सौन्दर्यकलामा बढ्दो आकर्षण

  • त्रिशूली प्रवाह
  • २३ कार्तिक २०८०, बिहीबार ११:४३
  • राजेन्द्र बस्नेत

गजुरी (धादिङ), भनिन्छ नि ‘स्वास्थ्य राम्रो चेकअपले, महिला राम्रो मेकअपले’ । पहिले सामान्य कोरीबाटी गरेर गाजलमा सजिने महिला पनि अहिले अलि फरक किसिमले सिँगारिन्छन् । यसरी सिँगारिनुलाई समयको गतिसँगै आएको परिवर्तन भन्छन् । अझ सामाजिक सञ्जाल टिकटकले मानिसलाई कलात्मक रूपमा प्रस्तुत हुन उत्प्रेरित गरिरहेको छ । टिकटकमा विभिन्न किसिमले सिँगारिएका महिलाले फरक–फरक गीतमा फरक–फरक शृङ्गारमा टिकटक बनाएर राख्ने प्रतिस्पर्धा रहेको छ । ऊभन्दा म के कम भन्ने होडबाजीले पनि सौदन्र्यकला व्यवसायलाई मलजल पुगेको छ ।

धादिङ जिल्लामा एक सयभन्दा बढी सौन्दर्यकला व्यवसायीले काम गरिरहेका छन् । यही देखेर पनि महिला आफू पनि सीप सिकेर स्वरोजगार बन्न चाहन्छन् । कैयौँ महिला त नेपालमा सौन्दर्यकला तालिम लिएर विदेशमा रोजगारी गरिरहेका छन् । महिलाको नर्सिङपछिको रोजाइमा आजभोलि सौन्दर्यकला पर्ने गरेको छ । विदेशमा पनि सौन्दर्यकला तालिम लिएकाले रोजगारी सहजै पाउने र कमाइ पनि आकर्षक हुने यस क्षेत्रका जानकारहरू बताउँछन् । सौन्दर्यकला सीप सिक्ने आफैँमा सुन्दर बन्नुपर्ने भएकाले पनि फुर्तिलो–जाँगरिलो देखिन्छन् । उनीहरू आफैँ सुन्दरीको रूप धारण गरेजस्तो गरेर राम्री हुनुपर्छ भन्ने सन्देश दिइरहेका हुन्छन् । ‘कमाउने नि हो रमाउने नि हो’ भन्ने बोलको गीतले अझ महिलालाई राम्रो बन्न उत्प्रेरणा जगाएको छ । कमाएपछि रमाउन पाइन्छ भन्ने भाव बोकेको गीतले सीप सिक्न पनि हौसला बढाएको छ । सीप सिकेर जीविकोपार्जनको आधार बनाउन अहिले गजुरीमा १६ जना महिला सौन्दर्यकला तालिम लिइरहेका छन् । तीन महिनाको तालिम लिएर आफ्नै लगानीमा सौन्दर्यकला व्यवसायमा र स्वरोजगार बन्ने र आर्थिक पहुँचमा आत्मनिर्भर बन्ने तालिमका सहभागीको भनाइ छ ।

