+
Search

ताजा अपडेट +

पपुलर +

देवीबहादुरले चार सय कुखुराबाट चार सय किसानलाई उद्यमी

देवीबहादुरले चार सय कुखुराबाट चार सय किसानलाई उद्यमी
त्रिशूली प्रवाह
१ साल अगाडी

धादिङबेँसी । २०५० सालमा चार सय ब्रोइलर कुखुरा पाल्नु पनि चानचुने कुरा थिएन । त्यति बेला पैसा निकै कम व्यक्तिसँग मात्र थियो । जतिबेला जिनिसलाई नै सम्पति मानिन्थो । त्यही बेला देवीबहादुर खड्कालाई ब्रोइलर कुखुरापालन गर्न मन लाग्यो, तर पैसा थिएन । उनले उपाय निकाले कृषि विकास बैंकबाट ऋण लिने । बैंकका कर्मचारी कोही चिनेका थिएनन् । ‘बैंकमा गएर आफ्ना मौखिक योजना सुनाएँ । बैंकका प्रबन्धक र ऋण अधिकृत ऋण दिन उत्साहित र मञ्जुर भए । मैले १८ हजार ऋण पाउने भएँ । ऋण पाएपछि चितवन जिल्लाको कुरिनघाटमा कुखुराको चल्ला र दानाको कारोबार गर्ने सानुभाइकोमा बुझ्न गएँ । एउटा चल्लाको १६ रुपैयाँ र ५० केजी भरेको एक बोरा दानाको आठ सय पर्ने भयो,’ उनले सुरुवाती दिन सम्झिए, ‘फर्केर घर आएँ र फटाफट कुखुराको लागि खोर तयार गरेँ । ब्रोइलर कुखुराको चार सय चल्ला ल्याएँ । त्यतिवेला कतैकतै मात्र ब्रोइलर पाल्न थालेका थिए । ब्रोइलर कुखुराको मासु होटेलमा मात्र खाने चलन थियो । घरमा ब्रोइलर कुखुराको मासु खाने बानी परेको थिएन । बाहुनले त झन् छुनै हुँदैन थियो । बिस्तारै मासु खाने बानी गाउँलेमा पनि पर्दै गयो । होटेलमा पनि बिक्री हुँदै गयो । होटेलमा कुखुराको माग पनि बढ्दै गयो । कुखुरा बेच्न मुग्लिन र काठमाडौंसम्म गएँ । कुखुराबाट जति नाफा हुन्छ । त्यति नै सङ्ख्यामा चल्ला थप्दै गएँ । २०५५ सालसम्ममा आइपुग्दा १० हजार चल्ला पाल्न थालेँ । त्यतिवेलासम्म उही सानुभाइकोबाट चल्ला र दाना ल्याउँथेँ । वरपरका साथीभाइले पनि हामीलाई पनि चल्ला ल्याइदिनुस् भन्न थाल्नुभयो । २०५८ सालमा गाडी किनेँ अनि अरूलाई पनि चल्ला दाना दिन थालेँ । काम गर्दै जाँदा कृषि विकास बैंक गजुरी शाखाको असल ऋणीको रूपमा ग्रिनकार्ड पनि पाएँ । मेरो सफलतामा मेरी श्रीमती गंगा खड्का र कृषि विकास बैंक गजुरी शाखाको उत्तिकै हात र साथ रहेको छ ।’

काम गर्दै जाँदा कुनै दिन पनि कुखुराको चल्ला वा कुखुरा मरेको कारण नोक्सानी व्यहोर्नु नपरेको खड्काले सुनाए । जति नाफा हुन्छ, कहिले खोर थपे, कहिले चल्ला थपे । जति नाफा भए पनि कुखुरामै लगानी गरेको खड्काले बताए । पृथ्वी राजमार्गको छेउमा भएको जग्गामा काम गर्दै आएको, तर सडक विस्तार गर्ने भएपछि खटौतीभन्दा माथि खड्काटोल अर्थात् बाँझोगरामा २०७३ सालमा १८ हजार चल्ला अट्ने तीनवटा खोर बनाए । त्यसमा पनि चल्ला थप्दै गए । व्यवसाय अझ बढाउन मन लाग्यो । पञ्चलिङमा एउटा हटरो थपे त्यसमा १५ हजार चल्ला अट्छ । २०७५ सालमा व्यवसायलाई अझ बढाउन मन लाग्यो । जग्गाको बनावट गर्दै तीनतले आरसिसी ढलान गेरर पक्की खोर बनाए । एक तलामा १० हजार चल्ला हट्छ । अहिले एकपटकमा ६३ हजार चल्ला खोरमा हुन्छ ।

