युवाल नोआ हरारीद्वारा लिखित सेपियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमानकाइन्ड मानव जातिको सङ्क्षिप्त, तर गहिरो इतिहास हो । मानव जातिको इतिहासको गहिरो अन्वेषण गरिएको प्रस्तुत पुस्तक चार प्रमुख क्रान्तिका माध्यमबाट ‘होमो सेपिएन्स’ को यात्रा, समाज निर्माण, धर्म, पुँजीवाद, विज्ञान र भविष्यको कल्पना प्रस्तुत गर्छ ।

संज्ञानात्मक क्रान्ति
सत्तरी हजार वर्ष पहिलेको संज्ञानात्मक क्रान्तिले मानव जातिलाई सोच्न, बोल्न, कल्पना गर्न र झुटा कथाहरूमा विश्वास गर्न सक्षम बनायो । हरारीका अनुसार यिनै मिथक र विश्वासहरूले ठुलो समूहमा सहकार्य सम्भव बनायो । ‘राष्ट्र’, ‘धर्म’, ‘पैसा’ जस्ता विषयवस्तुहरूको जरा यही क्षमतामा छ ।
कृषिक्रान्ति
दश हजार वर्षअघि मानिसले खेती गर्न थाले । यसले स्थायी बस्ती, जनसङ्ख्या वृद्धि, अन्न भण्डारण, श्रमको विभाजन र सामाजिक श्रेणी ल्यायो । लेखक भन्छन्, ‘हामीले गहुँ पालेनौं, गहुँले हामीलाई पाल्यो ।’ उनले कृषिक्रान्तिलाई इतिहासको ठुलो धोका भनेका छन्, किनकि यसले मानिसलाई भौतिक सम्पत्तिमा सीमित ग¥यो, तर आत्मिक स्वतन्त्रता गुमायो ।
मानव एकता
हरारी भन्छन् – मानिस केवल जैविक प्राणी होइन, कल्पनाका माध्यमबाट एउटै उद्देश्यमा सङ्गठित हुन सक्ने जीव पनि हो । साझा भाषा, धर्म, पैसा र कानुनले लाखौँ मानिसलाई एकतामा बाँध्न सक्यो । यसले साम्राज्य, व्यापारिक मार्ग र अन्ततः वैश्वीकरणलाई सम्भव बनायो ।
वैज्ञानिक क्रान्ति
पाँच सय वर्षअघि सुरु भएको वैज्ञानिक क्रान्तिले मानिसलाई ‘हामीलाई थाहा छैन’ भन्ने स्वीकारोक्ति गर्न सिकायो । अनुसन्धान र परीक्षणका माध्यमबाट विज्ञानले अभूतपूर्व विकास गर्यो । आधुनिक युग विज्ञान, पुँजीवाद र साम्राज्यवादको त्रिकोणमा निर्मित रहेको कृतिमा उल्लेख छ ।
पुँजीवाद र आधुनिक व्यापार
हरारी पुँजीवादलाई विश्वको सबैभन्दा सफल ‘धर्म’ मान्छन् । बजार, बैंक, लगानी, व्याज तथा भविष्यको मुनाफामा आधारित विश्वासले पुँजीवादलाई वैश्विक रूपमा फैलायो । तर, उनले यस प्रणालीले असमानता, उपभोक्तावाद र पर्यावरणीय सङ्कट पनि ल्याएकामा ध्यानाकर्षण गराएका छन् ।
धर्म र नैतिकता
धर्मलाई हरारीले सामाजिक संरचना, अनुशासन र नैतिक मूल्यहरू विकास गर्ने उपकरणका रूपमा हेरेका छन् । धर्महरूले मानिसलाई ठुलो समूहमा सहकार्य गर्न सघायो । तर, कहिलेकाहीँ धर्मले युद्ध, विभेद र नियन्त्रण पनि ल्यायो । सबै धर्मलाई उनी कल्पित कथा भएको ठान्छन् ।
मानवताको भविष्य
अब हामी केवल जीव होइनौँ, ‘देवतुल्य मानव’ बन्दै छौँ भन्ने लेखकको विचार छ । कृत्रिम बुद्धिमत्ता, जैविक इन्जिनियरिङ, रोबोटिक्स र डिजिटल प्रविधिले मानवको प्राकृतिक विकासको अन्त्य गरिरहेको जनाउँदै उनले विज्ञानले शक्ति दिए पनि यसको उद्देश्य भने नरहेको धारणा राखेका छन् ।
नेपालको सन्दर्भमा पुस्तकको महत्व
नेपाली शिक्षामा आलोचनात्मक सोचको खाँचो भएकाले यस पुस्तकले सोच बदल्न सहयोग गर्छ । हरारीको मिथकको सिद्धान्तले जातीयता, धर्म र सामाजिक संरचनालाई प्रश्न गर्न उत्प्रेरित गर्छ । त्यस्तै, राष्ट्र, कानुन र नागरिकताको अवधारणा ‘कल्पित आदेश’ हुन् भन्ने दृष्टिकोण आजको नेपालमा निकै सान्दर्भिक छ । पुस्तकले विकास भौतिक हो कि मानसिक भन्ने प्रश्न गर्दै नेपालले विज्ञान र परम्पराको सन्तुलन मिलाउन उत्प्रेरित गर्छ ।
सेपिएन्स केवल इतिहासको पुस्तक होइन, यो मानव सभ्यताको गहिरो समीक्षा पनि हो । मिथक, शक्ति र विज्ञानका सन्दर्भमा मानवको असली स्वरूप प्रस्तुत गरिएको प्रस्तुत कति नेपाली पाठकका लागि ज्ञान मात्र नभई दृष्टिकोण परिवर्तन गर्ने साधन बन्न सक्छ । पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, नीति–निर्माता र इतिहासप्रेमी सबैका लागि उपयोगी छ ।
प्रतिक्रिया