सौन्दर्यकला व्यवसायमा चार करोड लगानी

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:३५
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, ‘राम्रो लगाउनुभन्दा मिठो खान जाती’ भन्ने शीर्षकमा विद्यार्थी पक्ष र विपक्षमा वादविवाद गराइन्थो । अहिले समाजमा यही चलिरहेको छ । खाना घरभित्र खाने हो । जस्तो खाए पनि अरूले देख्दैन । घरबाहिर निस्कँदा आकर्षक भएर निस्कनुपर्छ भन्ने भित्री प्रतिस्पर्धा नेपाली समाज चलेको छ । अहिले सामाजिक कार्य होस् या घुमफिर राम्रो भएर जानुपर्छ भन्ने मान्यताको विकास भएको छ । अझ सामाजिक सञ्जालको दुनियाँ पछिल्लोपटक टिकटकले धेरैलाई आकर्षित गरेको छ । टिकटकमा भिडियो राख्नकै लागि अरूका सामु राम्रो देखिन अधिकांश राम्रो हुन चाहन्छन् ।

कम आकर्षकलाई पनि आकर्षक बनाउन सौन्दर्यकर्मी लागिपरेका छन् । उनीहरूले आफ्नो जीविकोपार्जनको मुख्य आधार नै सौन्दर्यकला बनाएका छन् । यसरी सौन्दर्य कलालाई व्यवसायकै रूपमा सञ्चालन गर्न भक्तपुर नगरपालिका-३ बाट १८ वर्षअघि धादिङमा आएर कौशिका ब्युटिपार्लर सञ्चालन गर्दै आएकी छिन् राधिका डङ्गोल । धादिङबेँसीको सुगम टोलमा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी डङ्गोल भन्छिन्, ‘पहिला ब्युटिपार्लर छिर्न हुन्न भन्ने पनि अहिले आउन थालेका छन् ।’ यो समयको माग हो । सँगैकी साथी राम्री भएर हिँडेपछि आफूलाई पनि मन लाग्छ । अहिले पार्लरमा गाउँ-गाउँबाट आउने महिलाको सङ्ख्या बढिरहेको छ । ब्युटी हुन त्यति धेरै पैसा पनि लाग्दैन, एक हजार रुपैयाँ खर्च ग¥यो भने आकर्षक भइन्छ । त्यही भएर पनि युवायुवती, बुढाबुढी फुर्सदै निकालेर पार्लर धाउँछन् । त्योभन्दा बढी आकर्षक बन्न पनि पाइन्छ । ब्युटिपार्लर हरेकका लागि अनिवार्यजस्तै भइसकेकाले आफूसँग खर्च गर्ने क्षमता कस्तो छ त्यही किसिमको आकर्षक बन्न पाइने भएकाले पनि यसको महत्व बढ्दो छ । कम लगानीमा पनि गर्न सकिने ब्युटिपार्लरमा संलग्न पेसाकर्मीको पनि टोल, समाजमा राम्रै इज्जत छ । तीन महिना सिकेपछि तुरुन्त रोजगार भइने भएकाले आजभोलि धेरै ब्युटिपार्लर खुलेकाले महिलालाई कमाउनुपर्छ र साथै रमाउनुपर्छ भन्ने सिकाएको कौशिका ब्युटिपार्लरकी सञ्चालक डङ्गोलले बताइन् ।