२०५८ सालदेखि नै अरू किसानलाई पनि चल्ला दाना दिँदै आएका थिए । बिस्तारै किसानको सङ्ख्या पनि थपिँदै गए । अहिले चार सयभन्दा बढी किसानलाई चल्ला र दाना दिँदै आएको खड्काले बताए । अहिले मासिक एक लाख ५० हजार चल्ला अरू किसानकोमा दिनुपर्छ । हरेकपटक चल्ला दिएको ३८ दिनदेखि बढीमा ५० दिनसम्ममा कुखुरा बिक्री गर्नुपर्छ । भ्याली कोल्ड स्टोरमा ६० प्रतिशत र ४० प्रतिशत आफैँ बजार व्यवस्थापन गर्दै आएका छन् । मस्र्याङ्दी ह्याचरी तनहुँ र शिखर ह्याचरी चितवनबाट चल्ला ल्याउँछन् । दानाचाहिँ भ्याली फिड्स हेटौँडाबाट ल्याउँछन् । एउटा १२ चक्के गाडीले शनिबारबाहेक हरेक दिन चार सय २० बोरा दाना ल्याउँछ । चल्ला बोक्न र कुखुरा बोक्न पाँचवटा गाडी चल्छ दिनकै । चार सय जनाभन्दा बढी किसानलाई प्रत्यक्ष रूपमा आम्दानीसँग जोडेका छन् । उनीहरूको परिवारलाई समेत रोजगारी मिलेको छ । परिवार चलेको छ । समग्रमा भन्दा आर्थिक समृद्धिमा समेत योगदान गरेका छन् ।

किसानलाई तालिम, डाक्टरद्वारा खोर फिजिट, इन्जेक्सन लगाएको चल्ला दिएर किसानलाई सहयोग गरेका छन् । एक हजार चल्लाबराबर ८० अजारदेखि एक लाखसम्म नगद धरौटी राखेर लगानी गरिरहेकाछन् । एक हजार कुखुरा बिक्री गर्ने वेलासम्म चार लाख २५ हजार खर्च हुन्छ । तीन लाख २५ हजारसम्म लगानी गरेका छन् । किसानलाई सहजताका लागि कुखुरा खरिद–बिक्री गरिएका छन् । कैयाँै किसानले खोरबाट व्यापार गर्छन् । केही किसान कोल्डस्टोरसम्म जान्छन् । ‘हामी खुकुरा ढुवानी खर्च कटाएर कोल्डस्टोरकै भाउमा हिसाब दिन्छाँै । दानामा प्रतिकेजी एक रुपैयाँ नाफा राखेर काम गर्छौँ । हामी आफू मात्र कमाउ धन्दामा छैनौँ । किसानलाई कसरी बढी नाफा दिन सकिन्छ भनेर सोचिरहेका हुन्छौँ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ कुखुरा ढुवानी गर्दा गाडी जाममा परेर कुखुरा मर्छ । त्यस्तो बेला हामी पनि किसानलाई परेको घाटामा साझेदारी गर्छौँ । ताकि किसानलाई मात्र घाटा नहोस् ।’

