भन्छन् – त्यहाँ नब्बे प्रतिशतले धर्म परिवर्तन गरे । वडा नम्बर–१, लिङ्जो लब्दुकस्थित दोङदेन माध्यमिक विद्यालयका शिक्षक सोमबहादुर तामाङ भन्छन्– मेरा बा लामा । उहाँले नै धर्म परिवर्तन गर्नुभयो । चालीस, सेर्तुङपारिको खोँचमा रहेको तिप्लिङ गाउँवासीको पीडाले धर्म परिवर्तन गरायो । सोमबहादुर भन्छन्, ‘कोही बिरामी हुँदा धामीझाँक्रीले ५–६ वटा भाले, थुमा खाइदिने, तर बिरामी निको नहुने । तिनकै कारण जग्गा धितो राख्नुपर्ने । बलि प्रथाबाट मुक्ति पाउन पनि धर्म परिवर्तन गरे । यहाँ बौद्ध धर्मावलम्बीले पनि आफ्नो धर्म, संस्कार जोगाउन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले म्हाने (छोर्तेन/स्तूप) बनाउने, जोगाउने गरिरहेका छन् ।’ तिप्लिङका सोमबहादुर तामाङ भन्छन् – हामीले प्याल्दोर डाँडामा शायद एसियाकै दोस्रो अग्लो (३० फिट) क्रस बनायौँ । त्यही डाँडाको क्रसका कारण द्वन्द्व भयो । बौद्धमार्गीले छेउमा स्तूप बनाए । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ भन्छन् – अहिले विवाद छैन । सहिष्णु छ रुबीभ्याली । रुबीभ्याली गाउँपालिका–१ का प्रकाश घले भन्छन्, एकपटक संस्कारमा द्वन्द्व भयो । हामी मिलेका छौँ । एक–आपसका संस्कारमा सहभागी हुन्छौँ ।

पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ । तर, स्थानीयको चेतनास्तर र राज्यको बेवास्ताले रुबी र चाँदी बेवारिस छ । सरकारले २०३३ सालमै सोमदाङसम्म मोटरबाटो पु¥यायो, तर जनताको जीवनस्तर सोचेन । रसुवाको सोमदाङतर्फबाट नेपाल जेसुइट सोसियल इन्स्टिच्युटले मोटरबाटो पु¥याइदियो । त्यो क्षेत्रका अधिकांश बालबालिका सेन्ट जेभियर्स/सेन्टमेरिज विद्यालयको प्राथमिकतामा रहेकोे स्थानीय बताउँछन् । बालबच्चा पढाउने खर्च नलागेपछि, उपचारमा बलि चढाउन नपरेपछि धार्मिक आस्था बाँकी राख्ने कुरै भएन । धादिङको उत्तर–नुवाकोट, रसुवा, गोरखा अनि तिब्बत नाका जोडिने यो क्षेत्र गणेश हिममालाको फेद हो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको तीन वर्षअघि नै ‘रेमन्ड’ले सगरमाथा आरोहण असफल भएपछि गणेश हिमाल चढेका सुनाउँछन् ट्राभल्स एजेन्ट एसोसिएसन नेपाल (टान) का पूर्वउपाध्यक्ष एवम् गणेश हिमाल पर्यटन विकास समितिका पूर्वउपाध्यक्ष तेजबहादुर गुरुङ । यहाँको पर्यटन क्षेत्रमा जे भएको छ, यिनै गुरुङहरूले गरेका छन् । विदेशभन्दा पर्यटन क्षेत्रमा लागेका छन् रुबीभ्यालीका पाँच गाउँका गुरुङ । तामाङ, गुरुङ, घले, कामी र शाक्य (थोरै परिवार)को बसोवास रहेको यो पालिकामा केही होटेल र मनग्ये होमस्टे (घरवास) पनि बनाइएका छन् । तर, चालीस गाउँवासी पसले धने गुरुङले भने, ‘विदेशी नदेखेको त चार–पाँच वर्ष भयो । पर्यटक आउँछन् भनेर लगानी गरियो तर खोइ ?’ ‘भिरको बाटो सम्मै छ खनेर, आउन–जान सजिलो भनेर,’ यो लोकभाका जस्तै अहिले धादिङबेँसी अनि रसुवातर्फ धुन्चे, गत्लाङ हुँदै हिमाली भञ्ज्याङ (पाङसाङ पास) बाट कच्ची सडक जोडिएको छ । भिरको कच्ची सडक, धुलो र हिलो–तत्काल त ‘कमजोर मुटु’ भएकालाई यो यात्रा गाह्रो छ, तर साहसिक यात्रा मन पराउनेलाई मज्जा छ । तेजबहादुर गुरुङको अनुमान बेग्लै छ । उनले भने, ‘६०-७० वर्षअघि नै गणेश हिमाल आरोहण भए पनि पछि किन आरोही र पर्यटक आएनन् ? गणेश हिमाल धार्मिक आस्थाका हिसाबले मानसरोवर/कैलाश, पशुपति, पार्वतीकुण्डसँग जोडिएको छ । शिव–पार्वतीका सन्तान गणेश भनेर यसमा आरोहण अनुमति नदिएको हो कि ?’ गोसाइँकुण्ड, पार्वतीकुण्ड, सिङ्ला पास, पाङ्साङ पास जोडेर सुन्दर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तर, गणेश हिमालको आधार शिविर पनि बनाइएको छैन, सहज पदमार्ग पनि विकास गरिएको छैन ।

‘०३३ सालमै रसुवाको सीमासम्म सडक आएको थियो, तर राज्यले अहिलेसम्म हामीलाई बेवास्ता ग¥यो, राजनीतिक नेतृत्वबाट बेवास्ता भयो, अब नयाँ पुस्ता नेतृत्वमा आएका छौँ, धुले सडक जोड्यौँ, अरू काम गर्दै छौँ,’ गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भने । धादिङको धादिङबेँसीबाट ७० किलोमिटर र रसुवाको सोमदाङबाट ३० किलोमिटर दूरीमा रहेको सेर्तुङको ब्राबरजोङ (घले दरबार) को भग्नावशेष भएको डाँडाबाट टक्क सामुन्ने देखिन्छ गणेश हिमाल । अधिकांश तामाङ जाति रहेको यहाँ रुबी (रातो पत्थर) समेत पाइने भएकाले पर्यटन व्यवसायीको प्रस्तावमा साविक तिप्लिङ, सेर्तुङ र लापा गाउँ विकास समितिलाई मिलाएर रुबीभ्याली गाउँपालिका बनाइयो । सोली आकारका खोँच र पहराको तलेत्रामा बस्ती रहेको यो ठाउँ सुन्दर छ । चालीस गाउँबाट ४५ मिनेट यात्रामा अनि लिङ्जो गाउँतिर तातोपानीका मूल छन् । साङजेन भ्यालीमा तीनवटा विशेष ताल छन् । पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । होमस्टे बनाइए पनि, सडक पुगे पनि पर्यटक छैनन् । यो ठाउँ आकर्षक छ, तर घुमन्ते पुग्दैनन् । ग्रामीण पर्यटनविज्ञ प्रा.डा. प्रेम शर्माले भने, ‘यहाँको चेतनास्तर विकास हुनुपर्छ । सुरक्षा र सुसंस्कार महसुस हुनुपर्छ । स्थानीयवासी मात्र होइन, पर्यटन प्रवद्र्धनमा लागेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको मनोभाव बुझेर सेवा दिन सक्नुपर्छ ।’ पचास–साठी वर्षअघि नै पर्यटक पुगेको यो क्षेत्रमा सुरक्षासम्बन्धी पहिलो प्रश्न छ । केही वर्षअघि दुई ताइवानी युवा–युवती पुरु गाउँमाथिको डाँडामा अल्झिएर ४२ दिन हराए । उनीहरूको उद्धार गरिए पनि युवतीको देहावसान भयो । त्योसँगै, यहाँ कुटपिट र चोरी हुने हल्ला चल्यो । काठमाडौं उपत्यकाका तीन डाँडापारि यस्तो हल्ला साम्य पारेनन् सरकार अनि पर्यटक प्रवद्र्धकले ।

सन् १९१२ मा पर्यटन बोर्ड नेपालको सहकार्यमा यहाँको पर्यटन सम्भाव्यता अध्ययन गरेर १८ वटा मार्ग पहिचान गरेको बताउँछन् तेजबहादुर गुरुङ । तीन दिनदेखि १८ दिनको यात्रा गर्न सकिन्छ यो क्षेत्रमा । तर, एक हजारदेखि चार हजार मिटर उचाइको भौगोलिक बनावटमा यात्रुको सुरक्षा र सेवामा विशेष ध्यानसहितको चेतना चाहिने प्रा.डा. शर्माले बताए । ‘सडक पुगेर मात्र हुन्न, पर्यटन विकासका लागि ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवै चाहिन्छ,’ उनको भनाइ छ । पत्थरको खानी रुबीभ्याली काठमाडौंको नजिकको हिमाली गन्तव्य हो । अब यसको प्रवद्र्धन गर्दै छन् नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिका र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)लगायतले । यहाँको पहाडी दृश्य सुन्दर छ, बासिन्दा वृद्धवृद्धा बढी छन्, तर सहरमै भएका आफ्नो गाउँ आफैँ बनाउन सक्रिय छन् । स्थानीय सङ्घ–संस्थासमेतको सहकार्यमा भिटोफ, नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिकाले रुबीभ्याली गाउँपालिका–४ चालीस गाउँ तथा वडा नम्बर–३ सेर्तुङमा पर्यटन प्रवद्र्धन प्रयास गरिरहेका छन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल भन्छन्, ‘यहाँ पर्यटन विकास गर्ने भनेर मात्र हुँदैन । स्थानीय जागरण र उत्पादन पनि हुनु आवश्यक छ ।’ भिटोफका अध्यक्ष गोपाल थापाले पनि स्थानीय संस्कृति, प्राकृतिक सुन्दरता र अध्ययनका लागि राम्रो सम्भावना भए पनि स्थानीय उत्पादनमा जोड दिनुपर्ने देखिएको बताए । गाउँपालिका अध्यक्ष तामाङले भने, ‘बल्ल कच्ची सडकले गाउँ जोडिएको छ । यसको स्तरोन्नति गर्नु छ । हामीले यहाँ पर्यटन र जलविद्युत् उत्पादनलाई आयस्रोतका रूपमा विकास गर्ने योजना बनाएका छौँ । यसपटक पाँच लाख रुपैयाँ पर्यटन प्रवद्र्धनका लागि विनियोजन गरेका छौँ । सुरक्षाको समस्या पनि अब छैन ।’