अटो चलाएर गीताको मासिक चालीस हजार कमाइ

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार ११:५१
  • राजेन्द्र बस्नेत

धार्के (धादिङ), नसिकाउन मलाई जिन्दगी जिउन, तिमी पैसाका लागि जिउँछौ, म जिउँछु खुसी रहनका लागि । यो भनाइ गीताले चलाउने अटोरिक्साको पछाडि लेखिएको छ । सामान्यतया महिलाले गर्ने काम छोराछोरीलाई खाना खुवाउने, स्कुल पठाउने, मेलापात, अर्मपर्म नै हुन् । अझ भनौँ महिलाले नगद आर्जनको काम गरे पनि नगद हात पार्न पाउँदैनन् । तर, धुनीबेँसी नगरपालिका–५ अमलेचौकीकी गीता तामाङ गुरुङ भने छिनछिनमा नगद हात लाग्ने काम गरिरहेकी छिन् । उनी अटोरिक्सा चलाउँछिन् । प्रतिकिलोमिटर एक सय रुपैयाँ लिन्छिन् । दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ घर लान सक्दा गीता निकै खुसी छिन् । यात्रुले सहासी महिला हौ तिमी, राम्रो गर भनेर हौसला प्रदान गर्दा गीता अझ खुसी हुन्छिन् । गीता भन्छिन्, ‘मलाई सबैले हौसला, माया र सेवा गर्ने अवसर दिनुभएको छ, म यसैमा खुसी छु, पैसा कमाएर खसी हुनुभन्दा अरूको माया, हौसला, पे्ररणा र स्याबासीले नै मन आनन्द हुँदोरहेछ ।’

तीन वर्षअघि धुनीबेँसी नगरपालिकाले महिलालाई स्वरोजगार बनाउने भन्दै अटोरिक्सा चलाउने तालिम सञ्चालन गर्ने सूचना पाएँ । अटो सिक्न निवेदन दिएँ । ७२ जना महिला दिदीबहिनीले तालिम लियौँ । अब यी सबैले अटो चलाए भने के कमाइ होला र जस्तो लागेको थियो । तालिम सकिएको केही समयपछि अटो किनेँ । अटो पहिलो टिप नै धार्केदेखि सिम्लेसम्मको पाएँ । त्यो पनि पुरुष यात्रु । एक हजार भाडा तोकेर गएँ । ठूला–ठूला गाडी अघि–पछि, दायाँ–बायाँ गुडिरहेका थिए । अरू गाडीका यात्रु र सडकछेउमा उभिएका मानिस मलाई हेरिरहेका हुन्थे । म आफ्नै गतिमा सफलतापूर्वक सिम्ले पुगेँ । मेरो अटोमा यात्रा गरिरहेका यात्रु ओरालेँ । उहाँहरूले एक हजार र धन्यवाद दिनुभयो । म फर्केर धार्के आएँ । धार्केबाट नुवाकोटको डाँडागाउँ करिब १८ किलोमिटरसम्म गएकी छु । त्यो पछि ग्रामीण सडक । त्यतिबेला तीन हजार पाँच सय भाडा दिनुभएको थियो । म मेरो घरदेखि ३६ किलोमिटर अटो चलाएर माइती गएकी छु । त्यतिबेला मेरो आमाबा र माइती निकै साहसी छोरी भनेर खुसी हुनुभएको क्षण कहिले भुल्दिनँ । पहिलो अटो नयाँमा तीन लाख ५० हजारमा किनेको हो । त्यसको कमाइबाट अर्को अटो किनेर श्रीमान्लाई पनि चलाउन लगाएँ । कमाइ अझ थपियो । दुवैजनाले कमाइ गर्ने हुँदा एक–अर्कामा अझ बढी माया, विश्वास थपिँदोरहेछ । हामीले निकै राम्रो कमाइ गरिरहेका छौँ । अहिले एउटा बेचेका छौँ । अब अलि ठूलो गाडी किनेर चलाउने सोचमा हुनुहुन्छ, श्रीमान्,’ गीताले भनिन्, ‘म त सकुन्जेल अटो नै चलाउँछु । यसले मलाई चिनाएको छ । अहिले धार्केमा १३ वटा अटो सञ्चालनमा छन् । यात्रुको आँखा ममा नै पर्छ । महिला भएर नै माया गरेर होला । हामीलाई लग्दिनुस् भनेर आउनुहुन्छ । सबैभन्दा राम्रो कमाइ मेरै छ । यात्रुले गरेको मायाले पनि म पेसा छोड्न सक्दिनँ । यात्रुले अप्ठ्यारो बाटोमा अटो ठेल्नुहुन्छ । पहिलोपटक अटो चढ्ने र महिलाले चलाएकोमा विश्वास नगरेर डराउनुहुनेलाई नडराउन अनुरोध गर्छु । मैल चलाएको विश्वास गर्नु राम्रो चलाउँछु । बाटो अप्ठ्यारो लागेमा तपाईंलाई ओराल्छु नि भन्छु । एकपटक चढेका त फोन गरेर नै बोलाउनुहुन्छ । अहिले राम्रो चलेको छ । चाडपर्व नपरेको महिनामा पनि ४० हजार कमाइ गर्छु । चाडपर्व भएको बेलामा त दैनिक १०–१२ हजारसम्म कमाइ गरेकी छु ।’

वडाध्यक्ष विशाल भट्टराई पनि गीताको काम देखेर खुसी छन् । धुनीबेँसी नगरपालिकाले ७२ जनालाई तालिम दिएकोमा गीता एकजना मात्र सीपलाई व्यवहारमा उतार्ने साहसी महिला हुन् । ‘म त्यतिबेला वडाध्यक्ष त थिइनँ । अहिले वडाध्यक्ष छु । उहाँको कामलाई कसरी सम्मान गर्ने सोचिरहेको छु । ता की अरू बाँकी ७१ जना पनि अटो लिएर सडकमा आउन्,’ वडाध्यक्ष भट्टराईले भने । गीताको श्रीमान श्याम गुरुङ दुई वर्ष वैदेशिक रोजगारीमा गएर आएका हुन् । विदेशबाट फर्केर आरसिसी गरेर १० कोठे घर बनाए । त्यसपछि उनले फर्निचरमा काम गरे । एक्लैको कमाइले खर्च पु¥याउन कठिन नै थियो । जब श्रीमती गीता अटो चलाउने तालिममा गइन् । उनमा आशा पलायो कि अब श्रीमतीले पनि कमाइ गर्ने र हाम्रो आर्थिक अवस्था मजबुत हुन्छ । ‘श्रीमतीले एकमहिने तालिमपछि अटो किन्न भनिन् । अटो किन्यौँ । अहिले उनलाई फुर्सद छैन । छोरी खाना पकाएर खाएर स्कुल जान्छिन् । हामीलाई पनि खाना राखिदिएकी हुन्छिन् । बेलुका समय पनि खान बनाउन गीताले त भ्याउँदिनन्,’ श्यामले भने । जिल्लाको विभिन्न स्थानमा एक सय ५० वटाको हाराहारीमा अटो सञ्चालनमा भए पनि महिला चालक गीता मात्र हुन् ।