+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस–कम्युनिस्ट–पूर्वपञ्चको किल्ला नयाँ दलका कब्जामा

विजेता र पराजितबिचको मतान्तर वृद्धि

कांग्रेस–कम्युनिस्ट–पूर्वपञ्चको किल्ला नयाँ दलका कब्जामा
सुनील श्रेष्ठ र सज्जन उत्सुक
१ दिन अगाडी

विदुर । नेपालको संसदीय राजनीतिक इतिहासमा सधैंँ चर्चाको केन्द्रमा रहने नुवाकोट यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नयाँ दलको कब्जामा पुगेको छ । दुवै निर्वाचन क्षेत्रमा पुराना दल र पुराना नेतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आएको जनमतको सुनामीले बढारिदिएको छ । आमनिर्वाचनमा जिल्लाका मतदाताले विकल्प खोज्दै सुशासन र भ्रष्टाचार अन्त्यका लागि मत जाहेर गरेका छन् । विसं २०४८ देखि स्थापित राजनीतिक शक्ति र पुराना ‘हेभीवेट’ नेताहरूको विरासतलाई भत्काउँदै दुवैमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

यस निर्वाचनले नुवाकोटको ३४ वर्ष लामो चारदलीय प्रभुत्वलाई मात्र बदलिदिएन, मतान्तरको नयाँ र फराकिलो कीर्तिमानसमेत कायम गरेको छ । नुवाकोटको निर्वाचन इतिहासमा विसं २०४८ देखि २०७९ सम्म नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र नेकपा (माओवादी) बिच लुकामारी चल्ने गथ्र्यो । यस पटकको निर्वाचनमा भने मतदाताले एक छत्र राज गरिरहेका पुराना दल र त्यसका नेतालाई चुनौती दिँदै नयाँ अनुहार र दललाई भारी मतले अनुमोदन गरिदिएका छन् । क्षेत्र नं १ र २ मा रास्वपाका उम्मेदवारले प्राप्त गरेको मत सङ्ख्या र मतान्तरले नुवाकोटको जनमत अब पूर्णतः ‘परिवर्तन र विकल्प’ का पक्षमा उभिएको प्रमाणित गरेको छ । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका डा विक्रम तिमिल्सिना २२ हजार छ सय नौ मतले निर्वाचित हुनुभयो । उहाँले काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतलाई चार हजार १२ मतको अन्तरले पराजित गर्नुभयो । सो क्षेत्रमा विसं २०५६ देखि २०७९ सम्मको निर्वाचनमा माओवादी र कांग्रेसको आलोपालो जित भइरहेको थियो । यस पटक रास्वपाको प्रवेशले पुराना दुई दलका स्थानलाई तेस्रो र चौथो स्थानमा धकेलिदिएको छ ।

जिल्लाको मतान्तरकै इतिहासमा क्षेत्र नं २ मा रास्वपाले त झन् नयाँ कीर्तिमान कायम गरेको छ । रास्वपाका डा अचुत्तम लामिछाने ३२ हजार ५४ मत पाएर विजयी हुनुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदीश्वरनरसिंह केसीलाई १६ हजार पाँच सय ५१ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । यो मतान्तर नुवाकोटको निर्वाचन इतिहासकै हालसम्मको सबैभन्दा ठुलो र फराकिलो अन्तर हो । यो अभिलेख २०७९ को निर्वाचनमा जगदीशकै दाजु अर्जुननरसिंह केसीले कायम गरेको ११ हजार छ सय ३० लाई समेत निकै पछाडि धकेलेको छ । सो निर्वाचनमा कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) बिच गठबन्धन हुँदा अर्जुननरसिंहलाई साझा उम्मेदवारका रूपमा उठाइएको थियो ।

यस पटकको निर्वाचनमा पुराना दलको उपस्थिति निकै कमजोर देखियो । निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री हितबहादुर तामाङ १३ हजार तिन सय ७७ मतमा खुम्चिँदा एमालेका बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले आठ हजार नौ सय ३२ मत प्राप्त गर्नुभयो । त्यसैगरी क्षेत्र नं २ मा एमाले र नेकपाका उम्मेदवारले साढे आठ हजार मत कटाउन सकेनन् । नुवाकोटका मतदाताले अब पुराना दलका झन्डा र बासी नाराका भरमा मत दिने परम्परालाई पूर्णतः त्यागेको देखिएको हाल विदेशमा रहेका नेपाल पत्रकार महासङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष कपिलदेव खनालले टिप्पणी गर्नुभयो ।

नुवाकोटमा हालसम्म भएका निर्वाचनको मतान्तर


नुवाकोटको निर्वाचन इतिहासमा विसं २०५६ मा क्षेत्र नं १ मा एमालेका राजेन्द्रप्रकाश लोहनी र राप्रपाका डा प्रकाशचन्द्र लोहनीबिच १५ मतको झिनो अन्तर र २०६४ मा डा रामशरण महत र हितबहादुर तामाङबिच एक सय चार मत अन्तर रहेको थियो । १५ मतको ‘थ्रिलर’ बाट सुरू भएको चुनावी यात्रा यस पटक आइपुग्दा १६ हजारभन्दा बढीको ‘क्लियर म्यान्डेट’ सम्म आइपुग्नुलाई मतदाताको बदलिँदो मनोविज्ञान र निर्णायक शक्तिलाई उजागर गर्छ । पहिले पहिले मत विभाजन हुँदा मतान्तर कम हुने गरे पनि अहिले मतदाता एकमुष्ट रूपमा विकल्पका पक्षमा गोलबद्ध भएको देखियो । देशैभर यो लहर फैलिँदा रास्वपालाई एकलौटी सरकार बनाउन पुग्ने सङ्ख्या पुगेको छ ।

राजनीतिक विश्लेषक रामशरण प्याकुरेलका अनुसार नुवाकोटमा रास्वपाको यो जित केवल एउटा लहर मात्र नभई पुराना दलप्रतिको चरम असन्तुष्टिको विस्फोट हो । क्षेत्र नं २ मा डा लामिछानेले प्राप्त गरेको ३२ हजारभन्दा बढी मतले अब मतदाताले ‘टेस्टेड’ नेताभन्दा नयाँ र ऊर्जावान् नेतृत्वलाई अवसर दिन चाहेको देखिन्छ । यस पटक १६ हजार पाँच सय ५१ को मतान्तरले पुराना स्थापित दलका लागि गम्भीर आत्मसमीक्षाको घन्टी बजाएको छ ।

विगतको निर्वाचन २०७४ मा वाम गठबन्धन र २०७९ मा लोकतान्त्रिक–वाम गठबन्धन भएको नुवाकोटको चुनावले यस पटक मतान्तर बढाउन भूमिका खेलेको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्ष धननारायण चित्रकारले बताउनुभयो । जनताको भावना र चाहना विपरीत गठबन्धनलाई जनताले विगतमा नरूचाएको तथ्य दलहरूले भेद पाउन नसक्दा यस पटक रास्वपाका पक्षमा मतदाताले मत दिएको जिकिरसमेत उहाँले गर्नुभयो । यस पटक कुनै गठबन्धन र आर्थिक चलखेलबिना नै रास्वपाले एक्लै जिल्लाको दुवै क्षेत्र कब्जा गर्दै ठुलो मतान्तर कायम गर्नाले राजनीतिमा ‘गठबन्धन संस्कृति’ र पैसा खर्च गरेर चुनाव जितिन्छ भन्ने मनोविज्ञान सधैंँका लागि अन्त्य भएको छ । मतदाताले गठबन्धनका नाममा लादिएका उम्मेदवारभन्दा आफ्नो रूचि र कार्यसूची भएका पात्रलाई रोजेको यस परिणामले प्रस्ट गरेको छ ।

यसले के प्रमाणित गर्छ भने ‘राजनीतिक किल्ला’ कसैको पनि स्थायी हुँदैन । यहाँको जनमत कार्यसम्पादन र समयको पदचाप बुझ्न नसक्ने नेतृत्वप्रति सधैंँ निर्मम बन्दै गइरहेको पनि पुष्टि भएको छ । आगामी दिनमा उम्मेदवारका लागि जनविश्वास जित्न झन् कडा मेहनत गर्नुपर्ने चुनौती थपिदिएको छ । अबको राजनीति केवल विरासतमा होइन, जनसेवा र जनतासँगको प्रत्यक्ष संवादमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सुनील श्रेष्ठ र सज्जन उत्सुक