जिल्लामा एक सयभन्दा बढी सङ्ख्यामा ब्युटिपार्लर सञ्चालनमा रहेका छन् । सामान्य किसिमले सञ्चालन गर्दा पनि दुई लाख लागनी आवश्यक पर्ने यो व्यवसायमा चार करोडभन्दा बढी लगानी रहेको धादिङ उद्योग वाणिज्य सङ्घकी पूर्वसदस्य कल्पना अधिकारीले बताइन् । यसबाट एक सय ५० का हाराहारीमा रोजगारी मिलेको र केही धेरै लगानी गरेका पसलमा २० लाखसम्म रहेकोसमेत उनको दाबी छ । उनीहरूले दुई–तीनजनालाई रोजगारी पनि दिएका छन् भन्छिन् सौन्दर्य कला व्यवसायी धादिङकी सचिव सावित्री श्रेष्ठ । ‘मैले सञ्चालन गरेको स्प्लेन्डर मेकअप स्टुडियो एन्ड ब्युटी एकेडेमीमा १२ लाख लगानी गरेर दुईजनालाई रोजगारी दिएकी छु,’ उनले भनिन् । यसरी १० लाखभन्दा बढी लगानी गर्नेले काम गर्ने मानिस राखेका छन् । ब्युटिपार्लरलाई समाजले सामान्य ठानेको भए पनि अब महिलाको सौन्दर्य हुन वा आकर्षक देखिनु जीवनशैली भएको छ । सहरमा बस्नेका लागि भन्दा पनि ग्रामीण भेगमा बस्ने महिलाका लागि ब्युटिपार्लर आवश्यक बन्दै गएको छ । गाउँघरका दिदीबहिनीले घामपानीमा काम गरेका हुन्छन् । अनुहार घामले डढेको हुन्छ । सहरबजारमा बस्ने महिलाले घामपानी कम खेलेका हुन्छ । आखिर सबैलाई राम्रै हुन मन लाग्छ । राम्री बन्ने बनेको मेकअप गरेर हो । आफैँले गर्दा सामान्य किसिमको देखिन्छन् । अझै आकर्षक बन्न त ब्युटिपार्लर जानैपर्छ ।

अहिले ब्युटिपार्लर प्रतिस्पर्धी व्यवसायको रूपमा रहेको छ । हरेक टोल, बजारमा चार-पाँचवटा पार्लर खुलेका छन् । उपभोक्ताले छानी-छानी आफ्नो आम्दानीअनुसारको मेकअप गर्छन् । व्यवसायीले प्रयोग गरेको मेकअपका सामग्री र लागेको समय तथा श्रमअनुसार मूल्य निर्धारण गर्छन् । अहिले सामान्य आकर्षक बन्न ठाउँअनुसार एक हजारदेखि एक हजार पाँच सय रुपैयाँ न्यूनतम शूल्क तिर्नुपर्ने अवस्था रहेको छ । पार्लरमै आएर शृङ्गार गर्दा पाँच हजारसम्म लाग्छ । ब्युटिपार्लरको पछिल्लो समस्या भनेको सानो र प्रतिस्पर्धी बजार, एक किसिमका सेवाग्राही हुनु हो । कोभिडले सबैभन्दा थला पारेको व्यवसाय भनेको ब्युटिपार्लर भएकाले अझै पनि लयमा आउन सकेको छैन । अझ यो पछिल्लो आर्थिक मन्दीले कमाइ घटेको छ । चार-पाँच लाख लगानी गरेर सुरु गरेको अरू व्यवसायीले ४०-५० हजार रुपैयाँ कमाउन पनि मुस्किल भइरहेको छ । त्यही भएर पछिल्लो समय धेरैको रोजाइमा ब्युटिपार्लर परेको सचिव श्रेष्ठले बताइन् । उनले भनिन्, ‘सौन्दर्यकला व्यवसायी सङ्घमा सबै व्यवसायीलाई समेट्न सकिएको छैन ।’ अहिले गाउँगाउँमा ब्युटिपार्लर खोलिएको छ । सबै पार्लर दर्ता भए-नभएको पनि जानकारी छैन । सङ्घलाई व्यवस्थित बनाउन सदस्य विस्तार गर्ने योजना बनाएको उनले बताइन् । ‘साझा समस्यामा लड्नका लागि सङ्घ आवश्यक पर्छ । त्यसैले हामी यो व्यवसायलाई व्यवस्थित, मर्यादित, सङ्गठित बनाउन खोजिरहेका छौँ,’ उनले भनिन् ।