
- बाबुकाजी कार्की
हाम्रो शिक्षा गरिखानेभन्दा पनि मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो ।
रोजगारीका लागि भौँतारिनेभन्दा पनि सिर्जना गर्न सक्ने प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारीका अवसर प्राप्त गर्न सहजता प्रदान गर्छ । तर, कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाका भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारण पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकिएमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । समृद्धिका यात्रामा सफलता हासिल गर्न व्यावहारिक, प्राविधिक शिक्षा आजको आवश्यकता हो । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि वरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ४५ लाखका हाराहारीमा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी, पौरखी प्राविधिक शिक्षा अपरिहार्य भइसकेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति नै आवश्यक पर्छ ।
नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवाको आयआर्जनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्छ । प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट करिब पाँच लाख परीक्षार्थी उत्तीर्ण हुन्छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राका लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्येबाट छनोट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन/अनुसन्धान तहसम्मका लागि साधारण शिक्षा रोज्नु स्वाभाविकै हो । आफ्नो योग्यता, क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छन् । हाम्रोजस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्छ । एसइई पार गरेका परीक्षार्थीका लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसइई परीक्षा उत्तीर्ण टिएसइई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीलाई सिटिइभिटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । सिटिइभिटीअन्तर्गतका तीन सय ३१ संस्थाबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरिएको छ । त्यस्तै, दुई सय ८० सम्बन्धन प्राप्त निजी संस्थाले पनि विभिन्न प्राविधिक कोर्स सञ्चालन गरे पनि पर्याप्त देखिएको छैन । हाम्रोजस्तो भौगोलिक विकटता र सामाजिक–आर्थिक विभिन्नता भएका देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताका लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा चित्रित भएका थिए, तर पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति राज्यले लिएको पाइन्छ । दिन/प्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि बिदेसिनु देशका लागि कदापि शुभसङ्केत होइन । अर्कातर्फ छिमेकी देशबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहर–बजारमा मात्र नभएर विकट गाउँमा पनि छ्यापछ्याप्ती पुगेका छन् । तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्यसभन्दा तल्लोस्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्ना देशमा रोजगारी नपाएर चारैतिर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रामा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिका हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? यस्ता प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नुहुँदैन ।
गुणस्तरीय, जनमुखी, प्रगतिशील, जीवनोपयोगी शिक्षाको बखान निकै पाइन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्याेल गर्ने प्रचलन प्रशस्तै छ, जसका कारणबाट आमाबुबाको अर्थ नबुझ्ने, तर ड्याड, ममको संस्कारमा हुर्कने, दुध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाईभैँसीको जानकारी नराख्ने, कृषिका हलो, फाली, करुवा, दाँदे आदिबारे जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको, तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने–गराउने गरेर सिक्ने खालको शिक्षा अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । दैनिक जीवनमा प्रयोग गरिने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानी–व्यवहार, चालचलन र चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ । हाम्रो मूल्याङ्कन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । अब सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धति पुनरावलोकन गरिनुपर्छ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अङ्क मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कातर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू, जसलाई उच्च गुणस्तरका भनिन्छ, को अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील, सफल नागरिक बनाउने खालको व्यावहारिक पौरखी शिक्षा आजको आवश्यकता हो ।
यसका लागि श्रमप्रति सम्मान जगाउने धारणा विकास गराउनुपर्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित गरिनुपर्छ । त्यस्तै, विद्यालयको वातावरण विद्यार्थीको जीवन पद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यासका क्रममा विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीलाई अधिकतम संलग्नता गराइनुपर्छ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यता, संस्कार एवम् भावना आदिलाई ध्यानमा राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठ्यक्रमका अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ जसबाट विद्यार्थीलाई भविष्यमा स्वरोजगार भई बाँँच्न प्रेरित गर्न सकोस् ।
(लेखक नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुन् ।)