मेसिनको प्रयोग रोकिँदा चेपाङ समुदायलाई रोजगारी

  • त्रिशूली प्रवाह
  • १६ कार्तिक २०८०, बिहीबार १२:००
  • राजेन्द्र बस्नेत

दरियाल खोला (धादिङ), १० वर्ष अघिसम्म असार, साउन र भदौ महिना बेल्खुस्थित त्रिशूली नदी दोभान बेल्खुखोलामा बालुवा निकाल्ने काम गर्दै आएका थिए श्यामैडाँडाका चेपाङ । पछिल्लो १० वर्षयता घरमुनिबाट सुस्त गतिमा बग्ने दरियाल खोलाले श्यामैडाँडाका चेपाङ समुदायलाई रोजगारी दिएको छ ।

करिब एक सय ५० परिवार चेपाङ समुदायको बसोवास रहेको गजुरी गाउँपालिका–६ श्यामैडाँडाका चेपाङ समुदायलाई बालुवा निकाल्ने, लोड गर्ने काममा करिब ६ महिनासम्म रोजगारी मिलेको स्थानीय मदन चेपाङले बताए । ‘अहिले ५–६ टोलीले बालुवा निकाल्न लगाएका छन् । हामीसँग पैसा नभएकाले हामी ज्याला–मजदुरी गर्छौँ । पैसा लगानी गर्न सक्ने साथीले हामीलाई ज्याला दिनुहुन्छ । हामीले निकालेको बालुवाको प्रतिटिप तीन हजार पाँच सय रुपैयाँ र गाडीमा लोड गरेको एक हजार रुपैयाँ ज्याला पाउँछौँ । हामी चेपाङ समुदायका प्रायः सबै परिवारका मानिस बालुवा निकाल्ने काममा हुन्छौँ । हाम्रो आम्दानीको मुख्य स्रोत भनेकै यही खोलाको बालुवा निकाल्ने हो । यो काम नहुँदा हामीलाई खान–लाउन पनि मुस्किल पर्छ,’ मदनले बताए । दुई वर्षदेखि घरमुनिबाट बग्ने दरियाल खोलामा बालुवा निकाल्ने काम गर्दै आएका आभाष चेपाङ भन्छन्, ‘हामीले नै मेसिन प्रयोग गर्न रोकका हौँ । अहिले करिब दुई सयजनाले ६ महिनासम्म रोजगारी पाउने वातावरण बनेको छ । हामीले दैनिक एक हजारदेखि एक हजार आठ सयसम्म पनि कमाउन सकेका छौँ । बारीको उत्पादनले खान नपुग्ने भएकाले हामीले कमाएको सबै पैसा रासन किन्नमा खर्च हुन्छ ।’

दरियाल खोलामा करिब पाँच सय ट्रिप बालुवा निकाल्न लगानी गरेका ज्ञानबहादुर भण्डारी भन्छन्, ‘दैनिक ज्याला भुक्तानी नगरे भोलि आउँदैनन् । दैनिक भुक्तानी गर्दा काम गर्ने श्रमिकको पैसा वासी रहँदैन । जुन दिन कमाइ त्यही दिन रमाइ गर्छन् । म आफू पनि स्थानीय भएकाले पनि श्रमिकलाई फजुल खर्च नगर्न अनुरोध गर्छु । श्रमिकलाई मैले १८ लाख ज्याला दिएँ असार, साउन र भदौसम्ममा, अहिले गाउँमा १८ हजार बाँकी छैन । श्रमिकको आफ्नो उत्पादनले तीन महिनालाई खान पुग्दैन । त्यही भएर पनि जुन दिन कमाइ उही दिन रमाइ गर्छन् । यो खोलामा बालुवा बग्न छोड्यो भने धेरै मानिस बेरोजगार हुन्छन् । प्रतिट्रिप तीन हजार पाँच सय ज्याला दिन्छु । जग्गा भाडा, लोड–अनलोड, बाटो मर्मत खर्च पाँच हजार पाँच सय खर्च हुन्छ । प्रतिटिप ६ हजार ५ सय रुपैयाँमा बेच्न सकियो भने एक हजार बस्छ । आफ्नो खर्च, ब्याज खर्च सबै गर्दा ज्यालादारीजस्तै कमाइ हुन्छ । दरियाल खोलामा अहिले हामी ६–७ जनाले बालुवा निकाल्न लगाएका छौँ । मेरोमा एक दिनमा ५९ जनासम्मले बालुवा निकाल्ने काम गरेका छन् ।’ ‘अघिल्लो वर्ष प्रतिट्रिप बालुवा तीन हजार पाँच सयदेखि पाँच हजारसम्म ज्याला दिएको थिएँ । सात लाख घाटा भयो । यस वर्ष प्रतिट्रिप तीन हजारको दरले ज्याला दिएको छु । एक हजार लोड गर्न एक हजार जग्गा भाडा, एक हजार बाटो बनाउन, साहुको ब्याज तिर्नुप¥यो । प्रतिट्रिप सात हजारमा बालुवा बेच्न सकिए एक हजार कमाइ हुन्छ । तर, बालुवा बेन्चे कहिले हो टुङ्गो छैन,’ सुदीप चेपाङले बताए, ‘यस वर्ष लगानी गर्ने पैसा नभएकाले लगभग दुई सय ट्रिप मात्र निकाल्न सकेको छु । अहिले आर्थिक मन्दीले बालुवा बिकेको छैन । कहिलेसम्म नबिक्ने हो ।’

चार वर्ष अघिसम्म राजनीतिक दलमा प्रत्यक्ष संलग्न हुने व्यक्तिले दरियाल खोलामा समेत एक्स्काभेटर प्रयोग गरेर बालुवा निकाल्दा स्थानीय चेपाङ समुदाय निकै समस्यामा थिए । मानिसले भन्दा कम मूल्यमा चाहेजति बालुवा सङ्कलन गर्न सकिने भन्दै एक्स्काभेटर प्रयोग गर्दै आएका थिए । ०७६ साउन २५ गते गजुरी गाउँपालिका– ७ भष्मेकर्खका १८ वर्षीय भीमबहादुर गलान र २३ वर्षीय सुमन स्याङतानको ठूलीफाँटनजिक दरियाल खोलामा एक्स्काभेटरले बालुवा निकालेको खाल्टोमा परेर मृत्यु भएको थियो । त्यतिबेला आक्रोशित स्थानीयले तीनवटा एक्स्काभेटर जलाएका थिए । स्थानीयले एक्स्काभेटर जलाएर आन्दोलित भएपछि स्थानीय प्रशासनले खोलामा मेसिन प्रयोग पूर्ण रूपमा बन्द ग¥यो । तैपनि अझ एउटा मेसिनले लामो समयदेखि दरियाल खोलामा बालुवा निकालिरहेको स्थानीयले बताए । यस वर्ष मात्रै दरियाल खोलामा करिब दुई हजार ट्रिपभन्दा बढी बालुवा बिक्री गर्नका लागि सङ्कलन गरिएको छ । बालुवा निकाल्न ६५ लाखभन्दा बढी ज्यालामा खर्च भएको छ । अझै २० लाखजति लोड गर्न खर्च हुनेवाला छ । यति धेरै पैसा स्थानीयले पाएको र पाउनेवाला छन् ।