विदुर । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रत्यक्षतर्फ ३३ सदस्यका लागि सात सय ३१ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । तीमध्ये सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा दुई सय ५० जना र सबैभन्दा कम एउटा निर्वाचन क्षेत्र रहेको रसुवामा १२ उम्मेदवार छन् ।
तीन निर्वाचन क्षेत्र रहेको ललितपुर र चितवनमा क्रमशः ७१ र ६४ जना, दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ५७, काभ्रेपलाञ्चोकमा ४२, सिन्धुलीमा २८, सिन्धुपाल्चोकमा ३६, धादिङमा ४७, नुवाकोटमा ३० र मकवानपुरमा ४४ जना प्रतिस्पर्धामा छन् । त्यस्तै, एक निर्वाचन क्षेत्र रहेको दोलखामा ३३ र रामेछापमा १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । बागमतीमा एक सय आठ महिला उम्मेदवार बनेकोमा सबैभन्दा धेरै काठमाडौँमा ४६ तथा सबैभन्दा कम नुवाकोट, रसुवा र रामेछापबाट एक-एकजना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै, चितवनमा महिला उम्मेदवारको सङ्ख्या १८, ललितपुर र भक्तपुरमा नौ-नौ, मकवानपुरमा सात, दोलखा र धादिङमा चार-चार, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तीन-तीन र सिन्धुलीमा दुईजना चुनावी प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले निर्वाचन गराउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । एक सय १९ स्थानीय तह, एक हजार एक सय २१ वडा र ३६ लाख ८२ हजार तीन सय १० मतदाता रहेको बागमतीमा चार हजार तीन सय ४१ मतदान केन्द्र रहेका छन् । एक हजार आठ सय १५ मतदानस्थल र चार हजार तीन सय ४१ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया