काठमाडौँ । पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ यहाँ गत शनिबार लोकार्पण भएको छ । पब्लिकेसन नेपा-लयद्वारा प्रकाशित कृति हिन्दू, बौद्ध र बोनहरूको आस्थाको केन्द्र तिब्बतस्थित कैलाश मानसरोवर यात्रामा केन्द्रित छ । सो क्षेत्रसम्म पुग्न नेपालको नेपालगन्ज-हिल्सा हुँदै जाने र रसुवागढी-केरूङ हुँदै जाने दुई मार्गमध्ये डङ्गोलको समूहले दोस्रो मार्गबाट पैदल र गाडीमा गरी ११ दिनमा सो यात्रा पूरा गरेको थियो ।

नियात्राकार डङ्गोलले केही भारतीय पर्यटक र नेपाली सहयोगीसहित छ हजार छ सय ३८ मिटर अग्लो कैलाश पर्वतको प्रदक्षिणा गर्नुभएको थियो भने मानसरोवरको जलले स्नान गर्नुभएको थियो । हिन्दूधर्मालम्बीका अनुसार शिव र पार्वतीको बासस्थान मानिएको कैलाश गङ्गा, ब्रह्मपुत्र, सतलज र कर्णाली नदीका उद्गमविन्दु पनि हुन् । कैलाशबाट सिर्जित राक्षसताल भने स्नान गर्न नमिल्ने बताइएको छ । कृतिमा लेखकले यात्राका क्रममा देखिएका प्रायः प्रत्येक दृश्य र भोगिएका कठिनाइको सूक्ष्म र कलात्मक वर्णन गर्नुभएको छ । कृति अध्ययनसँगै पाठकले लेखकसँगै तत्तत् स्थानमा पुगेको अनुभूति गर्न सक्छन् । परिष्कृत भाषामा काव्यात्मक लेखन डङ्गोलको लेखकीय विशेषता हो । नुवाकोटमा जन्मनुभएका उहाँका यसअघि ‘यात्राका पाइला’, २०७६, ‘पैतालामा हिउँ र आँखामा हिमाल’, २०७८ र ‘बादलडाँडा’, २०८० नियात्राकृति प्रकाशन भइसकेका छन् । एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन) द्वारा आयोजित कृति लोकार्पण र विमर्श कार्यक्रममा समालोचकद्वय डा विन्दु शर्मा र राम लोहनीले कृतिमा महत्त्वपूर्ण स्थान, इतिहास र संस्कृतिको ज्ञान पाइनाका साथै अध्ययनपछि कैलाशबाट ऊर्जा पाएको महसुस भएको बताउँदै कृतिका प्रायः सबै पङ्क्ति दोर्हायाएर पढ्न मन लाग्ने टिप्पणी गर्नुभयो ।
सो अवसरमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीॐ रोदन, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव अटल, आयोजक एक्टोनका अध्यक्ष विमल नहर्की र महासचिव प्रदीप पण्डित, टानका अध्यक्ष सागर पाण्डे, होली हिमालयका प्रबन्ध निर्देशक ज्योति अधिकारी र होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले कैलाश मानसरोवर क्षेत्रको सौन्दर्य र आध्यात्मिकता उजागर गर्ने सो कृतिले नेपाललाई सोको प्रवेशद्वार स्थापित गराउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । लेखकको डोल्पादेखि अपर डोल्पोसम्मको यात्रा समेटिएको अर्काे कृति पनि निकट भविष्यमा प्रकाशन हुने बताइएको छ ।




प्रतिक्रिया