चेपाङमार्गको पुल शिलान्यास

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १५:५०
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, मलेखु-भण्डारा सडक (चेपाङमार्ग)को तुदी खोलामा बन्ने मोटरेबल पुलको गत साता शिलान्यास भएको छ । ०४६ को बहुदल आएपछि ०५० सालबाट धादिङतर्फको मलेखुबाट खन्न सुरु गरिएको यो सडकको ट्र्याक खन्ने काम गत वर्ष सम्पन्न भएको थियो । यो सडकमा ग्राभेल गरेर सवारीसाधन हिउँदमा सञ्चालन भइरहेको छ । सरकारको कामका लागि खाद्यान्न कार्यक्रमबाट सुरु गरिएको यो सडकमा ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रमअन्तर्गत तीन लाख रुपैयाँले निर्माणको काम अगाडि बढेको थियो ।

सडक सुरु गर्ने ठाउँका मानिससँग चामल आफ्नो उत्पादनबाट पर्याप्त नहुने भएकाले कामका लागि नगदमा परिणत गर्दा एक लाख रुपैयाँ ल्याएर वितरण गरेको थियो । एक सय क्विन्टल चामलबाट सुरु गरिएको सडक अहिले चेपाङमार्गका रूपमा इतिहास बोकेको छ । तत्कालीन जिल्ला विकास सदस्य चूडामणि कँडेलले बताए । यस सडक निर्माण गर्न पहिलो कम्युनिस्ट प्राधानमन्त्री मनमोहन अधिकारीले अघि सारेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भनेर पठाएको तीन लाखबाट सुरु भएको थियो । त्यसपछि जिल्ला विकास समिति, नेपाल सरकार र विश्व बैंकको समेत लगानीमा निर्माण निरन्तर अगाडि बढिरह्यो । अहिले बागमती प्रदेश सरकारको बजेटबाट पुल बन्दै गरेको कँडेलले बताए । गजुरी गाउँपालिका-२ को तुदी खोलामा पक्की मोटरेबल पुल शिलान्यास गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पुल निर्माण सम्पन्नपश्चात् यस भेगका मानिसले पृथ्वी राजमार्गसँग सहज पहुँच राख्नेछन् । अब ताल्तीस्थित मलेखु खोलामा मोटरेबल पुल बनाएपछि भण्डारासम्म सहज आवत-जावत हुन्छ । यो सडक अन्तर्राष्ट्रिय सडक बन्दै छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा ठोरी-कान्द्राङगढी गल्छी-केरुङ सडकको स्तरोन्नति गरिने पूर्वमुख्यमन्त्री पाण्डेले बताए । बागमती प्रदेश सरकारले आ.व. ०७९/८० मा पुल निर्माण गर्न विनियोजन गरेको बजेटबाट भद्रकाली निर्माण सेवाले चार करोड ४४ लाख ९६ हजार तीन सय ८३ रुपैयाँमा ०८१ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण सुरु गरिसकेको छ ।

मलेखुदेखि भण्डारासम्मको सडक स्तरोन्नतिका लागि विश्व बैंकले विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको छ । मलेखु–कान्द्राङगढी २३ किलोमिटर र कान्द्राङगढीदेखि भण्डारा ४६ किलोमिटर गरी ६९ किलोमिटर रहेको छ । यदि विश्व बैंकले यो सडक स्तरोन्नतिमा काम ग¥यो भने मलेखुबाट सुरुङ बनाउनेछ र १६ किलोमिटर दूरी घटी मलेखु-भण्डारा ५३ किलोमिटर रहनेछ । यस क्षेत्रमा गरिबीसँग लडिरहेका चेपाङलगायका जातिको आर्थिक समृद्धिमा कोसेढुङ्गा साबित हुनेछ ।