धादिङबेँसी । वर्षको तिन पटक घर, माइत र मावली गर्ने त्रिुपुरासुन्दरी भगवतीमाई यस याममा सल्यानबेंसीस्थित माइती आएकी छन् । त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोटमा रहेकी भगवतीलाई मङ्गलबार पूजाराधाना गरी बुधबार बिहान सल्यानबेंसी माइती फर्काइएको हो ।
धादिङका सयौँ मानिस बाटाको दायाँबायाँ बसेर पूजाआजा र अबिरजात्रा गर्दै भगवतीलाई उनको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपले चिनिने सल्यानबेंसी मन्दिरमा भित्र्याइएको हो । त्रिपुरासुन्दरी–४ सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई मङ्सिरको विशेष तिथि पारेर त्रिपुरासुन्दरी–६ हाँसेबजारस्थित सल्यानबेंसी सार्ने परम्परा छ । बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पाउँदैनन् । स्थानीय पुजारी अर्जुन सापकोटा भन्नुहुन्छ, “विशेष किसिमको बाकसमा पूजा कपडाले घुम्टो ओढार राखिएको मूर्ति खोलेर हेर्न र छोएर दर्शन गर्न नपाइने परम्परानुसार बाटाको दायाँबायाँ बसेर देवीको दर्शन गर्ने र बाहिरबाटै फूल, अक्षता चढाउनुपर्ने नियम छ ।” सामान्यतया विवाहित नेपाली नारी धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडपर्वमा मामाघर जाने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँगै भगवतीको विभिन्न मन्दिरको बसाइसराइ चलेको हो ।
सल्यानकोटका धार्मिक तथा ऐतिहासिक महत्त्वका दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ जुन मामाघरका रूपमा प्रसिद्ध छ । मङ्सिरदेखि चैतसम्म भगवतीलाई माइतीको रूपले चिनिने बेँसीको मन्दिरमा राखिन्छ । बाँकी आठ महिना सल्यानकोटकै पश्चिम थुम्कामा रहेको मूल मन्दिरमा राखेर पूजाआजा गरिने चलन छ । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यो मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्येक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामीले यहीँ परम्परा मानेर पूजाआजा गरिरहेका छौं’, सापकोटाले बताउनुभयो ।
राना, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरासुन्दरीको मूर्तिलाई पिठ्युँमा बोकेका थिए । वर्षमा तिन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । कपाल मात्र देखिने भगवतीको प्रतिमूर्तिलाई अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा, त्यसपछि दियो, कलश, शङ्खघण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हातेसाङ्लोको घेराभित्र राखेर विशेष सुरक्षा अपनाइएको थियो । भगवतीलाई माइती फर्काइएसँगै राना, तिमिल्सिना, बसौला, सापकोटालगायतले कात्तिक–मङ्सिरमा भित्र्याइएको नयाँ धानको न्वागी खाएका छन् ।
नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले छिमेकी गोरखा राज्यबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । भगवतीको माइतीका रूपमा परिचित त्रिपुरा भगवतीको माइती रहेको मन्दिर भने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने न्वागी पर्व स्थानीय समुदायकोे माग छ ।






प्रतिक्रिया