+
Search

ताजा अपडेट +

पपुलर +

जीवनदर्शन : मार्गदर्शन – ५

जीवनदर्शन : मार्गदर्शन – ५
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

मानिस बिरामी किन हुन्छ 
सांसारिक विषयवस्तुमा आसक्ति गर्नु र प्राप्त गर्न प्रज्ञा अपराध गर्नु वा जानी–नजानी गल्ती गर्नु नै तनाव र रोगको जड हो । शील अर्थात् यम, नियम पालना नभए, अधिक लोभ, बासना, स्वार्थ, अहङ्कारजस्ता दुर्गुणले मन भरिन्छ । मन विकारले भरिएको अवस्थामा अशान्त मन, बेहोस मन भई, स्मृति, धैर्य, बुद्धि कमजोर हुन्छ र प्रज्ञा अपराध बढ्ने बुद्धि, धैर्य, स्मृति–कर्तव्यको स्मरण भ्रष्ट भएमा मनुष्य अशुभ कर्म गर्न थाल्दछ, प्रज्ञा अपराध बढ्छ । शारीरिक र मानसिक दोष बढ्ने हुन्छ । भ्रम र संसययुक्त जीवनबाट स्वास्थ्य र मन बिग्रन्छ । आधुनिक जीवनशैलीमा जे–जति रोग फैलिएका छन्, त्यसमा धेरैजसो त हाम्रो शरीरभित्रै उब्जिएका छन् । लोभमा परी भोक नलागेका वेलामा विषाक्त खाना खान्छौँ । शरीरभित्र अथाह शक्ति छ । अद्भूत सौन्दर्य छ । तर, हामी शरीरभित्र कहिल्यै प्रवेश गर्दैनौँ । जब मानिसले होस सम्हाल्छ सुख–सुविधाका लागि केही न केही गरिरहन्छ । पद, प्रतिष्ठा, धन सञ्चयबाट मनलाई शान्त पार्न चाहन्छ । पद, प्रतिष्ठा र इच्छा पूर्ति गर्न प्रज्ञा अपराध गर्दछ, धन थुपार्न व्यस्त छ । बाहिरी सुखभोगको चक्करमा आफ्नो शरीरलाई बेवास्ता गर्छौँ । चाहिने–नचाहिने सङ्गत गर्छौँ, खान्छौँ । अप्राकृतिक जीवनशैलीमा रमाउँछौँ । यसरी आफ्नै शरीरलाई हेला गर्छौँ । अपमान गर्छौँ । यसको नतिजा शरीरमा अनेक मानसिक र शारीरिक विष पैदा भई रोग, कष्ट, पीडा थपिन्छ । स्वस्थ शरीर र आनन्दित मन सबै चाहन्छन्, तर आलस्यता, प्रमाद, खराब बानी छाड्न र साधना गर्न कोही चाहन्नन् । त्यसका लागि अनेक तनाव, कष्ट खोज्दछ र शरीर मन जीर्ण हुन्छ । तैपनि धन–सम्पत्ति थुपारेर पनि वास्तविक शान्ति र आनन्द हुँदैन । बरु मन अशान्त भएकाले अनेक व्याधी लाग्छ । जस्तै– चिन्ता, अनिद्रा, उच्च रक्तचाप, दम, मुटुरोगलगायत आत्महत्यासम्म गर्ने प्रवृत्ति, आतङ्कवाद नशा सेवनजस्ता बिमारी फैलिरहेछ ।

मानसिक समस्या
आजको यो विषादग्रस्त युगलाई हामी कुरुक्षेत्रको रूपमा बुझ्न सक्छौँ । आजको युगमा हामीलाई सुविधा चाहिएको छ । आराम चाहिएको छ । सफलता र प्रतिष्ठा चाहिएको छ । हामी अरूलाई जित्न हतारिएका छौँ । हामी सुखभोग गर्ने लालसाले दौडिएका छौँ । आवश्यकता पूरा गर्न भागदौड र तनावमा बाँचिरहेका छौँ । अशान्त र तनावले भरिएको मनमा सासको गति तेज हुन्छ, खराब तनाव दिने रसायन शरीरभित्र नै प्रकट हुन्छ । एन्जाइटी र डिप्रेसनको सिकार हुन्छ । सास नै पहिलो शक्ति हो । शान्त भएमा हामीभित्र सन्तुलन हुन्छ । त्यो शक्तिको असन्तुलनबाट शरीर बिरामी पर्दछ । अध्ययनले देखाएको छ, अहिले प्रत्येक ४० सेकेन्डमा एकजना मान्छेले आत्महत्या गर्छ । छिमेकी मुलुक भारतमै प्रत्येक दुई मिनेटमा एकजनाले आत्महत्या गरेका छन् । अमेरिकामा प्रत्येक नौ मिनेटमा एकजनाले आत्महत्या गर्छ । नेपालमा दिनमा औसत १३ देखि १४ जनाले र वर्षमा करिब आठ हजारजतिले आत्महत्या गर्ने गरेको तथ्याङ्क आएको छ । विश्व स्वास्थ्य सङ्गठनले भन्छ – सन् २०३० सम्ममा संसारको सबैभन्दा ठुलो समस्या मानसिक तनावबाट आत्महत्या घटनामा वृद्धि हुनेछ । मान्छे चाँडै डिप्रेसनमा जानेछन् । उदासी, निरासामा जानेछन् र त्यसको अन्ततः आत्महत्याको बाटो रोज्न लगाउने कुरा अहिलेका वैज्ञानिकले प्रक्षेपण गरिसकेका छन् ।

