साना किसान सहकारीका प्रबन्धकलाई ५९ लाख तिर्न अदालतको आदेश

  • त्रिशूली प्रवाह
  • १ असार २०८०, शुक्रबार १४:२८

धादिङबेँसी, धादिङको सुनौला बजारमा रहेको साना किसान कृषि सहकारी संस्थामा अनियमितता भएको अदालतले ठहर गरेको छ । उक्त सहकारी संस्थामा अनियमितता भएको आन्तरिक छानबिनले यसअघि नै देखाए पनि सो विषय अदालतमा पुगेपछि आमसर्वसाधारणको निक्षेप के हुने भन्नेमा लामो समयदेखि अन्योलमै थियो । तर, जिल्ला अदालतले गत हप्ता गरेको फैसलाको कारण सर्वसाधारणको रकम ठगी गर्ने व्यक्ति पहिचान भएको छ र उसैले अब सर्वसाधारणको पैसा फिर्ता गर्नुपर्नेछ ।

२०७८ असार ३० गते जिल्ला अदालत धादिङमा साना किसान कृषि सहकारी संस्था सुनौला बजारका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठसहितका १३ जनाले उक्त सहकारीकी प्रबन्धक लीलादेवी पोखरेलविरुद्ध मुद्दा दायर गरेका थिए । तत्कालीन समयमा उक्त संस्थामा भएको रकम हिनामिनाको सम्बन्धमा गठन भएको अध्यक्ष श्रेष्ठसहितको छानबिन समितिले संस्थामा ५९ लाख २३ हजार एक सय रुपैयाँ ८६ पैसा अनियमितता भएको निष्कर्ष निकालेको थियो । संस्थामा सेयर सदस्यको बचतको जिम्मा लिने काम व्यवस्थापन प्रमुख भएको र लामो समयदेखि संस्थाको प्रबन्धकमा लीलादेवी पोखरेल रहेको र उक्त अनियमिततामा पोखरेलकै हात रहेको दाबी सञ्चालक एवम् छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामो समयदेखि प्रबन्धक रहेकी पोखरेलले संस्थामा हिसाब मिलान नगरेको र आफूखुुसी रकम चलाएको देखिएको तथा उनले पनि आफूले गरेको गल्ती स्वीकार गरेको र उक्त रकम आफूले तिर्ने बताए पनि पछि पोखरेलले हिनामिना भएको पैसा नतिर्ने मनसायले मुद्दा–मामिलामा गएको अध्यक्ष श्रेष्ठले बताएका थिए । व्यवस्थापन प्रमुुखको नाताले संस्थामा आर्थिक पारदर्शिता कायम गर्ने जिम्मा उनको हो, तर त्यस विषयमा साना किसान सहकारीका प्रबन्धक पोखरेलसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनको एनसेल र एनटिसी दुवै फोन नम्बर अफ गरेर सम्पर्कविहीन भएकी थिइन् । ‘अहिले ढिलै भए पनि जिल्ला अदालतले सहकारीका पीडित सदस्यको पक्षमा फैसला गरेको छ, यसबाट सहकारीमा रहेका ६ सय ६७ सेयर सदस्य खुसी भएका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘जिल्ला अदालत धादिङका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले २१ पटकको पेसीपछि उक्त मुद्दाको फैसला गर्दै सहकारीमा कबुल गरेको रकम ५९ लाख २७ हजार एक सय ६७ रुपैयाँ १३ पैसा सहकारीमा तिर्नका लागि फैसला भएको छ । अदालतको यो फैसलापछि पोखरेलले यो रकम सहकारीमा बुझाउनुपर्छ । फैसला सहकारीका आमसेयर सदस्यको पक्षमा आएको छ ।’

संस्थामा सेयर सदस्यको बचतको जिम्मा लिने काम व्यवस्थापन प्रमुखको भएको र लामो समयदेखि संस्थाको प्रबन्धकमा लीलादेवी पोखरेल रहेको र उक्त अनियमितामा पोखरेलकै हात रहेको दाबी सञ्चालक एवम् छानबिन समितिले गरेको थियो । सोहीबमोजिम अध्यक्ष श्रेष्ठसहितको १३ सदस्यीय छानबिन समितिले प्रबन्धक पोखरेलविरुद्ध धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पोखरेलले पनि त्यतिबेला साना किसान सहकारीसँग सम्बन्धित विषयमा आफू पीडित भएको भन्दै जिल्ला अदालत धादिङमा मुद्दा हालेकी थिइन् । यता उक्त सहकारीका अध्यक्ष श्रेष्ठले भने संस्थाका प्रबन्धक पोखरेल उक्त संस्थामा २४ वर्षदेखि कार्यरत रहेको र करिब १८ वर्षदेखि उनी प्रबन्धकको रूपमा कार्यरत रहेकी भन्दै पोखरेलले संस्थामा गरेको अनियमितताको विषयमा छानबिन भएपछि आफ्नो नाममा भएको धेरै सम्पत्ति दोस्रो व्यक्तिको नाममा नामसारीसमेत गरेको दाबी गर्दै आएका छन् । माओवादी युुद्धकालमा सो साना किसान सहकारी संस्थामा आगलागी गराइएको थियो । त्यहाँ कार्यरत कर्मचारी पनि माओवादी नै भएका कारण किसानको लालपुुर्जा जम्मा गरेर आगो लगाइएको थियो । त्यसरी आगो लगाएपछि त्यहाँ भएको कागजात जलाएर लाखौँ रुपैयाँ लिएर त्यहाँ काम गर्ने केही कर्मचारी भूमिगत भएका थिए ।