आर्थिक मन्दीको प्रत्यक्ष असर सुनचाँदी कला व्यवसायमा

  • त्रिशूली प्रवाह
  • १५ भाद्र २०८०, शुक्रबार ११:१३

धादिङ, पछिल्लो समय सुनचाँदीको व्यवसायमा लगानी गर्ने र कालिगढ समस्यामा परेका छन् । कोभिड-१९ को असर नेपालमा भर्खर देखापर्न थालेको छ । यो अवस्थालाई समयमै व्यवस्थापन गर्न नसके सुनचाँदी व्यवसायी र कालिगढ सङ्कटमा पर्ने नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ धादिङका नवनिर्वाचित अध्यक्ष रमेश गुरुङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

आर्थिक मन्दीले प्रायः सबै क्षेत्रको व्यवसाय अपेक्षित सुधार हुन सकेको छैन । बजारका सटर दिनानुदिन खाली हुन थालेको छ । यसको सङ्केत राम्रो होइन । सरकारले बैंक ब्याज घटाएर नगद कारोबारको क्षेत्रमा अर्थात् तत्काल मुनाफा कमाउने क्षेत्रमा मात्र लगानी गर्ने वातावरण नमिलाए सबै व्यवसायी आर्थिक सङ्कटमा पर्ने अध्यक्ष गुरुङले बताए । अहिले धादिङको सुनको कोटा घटेको छ । एक महिनाका लागि चार केजी मात्र सुन धादिङको भागमा पर्छ । हामी एक सय नौजना व्यवसायी छौँ । सुन माग लगाउन कठिन छ । बल्ल-तल्ल सुन किन्छन् व्यवसायीले, पसलबाट बिक्दैन । सुन नबिक्दा सुन व्यवसायी मात्र प्रभावित हुने होइन । सुन व्यवसायीमा आश्रित परिवार, कालिगढ र उसका आश्रित परिवारै सङ्कटमा पर्ने अध्यक्ष गुरुङले बताए । नेपाल सुनचाँदी कला व्यवसायी महासङ्घका अध्यक्ष घनश्याम रिजालले शनिबार उद्घाटन गरेको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा नीरबहादुर विश्वकर्मा, सचिवमा बाबुराम रसाइली र कोषाध्यक्षमा गणेश बराइली चयन भएका छन् । त्यसैगरी, सदस्यमा कुलबहादुर विश्वकर्मा, अशोक सुनार, विकेन्द्र सुनार, कुलबहादुर सुनार, सीताराम सुनार, डिलबहादुर विश्वकर्मा र जीवन सुनार चयन भएका छन् । नयाँ कार्यसमितिको बैठकले सन्दीप बराइलीलाई सदस्यमा मनोनीतसमेत गरेको छ ।

जिल्लामा एक सय नौजनाले सुनचाँदी व्यवसायीको ४० करोडभन्दा बढी लगानी रहेको छ । करिब दुई सयजना कालिगढलाई प्रत्यक्ष रोजगारी दिएको छ । कालिगढका आश्रित परिवार करिब आठ सय र सुनचाँदी व्यवसायीका आश्रित परिवार करिब पाँच सय गरी करिब एक हजार तीन सयजना सङ्कटमा पर्ने अवस्थामा रहेको सचिव बाबुराम रसाइलीले बताए । धादिङमा सहज अवस्थामा मासिक आठ केजी सुनको व्यापार हुन्थ्यो । अहिले ५० प्रतिशतबाट तल खस्दै गरेको नेपाल सुनचाँदी कला व्यवसायी महासङ्घका उपाध्यक्ष सीताराम बराइलीले बताए । पहिला सुन उपभोक्ताको बाक्लो आगमन हुन्थ्यो । आएकामध्ये ५० प्रतिशत उपभोक्तालाई मात्र सामान बेच्न सके पनि राम्रै व्यापार हुन्थ्यो । अहिले त बाटो हिँडेका मानिस पसल पस्छन् कि भन्दै हेरिरहनुपर्ने अवस्था आयो । कुनै दिन त सटर खोल्ने र बन्द गर्ने मात्रै काम भयो भनेर व्यवसायी साथी सुनाउँछन् । कालिगढले सुन पाए त बनाउने हो, सुन नपाए के बनाउनु । सुनको व्यापार घटेसँगै कालिगढ विदेश पलायन हुने सम्भावना देख्छु । उनीहरू मासिक तलबमा हुँदैनन् । प्रतिशत, गोटा गन्तीमा काम गर्ने पहिलेको तुलनामा अहिले एकतिहाइ कमाइमा खुम्चेका छन् । यता व्यवसायी घरभाडा, साहु तथा बैंकको ब्याज र दैनिक भान्छा चलाउनसमेत हम्मे-हम्मे पर्न थालेको उपाध्यक्ष बराइलीले बताए ।