दोेहोरो करको मारमा व्यवसायी

  • त्रिशूली प्रवाह
  • ११ आश्विन २०८०, बिहीबार ११:५७
  • राजेन्द्र बस्नेत

गल्छी (धादिङबेँसी), नेपाली युवा ६० लाख विदेशमा छन् । बुबा, आमा मर्दा दाहसंस्कार गर्नुपर्नेमा लास नकुहियोस् भनेर आइसबक्समा राख्नुपर्ने अवस्था आएको छ । यो नेपालको वर्तमान अवस्था हो । नेपालको आर्थिक, सामाजिक अवस्था झन्भन्दा झन् बिग्रँदै गएको छ । यो अवस्था सुधार गर्नुपर्ने आजको चुनौती हो । धादिङ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभा उद्घाटनमा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य मधुकुमार श्रेष्ठले शनिबार उक्त कुरा बताएका हुन् ।

सङ्घको ३०औँ वार्षिक साधारणसभामा उद्घाटन मन्तव्य राख्दै प्रदेश सभा सदस्य श्रेष्ठले व्यवसायीलाई फकाएर सात–आठ प्रतिशतमा ऋण लगानी गर्ने, दुई वर्ष नपुग्दै १३–१४ प्रतिशत पु¥याउने गरेकाले देशको उद्योग, व्यवसाय क्षेत्र तहस–नहस भइरहेकोसमेत बताए । बैंकले सम्झौताको पालना गर्नुपर्छ । कोरोनापछि सबैभन्दा ठूलो समस्यामा व्यवसायी रहेको मैले देखेको छु । व्यवसायीले नेपालमा केही दिनअघि भएको शिक्षक आन्दोलनबाट व्यवसायीले पनि सिक्नुपर्छ कि एकता के हो भनेर । व्यवसायी राजनीतिक आस्थाका आधारमा विभाजन हुँदा व्यवसाय नै समस्यामा परेको उनले बताए । त्यसकारण व्यवसायीको हितका लागि राजनीतिभन्दा माथि उठेर काम गर्न व्यवसायीलाई प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि श्रेष्ठले आग्रह गरे । उद्योगी–व्यवसायीले उठाएको दोहोरो करका विषयमा बुझेर संसद् र आर्थिक विकास समितिमा कुरा उठाउने उनले बताए । आफू सत्तापक्षकै सांसद भए पनि प्रदेश प्रमुख र मुख्यमन्त्री बस्न बनाएको भवनको विरोधमा प्रदेश सभामा विरोध जनाएको सभा सदस्य तथा प्रमुख श्रेष्ठले प्रतिबद्धता गरे ।

‘सङ्घीयता आएपछि व्यवसायी दोहोरो करको मारमा परेका छन् । स्थानीय तहमा दर्ता गरेका फर्मलाई बैंकले हतपती ऋण लगानी नगर्ने र गरिहाले पनि १५ लाखभन्दा बढी नगर्ने । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरे पनि स्थानीय तहमा कर तिर्नुपर्ने । अनि सङ्घीय सरकारमातहतको कर कार्यालयमा पनि तिर्नुपर्ने । एउटा व्यवसायीले एउटा व्यवसाय सञ्चालन गर्दा तीनवटा सरकारलाई कर तिर्न सक्छ ?’ व्यवसायीले जति कर तिर्न परे पनि एक ठाउँबाट तिर्ने व्यवस्था हुनुपर्ने गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले सो कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो धारणा राखे । सो कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष बोधनाथ दुवाडीले उद्योगी–व्यवसायीको संस्था राजनीतिमा लाग्न नहुने, सचेत भएर व्यावसायिक हक, अधिकार प्रयोग गर्नेतर्फ अघि बढ्न सुझाव दिए । सङ्घले यसपटकको साधारणसभामा कुनै राजनीतिक दललाई निमन्त्रणा नै गरेनन् । यस्तै, कार्यक्रम गर्न पूर्वअध्यक्ष दुवाडीले सल्लाह दिए । धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विष्णुप्रसाद थपलियाले संस्थाले गरेका र गर्नुपर्ने कामको चर्चा गरेका थिए । सङ्घको ३०औँ वार्षिक साधारणसभा गल्छी बगर रिसोर्टमा पिकनिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।