सीमान्तकृत समुदायमा पर्ने बेनीघाट–रोराङ–वारवाङकी सिर्जना चेपाङ सौन्दर्यकला सीप सिकेर व्यवसायी बन्ने सोच बोकेर तालिममा सहभागी भएको बताउँछिन् । आर्थिक रूपमा चेपाङ पछि छन्, म अझ महिला चेपाङ । महिला चेपाङले पनि अवसर पाए भने आत्मनिर्भर बन्न सक्छन् भन्ने उदारहणीय काम गर्ने सोच बोकेर तालिम लिइरहेको उनले बताइन् । यसैगरी, बेनीघाट–रोराङ–९ मजिमटारकी सुष्मा बस्नेत दैनिक दुई सय ५० भाडा तिरेर सौन्दर्यकला सीप सिकिरहेकी छिन् । ‘तालिम सक्नुअघि नै पसल खोल्ने खोच बनाएकी छु । तालिमको भरपूर सदुपयोग गरेर स्वरोजगार बनेर आर्थिक रूपमा पनि सक्षम बन्ने सोच छ,’ उनले भनिन् । धनकुटादेखि सौन्दर्यकला सीप सिक्न गजुरी आएर मासिक १५ हजार खर्च गरेर सौन्दर्यकला तालिम सिकिरहेकी छिन् रेनुका भण्डारी । ‘मलाई तालिम महँगो परेको छ । तर, म आफ्नो भविष्य यही तालिमबाट सुरु गर्नेछु । म सफल सौन्दर्यकलाकर्मी हुने आशा गरेकी छु । सफल व्यवसायी बन्न प्रयास गर्नेछु,’ भण्डारीले भनिन् । दैनिक चार घण्टा हिँडेर पनि एक सय रुपैयाँ गाडीभाडा तिरेर तालिम लिँदै छिन् सिद्धलेक–४ गौँथलेकी सुष्मा मगर । उनले आफ्नै गाउँमा व्यवसाय गर्ने र गाउँका दिदीबहिनीलाई राम्रो बनाउने सोचेर तालिम लिन आएको बताइन् । गल्छी गाउँपालिका–४ मास्टारबाट तालिम लिन आएकी कृति मैनालीले भनिन्, ‘अहिले राम्रो बन्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर, सीप नभएर र राम्रो बन्न चाहिने सामग्री नपाएर गाउँका दिदीबहिनी सामान्य कोरीबाटीमै हिँडिरहेका छन् । उहाँहरूलाई राम्रो बनाउने काम सीप सिकेर गर्छु भनेर तालिम लिन आएकी हुँ,’ उनले भनिन् ।

सौन्दर्यकर्मी तालिममा केश शृङ्गार तथा सौन्दर्य सुरक्षा, कपाल काट्नुअघि ध्यान दिनुपर्ने कुरा, कपाल मसाज गर्ने, कपाल मेहन्दी लगाउनदेखि साधारण मेकअप, निर्मलीकरण, छालाको प्रकारसम्मको सीप सिकाइने प्रशिक्षक विष्णुकुमारी श्रेष्ठले बताइन् । तीन महिनाको तालिममा प्रतिसहभागी १५ देखि २० हजारसम्म खर्च हुन्छ । तर, सहभागीले निःशुल्क तालिम पाउँछन् । सीप सिकेर काम गरेनन् भने सरकारको लगानी खेर जाने प्रशिक्षक श्रेष्ठले बताइन् । पहिल्लो समय शृङ्गारप्रति महिलाको चासो बढेको छ । शृङ्गारमा चासो बढेसँगै रोजगार मिल्ने त भइनै हाल्यो । अहिलेसम्मको सबैभन्दा सफा र सुन्दर पेसा भनेकै सौन्दर्यकला हो । घरभित्र बसेर गरिने काम भएकाले महिलाका लागि उपयुक्त रहेको छ । महिलाकै लागि लक्षित पेसा भएकाले सुरक्षित र महिलामैत्रीसमेत रहेको व्यावसायिक तथा सीप विकास केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेले बताए । नेपालमै पनि रोजगारीको राम्रो सम्भावना भएकोमा पर्छ सौन्दर्यकला । एक–दुई लाख लगानीमै व्यवसाय सुरु गर्न सकिन्छ । सबैका लागि प्रायः सौन्दर्यकला अनिवार्य भइसक्यो । राम्रो बन्न मन नलाग्ने को हुन्छ र ? मानिस राम्रो बन्न खोज्छन् । राम्रो बनाइदिन पनि मान्छे चाहिन्छ । त्यही भएर सीप विकास केन्द्रले सौन्दर्यकला तालिम सञ्चालन गर्दै आएको छ । १४ वर्षमा यस केन्द्रले नौ सय ९५ जनालाई आधारभूत र तीन सय ३५ जनालाई एडभान्स किसिमको सौन्दर्यकला तालिम दिएको प्रमुख पाण्डेले जानकारी दिए ।