मौरी पालेरै वार्षिक १८ लाख कमाइ

कानाकोटलाई मौरीकोट बनाउने प्रयास

  • त्रिशूली प्रवाह
  • २३ कार्तिक २०८०, बिहीबार ११:४६

धादिङ, अधिकांश पढेलेखेका नेपाली युवा काम छैन भनेर फेसबुक र टिकटकमा समय खेर फालिरहेका छन् भने केही युवा बिहान उठेदेखि अँध्यारो नहुन्जेलसम्म राजनीतिक दलका नेता र राजनीतिक व्यवस्थाबारे नकारात्मक धारणा बनाउनै तल्लीन देखिन्छ । तर, युवाहरूको भिडमा फरक सोच र विचार बोकेर धादिङ जिल्ला धुनीबेँसीका रामराजा पाण्डे उद्यममा संलग्न छन् ।

पछिल्लो समय युवाले नेपालमा अवसर र सम्भावना नदेखेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । खासगरी खाडी मुलुकमा श्रम गर्नुभन्दा स्वदेशमै आफ्नो काम गर्नु राम्रो देख्छु भन्छन् – धुनीबेँसी नगरपालिका–९ कानाकोटका रामराजा पाण्डे । म ०७० सालअघि तरकारी खेती गर्थेँ, त्यतिबेला पनि राम्रै कमाइ थियो, तर त्यसैमा सन्तुष्ट नभएर ०७० सालमा पाँच घार मौरी ल्याएर काम सुरु गरेको हुँ । ‘आफ्नै काम गरेर तरकारी र मौरीबाट गत आ.व.०७९/८० मा २८ लाख रुपैयाँबराबरको कारोबार गरेँ, १८ लाख रुपैयाँ कमाएँ,’ उनले भने । अब भन्नुस् विदेश गएर कमाउने कति हो । त्यहाँ आफ्नो परिवार त हँुदैनन् । स्वदेशमै पुराना कामलाई नयाँ र उन्नत तरिकारले ग¥यो भने अवसर र सम्भावना रहेको बताउँछन् पाण्डे ।

कानाकोटस्थित आफ्नै जग्गामा १० वर्षअघि पाँच घारबाट मौरीपालन गरेका पाण्डे अहिले कृषि विषयमा स्नातक पढ्दै गरेका विद्यार्थीलाई मौरीपालन विषय आफ्नै फर्ममा पढाउँछन् । विद्यार्थीलाई मौरीपालनसम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गर्न उनले सञ्चालन गरेको नेचर एग्रो कम्पनी प्रा.लि. र हिकास्टबीच सम्झौतासमेत गरेका छन् । यसका अलावा अन्य सङ्घ–संस्था र समूहबाट पनि मौरीपालन हेर्न आउने गरेको पाण्डेले बताए । पाण्डेले गत वर्ष एक सय ५० घारमा गोला मौरी प्रतिघार पाँच हजारका दरले बिक्री गरी सात लाख ५० हजार आम्दानी गरे । आफ्नो घारमा मौरी गोला राखेर एक सय ५० घार प्रतिघार १० हजारका दरले बिक्री गरी १५ लाखसमेत आर्जन गरे भने पाँच सय केजी मह प्रतिकेजी एक हजार दुई सयका दरले बिक्री गरी ६ लाख रुपैयाँ बुझे । पाण्डेले २८ लाख रुपैयाँको कारोबार गर्दा उनको १० लाख रुपैयाँ खर्च भएको छ । गत वर्ष नै धुनीबेँसी नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन साझेदारी कार्यक्रमबाट सात लाख ५० हजार प्राप्त गरेको पाण्डेले बताए । साझेदारी कार्यक्रम भएकाले कम्पनीको तर्फबाट पनि सात लाख ५० हजार लगानी थपेको छु । अहिले कम्पनीका लगानी २५ लाख पुगेको छ ।

नगरपालिकाले अनुदान दिएपछि मह प्रशोधन गर्ने आवश्यक पर्ने मेसिन तथा औजार खरिद गरेका छन् । अब काम प्रविधिमैत्री भएको छ । पहिले मह प्रशोधन परम्परागत तरिकाबाट गरिन्थ्यो । कमाउन मिहिनेत गर्नुपर्छ । अरूको काम गर्दा तोकिएको रकम मात्र हुन्छ । आफ्नो काम गरे तलब पाइँदैन, तर कमाइ सबै आफ्नो हुन्छ । अहिले पनि एपिस सेरेना स्थानीय जातका दुई सय घार मौरी उनको फर्ममा रहेका छन् । ‘यी चिसो र तातो सहन सक्ने भए पनि वर्षात्को समय भएकाले निकै स्याहार गर्नुपर्ने हुन्छ । त्यसकारण म अहिले पनि १६ घन्टा मौरीसँग खेल्छु । मौरीसँग खेल्दा छुट्टै रमाइलो हुने पाण्डेले बताए । अहिले नेपालमा महको माग अत्यधिक रहेको छ । मह उत्पादन गर्ने सम्भावना पनि छ । जहाँ वनजङ्गल हुन्छ त्यसका छेउछाउमा मौरीपालन गर्न उपयुक्त हुन्छ । अहिले मेरो गाउँका दाजुभाइले पनि घरघरमा चार–पाँच घार मौरी पालेका छन् । उहाँहरू पनि मौरीपालनमा ज्ञान र सीप हासिल गर्दै छन् । सायद उहाँहरूले घरघरै मौरीको घार राखेर बर्सेनि थप्दै जानुभयो भने कानाकोट मौरीकोट हुनेछ । त्यही बेला मलाई अझ सफलता मिल्नेछ,’ पाण्डेले बताए ।