विदुर । बागमती प्रदेश सरकारअन्तर्गत नुवाकोटमा रहेको पूर्वाधार विकास कार्यालयले आव.२०८१/०८२ मा झण्डै ९० प्रतिशत भौतिक प्रगति गरेको छ ।
गत वर्षको लागि विनियोजित भएको कूल बजेट रू.दुई अर्ब आठ करोड २० लाखमध्ये रू.एक अर्ब ८५ करोड ४० लाख खर्च गरेको कार्यालयले बित्तीय प्रगति ८९ दशमलव पाँच प्रतिशत हासिल गरेको छ । गत आर्थिक वर्षमा बजेट विनियोजन भएका एक सय ५९ सडक योजनामध्ये एक सय ३४ निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका योजनामा एक सय १८ उपभोक्ता समितिमार्फत र १८ ठेक्कामार्फत भएको जानकारी कार्यालयका सूचना अधिकारी रोशन पाठकले दिनुभयो । गत वर्ष २८ बहुवर्षिय योजनामध्ये पाँच वटा सम्पन्न भई २३ वटा निर्माणाधीन रहेको समेत उहाँले बताउनुभयो ।
प्रादेशिक सडक गुरूयोजनामा रहेका चारवटा सडकको स्तरोन्नती गत आवमा सम्पन्न भई २० दशमलव ४४ किमि कालोपत्रेस्तरमा, चार दशमलव शुन्य दुई किमि ढलानस्तरमा र छ दशमलव पाँच किमि ग्राभेल स्तरोन्नती भएको छ । २३ वटा सडकका बहुवर्षि योजना र १० वटा सडकका पूलका बहुवर्षिय योजना निर्माणाधीन अवस्था रहेको कार्यालयले जानकारी दिएको छ । सडक मर्मत सम्भारमा गत आवमा ७३ दशमलव ५० प्रतिशत लक्ष्य रहेकोमा शत प्रतिशत प्रगति हासिल भएको छ ।
प्रतिक्रिया