
रसुवा । उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण आगामी साउनभित्र पूर्ण रूपमा सम्पन्न हुने जनाइएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ७६ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । एउटा गोदामघर, खोलाको पर्खाल निर्माण र सडकमार्ग तयार भइसकेको तथा प्रशासनिक भवन, एउटा गोदाम र पार्किङस्थल ढलानको काम भइरहेको बताइएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम दुई वर्षदेखि नियमित रूपमा भइरहेको समितिले जनाएको छ । आधुनिक प्रविधिसहित निर्माण गरिएको बन्दरगाहभित्र भन्सार जाँच, अध्यागमन, प्रशासनिक कामलगायत सुविधा रहने समितिले जनाएको छ । तीन सय ५० गाडी पार्किङको समेत व्यवस्था हुनेछ । छिमेकी मुलुक चीनको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह निर्माणको काम अगाडि बढाएको हो । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने भई व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उनको भनाइ छ । बन्दरगाहको लागत रु. दुई अर्ब १६ करोड ६० लाख छ । बन्दरगाहभित्र तीन सय १३ साना र २३ ठुला कन्टेनर रहनेछन् । त्यस्तै, कार्गो गोदाम र दुई भवन रहनेछन् । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैंक र सुरक्षा निकाय रहनेछन् । रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको बिसाखापटनम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी नरेश कटुवालले जानकारी दिए ।
रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने उनको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ । चीनमा नेपालको व्यापार १३ प्रतिशत छ । तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात–निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाकाकेन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइनअनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन र सात सय ५० वर्गमिटरमा गोदाम बन्नेछ । यसैबिच पछिल्लो समय रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन् । नेपालबाट जडीबुटी, बाँसका मुढा, मूर्तिलगायत सामान चीन निर्यात हुने गरेको छ ।