उनी भन्छन् – १० प्रतिशत जति किसान ढाँटछल गर्ने खालका हुन्छन् । आफूखुसी कुखुरा बिक्री गर्ने अनि मयो भन्ने र पछिल्लोपटक कुखुरा नपाल्ने पनि छन् । त्यसो हुँदा घाटा देखाएर पैसा नतिर्ने पनि छन् । अहिले पनि तीन करोड रुपैयाँ कोल्डस्टोरबाट उठाउनुपर्नेछ । चार करोड रुपैयाँ किसानमा फसेको छ । चल्ला–दानाको मात्र व्यापार गर्ने हो भने घाटा हुन्छ । हामी त आफैँ पनि ६३ हजार कुखुरा पाल्ने भएकाले चलिरहेका छौँ । अहिले कुमारी बैंक मझिमटारबाट चार करोड ऋण लिएर कुखुरापालनमा लगाएका छौँ । डेढ करोड पेट्रोल पम्पमा लगानी रहेको छु । कुखुरापालन र चल्ला–दाना सप्लायर्समा गरी करिब १३ करोड लगानी रहेको छु । चारजनाको परिवारलाई वार्षिक तलबमा राखेको छु । उनीहरूलाई कोठा, तरकारीखेती गर्ने जग्गा, चामलसमेत दिएका छु । ६ वटा गाडीमा १२ जनालाई रोजगारी दिएको छु । हामी आफैँ पनि यही रोजगारी गरिरहेका छौँ । समग्रमा भन्दा करिब साढे आठ सय मानिसलाई रोजगारी दिएका छौँ । करिब साढे चार सय परिवारलाई पालनपोषणमा योगदान मात्र होइन उद्यमी पनि बनाएका छौँ । एक हजार कुरा पाल्ने किसान आज १५ हजारसम्म कुखुरा पाल्ने भएका छन् । दुई सय किसानले त पाँच–पाँच हजार एकपटकमा पाल्छन् ।

खड्काले आफूले गर्दै आएको व्यवसाय बिस्तारै छोरालाई जिम्मेवार बनाउँदै संरक्षकको भूमिका निर्वाह गरिरहेका छन् । खड्का पोल्ट्री कम्पनी प्राइभेट लिमिटेड जेठा छोरा गौतम खड्काको नाममा दर्ता गराएका छन् । तर, गौतम भने पेट्रोल पम्पमा छन् । खड्का कृषि फर्म माइला छोरा उत्तम खड्काको नाममा दर्ता गराएका छन् । माइला छोरा ६३ हजार कुखुराको मालिक भएका छन् । उत्तमले पञ्चलिङ खोर हेर्न आउने आफन्त र आगन्तुकलाई निःशुल्क बसोवासको व्यवस्थाका लागि मिनी रिसोर्ट नै बनाएका छन् । कान्छा छोराले यी कम्पनी र फर्मको हिसाब तथा कम्पनीबाट हुने चल्ला, दाना र बजार व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । उनका नाममा कम्पनी वा फर्म छैन । तर, सबै चाँजोपाँजो मिलाउन उनलाई भ्याइनभ्याई हुन्छ । यसका साथै चार सयभन्दा बढी किसानको खोर घेटघाट र प्राविधिक सेवाका लागि डाक्टर फर्ममा कहिले–कहाँ पु¥याउने तालिकामै व्यस्त हुन्छन् ।

‘चार सय कुखुराबाट सुरु भएको आय–आर्जनमुखी कामबाट व्यावसायिक सफलता एक दिन वा एक वर्षमा सम्भव भएको होइन । निरन्तरको खटाइ, प्रयास र धैर्यताले हो । म यो मानेमा अझ बढी खुसी छु । तीनै भाइ छोरा मेरो नित्य कर्मलाई व्यावसायितामा रूपान्तरण गरेर मेरा सपनालाई साकार पार्र्दै छन्,’ खड्काले सुनाए । खड्का अहिले कम्पनी र फर्मको संरक्षकत्वको भूमिकामा मात्र रहेका छन् । सबै कारोबार छोरालाई जिम्मा लगाएर राजनीतिमा सक्रिय रहेका छन् । उनी बेनीघाट–रोराङ गाउँपालिका–९ का वर्तमान वडाध्यक्ष हुन् । नैपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । अझ महत्वपूर्ण कुरा त फरक–फरक पार्टीका गाउँपालिकाका निर्वतमान अध्यक्ष पित्तबहादुर डल्लाकोटी र गाउँपालिकाका वर्तमान उपाध्यक्ष टापबहादुर श्रेष्ठ यही वडाका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह