हाम्रा कुरा : सडक दुर्घटना न्यूनीकरण गरौं

तत्कालिन एमाले सरकारको पाला भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को नाममा प्रत्येक गाउँ विकास समितिमा रकम विनियोजन गर्न शुरू गरियो । केही अपवाद छाडेर यो रकमले गाउँ घरमा डोजर डुलाउन थालियो । न प्राविधिक, न इस्टिमेट बिना इन्जिनियरिङ हँचुवाका भरमा गाउँभरि खेत र बारी उजिन्ने काम भयो । अझ कति ठाउँमा त सक्नेले नसक्नेका खेतबारी मास्ने नियतले अर्काको सम्पत्तिमाथि डोजर डुलाए । फलस्वरूप रूप न ढाँचाको बाटो बन्यो । यो समस्या नुवाकोट, रसुवा र धादिङमा पनि रहेको छ । पछिल्लो समयमा त्यही बिना ढाँचाको बाटोलाई ग्राभेल र पिच गर्ने होडबाजी नै चलेको छ । यसले गर्दा पनि मापदण्ड बिनाका बाटोमा गाडी गुड्न बाध्य छन्, जसको कारण दिन प्रतिदिन हाम्रा सडक र सडक यात्रुहरू असुरक्षित बनिरहेका छन् । सडक निर्माणमा मापदण्डसमेतलाई ख्याल नगरिएकाले सडकसँगै टाँसिएर बसेका कतिपय वस्ती पनि सडक दुर्घटनाका लागि प्रमुख कारक बनेको देखिन्छ । भनिन्छ नेपालमा ८४ हजार किलोमिटर सडक छ । यसमध्ये १४ हजार किलोमिटर मात्र पिच भएको छ । बाँकी सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्ये बन्ने गर्छन् । यस्तो सडकमा गाडी गुडाउनु पनि दुर्घटना निम्त्याउनु नै हो । गत वर्ष नुवाकोटको दुप्चेश्वरमा आईचर दुर्घटनामा २२ जनाले ज्यान गुमाए भने पुसको पहिलो हप्ता वि.न.पा. वडा नं.६ मुन्थलामा आईचर दुर्घटनामा २ जनाले ज्यान गुमाए ।

हाम्रो आदत नै नपरी नचेत्ने बनेको छ । सडक दुर्घटनाको प्रमुख कारण एकपटक फास्ट ड्राइभिङलाई मानियो । उतिबेला काठमाडौंबाट छुटेको बस नारायणगढ कति बजे मात्र पुग्नुपर्ने हो यकिन गरी कार्ड दिईयो । छुटेको र पुगेको ठाउँको कार्डको समय मिलानबाट गाडीको गति स्थिर बनाउन खोजियो । तर, सवारी चालक बीचमा हुइँकाउने र हाँक्ने अमुक ठाउँमा लामो समय विश्राम गरेर उपयुक्त समयमा गन्तव्यमा पुगेको पनि देखियो । उक्त प्रक्रिया प्रभावकारी नभएर होला प्रायः अहिले कार्ड सिस्टम देखिंदैन ।

सडक सुरक्षाका लागि ट्राफिक ब्यवस्थापन चुस्त, दुरूस्त हुनुपर्छ । हाइवेको खण्डखण्डमा चेकजाँचको ब्यवस्था हुनुपर्छ । सवारी चालक कर्मचारी, उनीहरूको योग्यता, लाइसेन्स र अन्य ब्यवहारको नियमित नियमन हुनुपर्छ । बस छुट्ने र पुग्ने समयको यकिन हुनुपर्छ । सवारी साधनको गुणस्तरीयता परीक्षण गर्न पनि जरूरी छ । तर, यी सबै काम हामी कहाँ औपचारिकता पूरा गर्नका लागि मात्र गरिन्छन् । यसले गर्दा पनि सडक दुर्घटना बढ्ने क्रममा देखिन्छ । लामो दूरीमा ट्राफिक ब्यवस्थापन लगभग हुँदै हुन्न भने पनि हुन्छ । सवारी चालक कर्मचारी आफैं ओर्लेर स्व–ब्यवस्थापन गरेको पाईन्छ । यस्तो बेलामा गलत दिशाबाट आएर पास हुने वा ओभरटेक गर्ने प्रवृत्ति बढेको देखिन्छ र यसका कारण पनि सडक दुर्घटना हुने गर्छ । यसतर्फ कहिल्यै सम्बन्धित पक्षको ध्यान जान सकेको देखिंदैन । एउटा सडकमा कति गाडी कुद्न पाउने हो ? कुन स्तरका गाडी कुद्नुपर्ने हो ? त्यसको मापदण्ड बनाएर मात्र गाडीलाई इजाजत दिनुपर्छ । तर, हामी कहाँ यस्तो ब्यवस्था छैन ।