+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नुवाकोट : पराजितहरू सामाजिक सञ्जालमा के भन्छन्

म सधैंँ जनमतको सम्मान गर्छु

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नुवाकोट : पराजितहरू सामाजिक सञ्जालमा के भन्छन्
हितबहादुर तामाङ, नेकपा, प्रतिनिधिसभा क्षेत्र नं १ (प्राप्त मत – १३,३७७)
१ घण्टा अगाडी

विसं २०७४ र २०७९ मा निर्वाचित भएपछि तपाईंहरूले मलाई सुम्पिनुभएको जिम्मेवारीलाई मैले सधैं तपाईंहरूको विश्वास र आफ्नो कर्तव्यका रूपमा ग्रहण गरेको छु । स्रोत–साधनका सीमितता अवश्य थिए, तर मेरो नियत कहिल्यै त्रुटिपूर्ण थिएन । पूर्वाग्रहबिना हेर्ने हो भने, विगत तीन दशकमा हामीले अरूले प्रयास गर्ने साहससमेत नगरेका धेरै अधुरा सपना र विकासका योजना पूरा गरेका छौँ भन्ने कुरा विनम्रतापूर्वक भन्न चाहन्छु । पदमा रहँदा वा नरहँदा पनि मैले तपाईंहरूको शिर झुक्ने कुनै काम गरेको छैन । मैले सधैं राजनीतिलाई लोकतन्त्रको रक्षा, राष्ट्रिय सार्वभौमिकता र देशको समृद्धिका लागि पवित्र माध्यमका रूपमा लिएको छु । भ्रष्टाचारविरूद्धका मेरा आवाज केवल भाषणमा सीमित थिएनन्; मैले आफ्नो आचरण र व्यवहारबाट पनि त्यसलाई देखाउने इमानदार प्रयास गरेको छु । यही प्रतिबद्धताका कारण आज जनताको ठूलो हिस्साले मलाई साथ दियो र अन्य दलका धेरै साथी पनि हाम्रो साझा अभियानमा जोडिनुभयो ।

हो, सङ्ख्यात्मक परिणाम जे भए पनि नैतिक रूपमा हामीले विजय हासिल गरेका छौ । पार्टीभित्रको एकतालाई कायम राख्दै हामीले जनताको मन जित्न सफल भयौँ । हामीले प्राप्त गरेको हरेक मत कुनै प्रलोभन वा स्वार्थबिना आएको शुद्ध विश्वासको अभिव्यक्ति हो । म सधैं जनमतको सम्मान गर्छु । लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुन्छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी र यसको लहरबारे धेरै टिप्पणी र बहस भएका छन्, तर म अहिले त्यसतर्फ जान चाहन्न । मेरो प्राथमिकता सधैं यस क्षेत्रको हित र यहाँका जनताको सेवा नै हो र रहने छ । यस निर्वाचनमा यस क्षेत्रको नेतृत्वका लागि निर्वाचित हुनुभएका डा.बिक्रम तिमिल्सनालाई हार्दिक बधाई ज्ञापन गर्दछु । हामी एउटै क्षेत्रका भएकाले उहाँको सफलता मेरो व्यक्तिगत र क्षेत्रीय सद्भावसँग पनि जोडिएको छ । जनताले नयाँ आशा र विश्वासकासाथ तपाईंलाई यो जिम्मेवारी दिएका छन् । तपाईंको कार्यकालमा यस क्षेत्रका जनताको आकांक्षा पूरा होऊन् र नुवाकोटको विकासले नयाँ गति पाओस् भन्ने मेरो हार्दिक कामना छ । म पदमा रहुँ वा नरहुँ, नुवाकोटको माटो र यहाँका प्रिय जनतासँग सधैं सुख-दुःखमा साथ रहने छु र यस स्थानको प्रगतिका लागि सकारात्मक सहयोग गर्न सधैं तयार रहने छु । हाम्रो राजनीतिक बाटो फरक हुन सक्छ तर हाम्रो लक्ष्य एउटै हुनुपर्छ-समृद्ध नुवाकोट ।

तपाईंहरूको निःस्वार्थ माया र अटल विश्वास नै मेरो जीवनको सबैभन्दा ठूलो ऊर्जा हो । मेरो सार्वजनिक सेवाको यात्रा यहाँ रोकिएको छैन । यसबाट प्राप्त अनुभवका आधारमा म अझ बलियो र परिपक्व भएर अगाडि बढ्नेछु, तपाईंहरूको सुख-दुःखमा साथ दिँदै।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

हितबहादुर तामाङ, नेकपा, प्रतिनिधिसभा क्षेत्र नं १ (प्राप्त मत – १३,३७७)