अस्वस्थ शरीरको नतिजा
रोगी शरीर लिएर बाँच्नु ‘किस्ताबन्दीमा आत्महत्या गर्नु’सरह हो । रोगी भएर वा पीडादायक अवस्थामा जीवन गुजार्नु आफूमा एक सजाय हो, यातना हो । यातनाका लागि हिरासतमै पुग्नुपर्छ भन्ने छैन । आफ्नै घरको आरामदायक शयनकक्षमा पनि हामी यातनापूर्ण जीवन बिताइरहेका हुन्छौँ । अस्वस्थ शरीरले धेरै नकारात्मक परिणाम निम्त्याउन सक्छ, जसले व्यक्ति मात्र होइन उनीहरूको पारिवारिक, सामाजिक र व्यावसायिक जीवनमा पनि असर पार्न सक्छ । शरीर अस्वस्थ हुँदा शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा समस्या आउन सक्छ, जसको परिणामस्वरूप समग्र जीवनको गुणस्तर घट्न सक्छ ।

स्वस्थ जीवनशैलीका लागि योग
समस्या नै अज्ञान अवस्थामा उब्जिएका हुन् भने यसबाट मुक्तिको उपाय भनेको नै ज्ञान वा चेतना बढाउने हो । यसका लागि वैदिक ज्ञान र योग दर्शनको प्रवद्र्धन गर्नु र सोहीअनुसार योगी जीवन जिउनु हो । आफ्नो भाग्य आफूले बनाउनुपर्छ । जे–जस्तो रोप्यो त्यही फल्ने गर्छ । अनुशासनहीन र अनियन्त्रित मनले कर्म गर्ने अनि भाग्यलाई दोष दिने प्रचलन छ । नपच्ने गरी जथाभावी खाने अनि जथाभावी खानाभन्दा बढी औषधि खान्छौँ । हस्पिटलमा यति भिड छ पाइला राख्ने ठाउँ छैन । अव्यवस्थित जीवनशैलीले मानिसलाई तनाव मात्र दिन्छ, तनाव रोगको कारखानाजस्तै हो । पछिल्लो समयमा हाम्रै अव्यवस्थित जीवनशैली र खानपानले मौलाउँदै गएको नसर्ने राोगको नियन्त्रण र निराकरणमा योग महत्त्वपूर्ण छ । व्यस्तता, प्रदूषण, कोलाहल, दूषित खाद्य पदार्थबाट बचेर आफूलाई स्वस्थ राख्न हम्मेहम्मे छ । तीव्र विकाससँगै नयाँनयाँ घातक रोग पनि देखिन थालेका छन् । त्यसैले स्वस्थ र शान्त जीवनमा रहनका लागि आफ्ना लागि पनि फुर्सद निकाली योग–ध्यान गर्न अति जरुरी भएको छ ।

योग साधनाबाट हाम्रो भित्रबाट नै उचित मात्रामा हार्मोनको स्राव हुन थाल्दछ । हाम्रो आन्तरिक रासायनिक प्रक्रिया सन्तुलित हुन जान्छ, शरीरको एनाबोलिज्म, क्याटाबोलिज्म, मेटाबोलिक रेट अर्थात् बात, पित्त, कफ सम अवस्थामा आउँदछन् । सुप्त तन्तुको पुनर्जागरण हुन्छ, नयाँ तन्तु, कोषिकाको निर्माण हुन्छ । योगको सूक्ष्म क्रियाद्वारा स्नायुतन्त्रलाई चुस्त बनाइन्छ । स्वस्थ जीवनशैलीका लागि पनि योग महत्त्वपूर्ण छ । नियमित योग साधनाबाट हाम्रो शरीरलाई पूर्ण स्वस्थ बनाउन सक्छौँ, योगले स्मरण क्षमता बढाउनुका साथै एकाग्र बनाउने काम गर्छ । नियमित योग अभ्यासबाट सधैँ तनावरहित हुन्छ । यसले आत्मविश्वास पनि बढाउने काम गर्छ र शरीरमा ऊर्जाको विकास गर्छ । योगले नै मानिसभित्र अपार शक्ति पैदा गर्छ । योगलाई स्वस्थ जीवनको प्रमुख आधार मानिएकाले यो हाम्रो जीवनमा अत्यन्तै महत्त्वपूर्ण छ । योगले स्वास्थ्य, शिक्षा, जीवनशैली, खानपिन सबैमा महत्त्वपूर्ण भूमिका खेल्छ । नियमित हुने योगले सकारात्मक सोच ल्याउँछ । योगले हाम्रो शरीरमा उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने हर्मोनलाई शिथिल बनाउने गर्दछ । यस्तो अवस्थामा हाम्रो शरीरमा सकारात्मक सोच मात्र आउने गर्छ । त्यसैले हरेक उमेर समूहका मानिसका लागि योग अभ्यास अत्यन्तै उपयोगी छ । (लेखक पातञ्जल योग समिति नेपालका प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।)

विदुर–४ बट्टार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह