+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीका नुवाकोटसहित १३ अस्पतालको शय्याबारे मोबाइलबाटै जानकारी लिन सकिने

बागमतीका नुवाकोटसहित १३ अस्पतालको शय्याबारे मोबाइलबाटै जानकारी लिन सकिने
त्रिशूली प्रवाह
७ घण्टा अगाडी

भक्तपुर । अबदेखि घरमै बसेर अस्पतालको बेड खाली भए-नभएको हेर्न सकिने भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले शुक्रबार बागमती डिजिटल हेल्थ शुभारम्भ गरेसँगै यो सुविधा सर्वसाधारणले पाएका हुन् ।

मन्त्रालयले शुक्रबार बागमती प्रदेश पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा बागमती डिजिटल हेल्थ शुभारम्भ गरेको थियो । यो सुविधाअनुसार अब सर्वसाधारणले अस्पतालमा भर्ना हुनुपरेमा बेड खाली छ-छैन भनेर घरबाटै मोबाइलमा हेर्न सक्नेछन् । यति मात्रै नभई, कुन अस्पतालमा कतिजना बिरामी पुगेका छन् ? कतिजनाले स्वास्थ्य बिमाबाट टिकट काटेका छन् ? कतिजनाले पैसा तिरेर टिकट काटेका छन् ? कुन समयसम्म कतिजनाले सेवा लिएलगायतका सूचना पनि मोबाइलबाटै जानकारी लिन सकिनेछ । स्वास्थ्य जाँचको रिपोर्ट पनि स्क्यान गरेर मोबाइलमै हेर्न सकिनेछ । ‘स्वास्थ्य जाँचका लागि टिकट काट्दा त्यहाँ क्युआर पनि हुनेछ,’ बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भन्नुभयो, ‘त्यही क्युआरबाट आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट पनि हेर्न सकिनेछ ।’ यसका लागि एउटा एप्स विकास गरिएको छ । हाललाई बागमती प्रदेशका १३ वटा अस्पतालबाट यो सुविधा पाइने भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल बनाउनतिर लाग्न सबैसँग आग्रह गर्नुभयो । ओलीले यसका लागि सबैजना लाग्न अनुरोध गर्नुभयो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने प्रयास गरिनु महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । तथापि, रोग लागिसकेपछि उपचारका लागि अस्पतालको पनि बन्दोबस्त गरेको उहाँको भनाइ थियो ।

नेपालको हावापानी शुद्ध रहेकाले हामीले यसको फाइदा उठाउनुपर्ने उहाँको भनाइ थियो । त्यस अवसरमा उहाँले स्वयम्सेवीको पनि प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले यो कार्यक्रममै पनि तलब खाने कर्मचारी अगाडि हुनुहुन्छ, स्वयम्सेवक पछाडि हुनुहुन्छ । यदि यहाँ सेवा चाहिएको भए पछाडि बसेका स्वयम्सेवक अघि हुन्थे, तलब खाने कमचारी पछाडि हुन्थे ।’ देशका सातवटा प्रदेशमध्ये पहिलोपटक बागमती पूर्णखोप सुनिश्चित प्रदेश भएकोमा उहाँले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, मन्त्रीलगायतको समूहलाई बधाईसमेत दिनुभयो । कार्यक्रम प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको थियो । कार्यक्रममा प्रदेशकै स्वास्थ्य क्षेत्रका व्यक्तित्व सहभागी थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले १३ जना स्वास्थ्य क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई सम्मानसमेत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह