ब्याडे राँगो पालेरै वार्षिक दुई लाख कमाउनेको कथा

  • त्रिशूली प्रवाह
  • ११ आश्विन २०८०, बिहीबार ११:५४
  • राजेन्द्र बस्नेत

गजुरी (धादिङबेँसी), गाउँघरमा युवा पलायन हुन थालेपछि कृषि कर्म गर्नेको सङ्ख्या घट्दै गएको छ । युवाको सङ्ख्या घटे पनि गाउँघरमा जेनतेन खेतीपाती बाँझो नराखी पशुपालनलाई निरन्तरता दिइरहेका छन् वृद्ध बा-आमाले । बिहान भुइँमा उज्यालो धर्तीमा खस्न नपाउँदै गोठबाट राँगोलाई दाना, पानी खुवाएर फुकाएर हिँड्छन् बलराम । उनको न खानको समय छ न घरको काम छ । उनको मुख्य काम भनेको ब्याडे राँगो डुलाएर हिँड्ने हो । गजुरी गाउँपालिका–७ श्यामैडाँडाका बलराम विश्वकर्मा विगत २५ वर्ष अघिदेखि ब्याडे राँगो पालेर हजारौँ भैँसीलाई प्राकृतिक गर्भधान गराउनै तल्लीन छन् । बलरामले असारदेखि असोजसम्म फुर्सद पाउँदैनन् । वार्षिक एक सय ३० वटा भैँसीलाई ब्याडे राँगोबाट प्राकृतिक गर्भधान गराएर दुई लाख कमाइ गर्ने बलरामले गाउँमा भैँसीपालन प्रवद्र्धनमा सहयोग गरिरहेका छन् ।

गजुरी गाउँपालिका–६ गडुवालमा राँगो लिएर जाँदै थिए । उनलाई भैँसीधनीले फोन गरेर राँगो ल्याएको कि नल्याएको भनेर बुझ्न फोन गरेका रहेछन् । बलराम भन्दै थिए, ‘म राँगो लिएर बीचबाटोमा आइसकेँ । भैँसी सार्नुस् । हतार छ, अर्को ठाउँमा पनि राँगो लानु छ । सञ्चार सेवाले मलाई र भैँसीपालक किसान दुवैलाई सजिलो भएको छ । भैँसीधनी आउन पर्दैन । फोन गर्छन्, म नै राँगो लिएर जान्छु । जताततै सडक खनेका छन् । राँगो हिँडाउन सजिलो छ । पहिला दुईजना चाहिन्थ्यो राँगो लान । राँगो गोठमा आइपुग्छ कि आइपुग्दैन भन्नेमा घरमा बस्नेलाई चिन्ता हुन्थ्यो ।’ सबै कुराको सुविधा भए पनि भैँसी पाल्नेको सङ्ख्या घटेको छ । पहिला–पहिला दुई सय ५० वटासम्म भैँसीलाई राँगो लानुपथ्र्यो । अहिले मुस्किलले एक सय ३० वटाको हाराहारीमा भैँसीलाई राँगो लगाउने गरेको बलरामले बताए ।

२६ वर्षदेखि ब्याडे राँगो पाल्दै आएका गजुरी गाउँपालिका–८ ढुङ्गाना कटुञ्जेका बद्री ढुङ्गाना तीन सय ५० भैँसीलाई राँगोबाट प्राकृतिक गर्भधान गराएको बताउँछन् । ‘२६ वर्षअघि ब्याडे राँगोबाट भैँसीलाई गर्भाधान गराएको एक सय रुपैयाँ थियो । त्यो पैसा पनि महँगो भयो भन्नुहुन्थ्यो । अहिले ब्याडे राँगोबाट भैँसीलाई कृत्रिम गर्भधान गराएबापत एक हजार पाँच सयदेखि दुई हजारसम्म लिन्छौँ ।’ उनले एक वर्षमा दुई लाखसम्म कमाइ हुने बताए । ‘अहिले राँगो पाल्ने थपिए । भैँसी पाल्ने किसान घटे । पहिला दुई–तीनवटा भैँसी पाल्ने किसानकोमा अहिले एउटा मात्रै छ । कैयाँैले त भैँसी पाल्नै छाडे । मानिस सौखिन भए ।’ नयाँ पुस्ता घर नबस्ने, रोजगारी र पढ्नका लागि सहर–बजार बस्ने भएकाले पनि भैँसीको सङ्ख्या घटेको बद्रीले बताए । राँगोलाई पिठो खुवाउँछन् । ‘कहिले–काहीँ एउटै भैँसीलाई दुई–तीनपटकसम्म राँगो लगानुपर्ने हुन्छ । त्यस्तो अवस्था हामी दोहोरो पैसा लिँदैनौँ,’ बद्रीले भने, ‘भैँसीले राँगो खोज्ला भनेर किसानले पैसा राखेको हुन्न । कसैकसैले त राँगो लगेकै दिन पैसा दिन्छन् । कतिले त भैँसी ब्याएपछि दिन्छन् । माग्दा–माग्दा हैरान हुनुपर्छ । हेर्दा यति कमायो भन्छन् । लगानी र मिहिनेत हिसाब गर्दैनन् । हामीले सेवाकै हिसाबले हेरेका छौँ । एक दिनभरि काम ग¥यो भने पनि एक हजार ज्याला पाइन्छ । हामीले त राँगोमा लगानी हेरेका पनि छौँ । अहिले राँगो किन्न ७०–८० हजार रुपैयाँ पर्छ ।’

हामी ब्याडे राँगो पाल्ने किसानलाई स्थानीय सरकारले राँगो किन्न अनुदान वा प्रोत्साहनस्वरूप केही दिएको छैन । ब्याडे राँगो पालेर हामीले पनि सरकारलाई केही त योग्दान पु¥याएका छौँ भन्छन् राँगोपालक किसान । गजुरी गाउँपालिकामा गाई, भैँसी पाल्ने किसान घट्दै गएको पशु सेवा शाखा प्रमुख डाक्टर अस्मिन खुलालले बताए । गाई, भैँसीमा कृत्रिम गर्भधान गराउनुपर्छ भन्ने किसानलाई ज्ञान दिन सकिएको छैन या किसानलाई कृत्रिम गर्भधानमा विश्वास छैन । मासिक २५–३० वटा गाई, भैँसीमा कृत्रिम गर्भधान गराउँदै आएको डा. खुलालले बताए ।