+
Search

ताजा अपडेट +

पपुलर +

कपिलेश्वरमा नाट्यकर्मी ‘अभिलाषी’ को सालिक स्थापना

कपिलेश्वरमा नाट्यकर्मी ‘अभिलाषी’ को सालिक स्थापना
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

कविलास । कपिलेश्वरधाम परिसरमा नाट्यकर्मी एवम् नाटक लेखक निर्देशक जितेन्द्र महत ‘अभिलाषी’ को पूर्णकदको सालिक गत हप्ता स्थापना भएको छ । गत आव २०८१/०८२ मा सङ्घीय सरकार, पर्यटन मन्त्रालयबाट विनियोजित बजेट पञ्चकन्या गाउँपालिकाबाट कार्यान्वयन र कपिलेश्वर महादेवस्थानपरिसर संरक्षण तथा उपभोक्ता समितिको सक्रियतामा साउन ११ गते सालिक निर्माण सम्पन्न भएको हो । नाट्यकर्मी अभिलाषीको जन्मथलो नुवाकोट, पञ्चकन्या-२, कविलास पाठकथोकस्थित कविलासस्थित नाट्यश्वरीमै स्थापित सालिकको औपचारिक उद्घाटन बाँकी रहेको समितिका अध्यक्ष लोकेन्द्र महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले अभिलाषीको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्ने अवसर प्रदान गर्नेछ ।’ राष्ट्रका लागि समर्पित एक अथक स्रष्टाको सालिक उहाँकै जन्मस्थलमा स्थापना गर्नु वास्तवमै एक अत्यन्त प्रशंसनीय र प्रेरणादायी काम भएको पर्यटन व्यवसायी एवम् अभिलाषीका भाइ दीपक महतले बताउनुभयो ।

सङ्घीय सरकारका पूर्वमन्त्री हितबहादुर तामाङको पहलमा विनियोजित बजेटबाट अभिलाषीको सालिक निर्माण गरिएको हो । यो केवल सालिक मात्र नभई एक युगको प्रतिनिधित्व गर्ने, मौनतामा गहिरो सन्देश बोल्ने, प्रेरणाको स्रोत, भावी पुस्तालाई मार्गदर्शन, प्रेरणा र राष्ट्रप्रेमको पाठ सिकाउने अमर प्रतीकका रूपमा स्थापना भएको पालिका अध्यक्ष रमेश लामाले बताउनुभयो ।  त्यो एक युगीन कालखण्ड थियो, जब देश भरका चलचित्रघरमा हिन्दी चलचित्रको मात्र एकछत्र वर्चस्व थियो । नेपाली कला र मनोरञ्जन भने कल्पनाको सीमित संसारमा बन्दी थियो । त्यस्तो समयमा मेचीदेखि महाकालीसम्म फैलिएको नेपाली जनताका लागि रेडियो नेपाल नै सस्तो, सुलभ र जीवन्त मनोरञ्जनको एक मात्र स्रोत बनिरहेको थियो । यस्तै सांस्कृतिक र सीमित सम्भावनाबिच, नुवाकोटको पवित्र माटाले हालको पञ्चकन्या-२, कविलासस्थित नाट्येश्वरीको फेदी पाठकथोकमा पूर्णबहादुर महत र लक्ष्मीकुमारी महतको दोस्रो सन्तानका रूपमा विसं २००० भदौ १७ गते जन्मी काठमाडौँमा २०६१ असोज ११ गते निधन भएको थियो । उहाँले रेडियो, रङ्गमञ्च र नेपाली नाट्यकलामार्फत जुन गहिरो योगदान दिनुभयो, त्यो नेपाली कला, साहित्य र रङ्ग संस्कृतिको इतिहासमा स्वर्ण अक्षरमा रहिरहनेछ । उहाँको यिनै योगदानको उच्च कदरस्वरूप नेपाल सरकारद्वारा उहाँका सम्झनामा नुवाकोटको हालको पञ्चकन्या-२, कविलास, नाट्येश्वरीको फेदी, पाठकथोकमा सालिक स्थापना गरी औपचारिक सम्मान प्रकट गरिएको छ ।  रेडियो नेपालबाट बज्ने मधुर गीत र विशेषतः हरेक शनिबार अपराह्न १ः३० बजे प्रसारण हुने आधाघण्टे रेडियो नाटकले आमनेपालीको हृदयमा गहिरो छाप छाड्ने गथ्र्यो । ती नाटक यति मन छुने हुन्थे कि सम्पूर्ण देशभरका मनोरञ्जनप्रेमी शनिबारको त्यस क्षणलाई विशेष प्रतीक्षा गर्थे । त्यही बहुप्रतीक्षित रेडियो नाटकका लेखक, निर्देशक र प्रमुख अभिनय प्रस्तोतामा धेरैजसो अभिलाषी नै हुनुहुन्थ्यो । उहाँको स्वर, अभिनयशैली र प्रस्तुतिले श्रोताको मन मात्र जित्दैनथ्यो, त्यस घडीलाई जीवन्त बनाइदिन्थ्यो । उहाँका सिर्जनामा जीवनका यथार्थ झल्किन्थे । समाजको अनुहार र भोगाइ शब्द र अभिनय कलामार्फत सजीव भएर प्रस्फुटन हुन्थे । उहाँको मार्गदर्शनमा कलायात्राको सुरुवात गरेका धेरै कलाकार आजको नेपाली कला क्षेत्रमा मात्र जमेका छैनन्, कलाकारिताको शिखरमै उभिएर नयाँ पुस्ताका लागि स्वयम् प्रेरणाको ज्वलन्त स्रोत बनिरहेका छन् । उहाँका शिष्यमा वरिष्ठ कलाकार हरिहर शर्मा, शकुन्तला शर्मा, हरिवंश आचार्य, किरण केसी, सुरवीर पण्डित, मुकुन्द मैनालीलगायत आजका सम्मानित अन्य धेरै अगुवा कलाकार हुनुहुन्छ । उहाँहरू सबैले अभिलाषीलाई आफ्नो जीवनको पहिलो कलागुरु मन्नुभएको छ् र गर्वपूर्वक स्वीकार गर्नुहुन्छ कि उहाँकै शिक्षाले उहाँहरूको जीवनमा नयाँ आयाम खोलिदिएको हो । आजको नेपाली सिने संसारको गतिशीलता, मौलिकता र प्रेरणाको मूल स्रोत भनेकै नेपाली नाट्य क्षेत्र हो । सोही नाट्य परम्पराबाट उदाउनुभएका अभिलाषीले आफ्नो जीवनको पछिल्लो चरणमा नेपाली चलचित्रमा समेत प्रभावशाली अभिनय प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह