धुन्चे । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब रु. दुई हजार तीन सय मिटरको उचाइमा पर्ने सो स्थानमा टेलिकमले सेवा सञ्चालन गरेको हो ।
नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित गोसाइँकुण्ड जाने तीर्थालु तथा पदयात्रीको सुविधालाई ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बिटिएस सञ्चालनमा ल्याएको जनाएको छ । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र चार हजार दुई सय मिटरमा अवस्थित गोसाइँकुण्डसम्म टेलिकमको मोबाइल नेटवर्क उपयोग गर्न सक्छन् । टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीको सुविधाका लागि फोरजी नेटवर्क विस्तार गर्न योजना अघि सारेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्छ । सो क्षेत्रमा सेवा सञ्चालनमा आएपछि दर्शनार्थी तथा पर्यटकलगायत सो क्षेत्रमा बसोबास गर्ने बासिन्दासमेत सेवाबाट लाभान्वित हुनेछन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । देशका सबै जिल्लामा टेलिफोन सेवाको पहुँच पुगेको छ ।
प्रतिक्रिया