नेकपा नजुट्दै फुट्न लागेको हो ?

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:१७
Logo of trishuli prawaha

सभामुख पदलाई लिएर नेकपाभित्र चरम विवाद बढेको छ । धेरैले यही विवादको कारण नेकपा विभाजित हुनेसम्मको तर्क गरेका छन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेको कारण धेरैले नेकपामा विभाजनको बिजारोपण भएको दाबी गरेका छन् । केहीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरेमा त्यसले पनि नेकपा विभाजनको बिजारोपण गर्ने दाबी गरेका छन् । सभामुख सत्तारुढ बाहेक अरुले लिने सम्भावना छैन भने एमसीसी संसद्बाट पास हुनको लागि पनि सत्तारुढ नै चाहिन्छ । किनकि अहिले पनि संसद्मा सत्तारुढको झण्डै दुई तिहाई मत छ । उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाडे पनि वर्तमान केपी ओली नेतृत्वको सरकारसँग बहुमत मात्र होइन दुई तिहाईमा केही संख्या मात्र कम छ । तसर्थ सरकारले ल्याउने प्रस्ताव पारित गर्न सत्तारुढ नै काफी छन् ।

सभामुखको बारेमा उपसभामुख शिवमायाले लिएको अडान केहीले सही भने पनि अधिकांशले सही नभएको बताएका छन् । शिवमाया सभामुख नै बन्ने हो भने पनि उनले राजीनामा दिनुपर्छ । उनको राजीनामा बिना केही पनि प्रक्रिया अगाडि बढ्न सक्तैन । तर, शिवामायाको धम्कीले उनको सांसद पद नै जान सक्तछ । सांसद भएको कारण मात्र उनी उपसभामुख भएकी हुन् । उनले निर्णय नमानेर चेतावनी दिँदै गर्दा पार्टीले कारबाही गरेर सांसद् पद नै खुस्काई दिन पनि सक्तछ । त्यतिबेला उनी सभामुख, उपसभामुख मात्र होइन सांसद् पनि नहुन सक्छिन् । यद्यपि उनले पूर्वएमालेका विभिन्न कमिटी र संगठनमा बसेर खेलेको भूमिकालाई नजरअन्दाज गर्न भने सकिँदैन । नेकपाको एउटा पाटो अर्थात एमालेमा रहँदा उनले खेलेको भूमिका र उनको योग्यता कुनै पनि सभामुख बन्न लालायीत भएका भन्दा कमजोर छैन । बरु सबल नै छ ।

तर, शिवमाया र एमसीसीको कारण नेकपामा असहज अवस्था आउन सक्ने देखिएको छ । कतिपयले पूर्वमाओवादीलाई सभामुख बन्नबाट रोक्न पूर्वएमालेले शिवमायालाई प्रयोग गरेको दाबी पनि गरेका छन् । त्यो कुरा कत्तिको सत्य हो त्यो त भविश्यले नै बताउला । तर उनको कारण दुबै पक्ष अर्थात पूर्वएमाले र पूर्वमाओवादीमा अविश्वासको वातावरण भने बढाएको छ । यसले पार्टी नै त फुटाउने होइन विवाद र गुट भने सिर्जना गर्ने देखिन्छ । एमसीसीको विषयमा पनि त्यस्तै, दुबै शीर्ष नेता एमसीसीमा सहमत भएमा त्यो दुई तिहाईले पास हुन्छ । दुई मध्ये एक अध्यक्ष त्यसको विपक्षमा रहे मात्र पार्टी विभाजनको अवस्थामा पुग्ने हो । दुबै एक भएसम्म नेकपा फूट हुने सम्भावना छदंै छैन ।
नेकपा विभाजन हुनको लागि बाहिरी तत्वले चलखेल गरेर मात्र हुने छैन । तत्कालिन एमाले र तत्कालीन माओवादी विभिन्न समयमा फुटेका छन् । फुटेकाहरु पनि अहिले जुटेका छन् । अर्थात पूरानै घरमा फर्किएका छन् । पुरानो घरमा फर्किएर उनीहरु अहिले नेकपा बनेका छन् । फुटाएर जाँदा केही हैसियत रहन्न भन्ने जानकारी ती दलका अधिकांश नेतालाई छ । कार्यकर्तालाई पनि त्यो कुरा थाहा भएकै छ । त्यही भएर एमसीसी र शिवमायाको लफडाले नेकपा फुट्ला र चाँडै नै राज गर्न पाईन्छ भन्ने काँग्रेसी सपना पूरा हुने देखिन्न । ‘यस्ता कुराले नेकपा विभाजित हुँदैन’, नेकपाका एक नेताले भने, ‘फुट्दा पूर्वमाओवादी मात्र होइन पूर्वएमाले पनि समाप्त हुन्छ नै । आफू समाप्त हुन कोही पनि फुट्ने अवस्थामा पुग्दैैंनन् । नेकपा फुट्छ भनेर काँग्रेस र राजावादीहरुले सपना नदेख्दा नै राम्रो ।’ नेकपामा अहिले केही अहमता भने बढेको छ । त्यसले भने यस पार्टी भित्रभित्रै जलाउने काम भने गरेको छ । तर, तत्काल फुट भने नहुने नेकपाका जिम्मेवार नेताहरु बताउँछन् ।