छिमेकीको विपति नेपालीको खै सहानुभुति ?

– नारायण नेपाल

छिमेकी मुलुक चीन यतिबेला कोरोना भाईरस संक्रमणका कारण जटिल स्वास्थ्य परिस्थितीबाट गुज्रिरहेको छ । यतिबेला चीनलाई छिमेकी राष्ट्र तथा अन्य मुलुकबाट साथ सहयोग मात्र होईन दरिलो आँट र भरोसाको खाँचो छ । छिमेकी हुनुको नाताले नेपालले चीनलाई सहायता दिनु र धैर्य रहन आँट दिनु आवश्यक छ । जसरी नेपालले विपत्ती भोग्दा चिनियाँ सरकार र नागरिकले निःस्वार्थ सहयोग गरेका थिए, त्यसरी नै गुनको बदला गुन नेपाल र नेपालीले चीनलाई दिनुपर्छ । के सरकार के नागरिक सबैले संयमतापुर्वक सकारात्मक रुपमा सहयोग गर्न नसके छिमेकी हुनुको नाता र धर्म कायम रहन्छ । तर यसबिचमा नेपाली, विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यमले डर, त्रास फैलाउन उद्धत छन् ।

माघ २९ गते मुलुकका सर्वाधिकले हेर्ने अनलाईन खबर डटकमले ‘कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने’ शिर्षकमा समाचार प्रकाशित ग¥यो । नेपालमा सबैभन्दा बढी हेरिने अनलाईन खबरमा प्रकाशित सो समाचारलाई लिएर धेरै नागरिक आतंकित भए । सो समाचारमा हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर ग्रेबियल लेउले गरेको आकलनलाई उल्लेख गरिएको थियो । कुनै एक प्रोफेसरको आकलनलाई शिर्षक दिएर समाचार बनाउँदा त्यसले चीनप्रति हाम्रो सहानुभूति सदासयता फिक्का बनाई दियो । यतिबेला हामीले सकारात्मक शिर्षक राखेरै समाचार दिएर पनि चीनको आत्मविश्वास बढाउन आवश्यक छ ।

यसैगरी, नेपालमा सञ्चालित विभिन्न आयोजनामा चिनियाँ लगानी र चिनियाँ कामदार कार्यरत पनि छन् । कोरोना भाईरसको संक्रमणपछि केहीमा तत्काल असर परेको छ भने केहीमा पछि असर पर्ने निश्चित छ । स्वयं चीन यतिबेला सबै आयोजना काम र नयाँ योजनालाई थाती राखेर भाईरससँग लडिरहेको छ । हाम्रा विश्वासिला सञ्चारमाध्यमले चिनियाँका कारण आयोजना रोकियो भन्ने सन्देश प्रशारण गरेका छन् । यसले पक्कै पनि नेपालीमाझ चिनियाँ छवि धुमिल्याउने काम गर्दछ ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले चिनियाँ नागरिकका कारण आयोजना रोकिएका समाचार बाहिरिन थालेपछि मिडियालाई पत्र पठाउँदै भनेकी छन्, ‘कोरोना विरुद्ध लडेर अन्त्यमा जब हामी सफलता हासिल गर्छौं । त्यसपछि नेपालका आयोजनाका काम फेरी शुरु हुनेछन् ।’ राजदूत यान्छीले सञ्चारकर्मीलाई आफ्नो लिखित धारणा पठाउँदै धेरै चिनियाँ केही समयअघि चीनमा पर्व मनाउन गएको र भाईरसका कारणले उनीहरू अहिले फर्कन नसकेको बताएकी छन् । चिनियाँ नागरिकको ठाउँमा हामीले आफुलाई राखेर हेरौं एकपटक, यतिबेला चीनलाई हामीले कोरोना भाईरसको संक्रमणबाट मुक्ति पाएपछि आयोजनाको कामलाई अगाडी बढाउन सकिन्छ भनेर पनि हौसला दिन सक्छौं नि होईन ?

सरकारले चीनमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याईसकेको छ । विभिन्न प्रक्रिया र प्रयासपछि सरकारले आफ्ना नागरिक नेपाल ल्याएको हो । यो सकारात्मक पाटो हो । तर यहाँ नेपालमा सरकारले आफ्ना नागरिक मर्नकै लागि चीनमा छोडे जसरी भ्रमपुर्ण सामाग्री सञ्चारमाध्यममा प्रशारण र प्रकाशन हुनु असल छिमेकीको सम्बन्ध धमिल्याउनु हो ।

गत डिसेम्बर अन्तिम साताबाट फैलिएको कोरोनाको संक्रमणबाट हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् । केही तथ्याङ्क आधिकारिक रुपमा नआए पनि संक्रमण हजारांैमा भईसकेको छ र ति उपचारका क्रममा छन् । तर नेपाली सञ्चारमाध्यममा चिनियाँ सरकारी तथ्याङ्क बाहेकका अन्य स्रोतलाई उद्धत गरेर मृतक र संक्रमितको संख्या बढाउँदै समाचार आईरहेको छ । यसले चीनमा रहेका नेपालीमा पर्ने असर र आफन्त चीनमा रहेका यहाँका परिवारमा पर्ने असर ति सञ्चारमाध्यमले मानवीय ढंगले बुझ्नु जरूरी छ ।

आफ्नो सबैभन्दा ठुलो शत्रु चीनलाई ठान्ने अमेरिकाले चीन पुगेका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएर विषवमन गरिरहेको छ । तर हामी दुई मुलुक एक अर्काका शत्रु होईनौं । विकासका सारथी हौं । मित्रराष्ट्र हौं । एक मुलुकलाई परेको संकटमा अर्को मुलुकको सरकारले मात्र होईन नागरिकले पनि जिम्मेवार भएर सहानुभुति र सहयोग दिनुपर्छ । तर हाम्रा सञ्चारमाध्यमले छिमेकको दुःखमा साथ दिन नसकिए पनि भ्रम फिजाउनु अपराध हो । नेपालका विभिन्न सामाजिक ब्यवसायी संघ, संस्थाले पनि मित्रवत् ब्यवहार र साथ दिन जरुरी छ । विभिन्न समयमा नेपालमा भएका प्राकृतिक प्रकोप–भूकम्प÷बाढी, पहिरोजस्ता आपतका बेला चीनले महत्वपूर्ण सहयोग गर्ने गरेको छ । नेपालले चीनमा संकट पर्दा उसले आफूलाई गरेजस्तै सहयोग गर्न नसके पनि कम्तीमा छिमेकीको पीडामा नुनचुक छर्कने हर्कत गर्नु त हुँदैन नि ।

कोरोना भाईरसको संक्रमणपछि चीनको वुहानका विद्यार्थीलाई उद्धत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनु परेको भ्रामक समाचार सम्प्रेषण गरे । के साँच्चै वुहानमा नेपाली विद्यार्थी शौचालयकै पानी पिएका छन् त ?  बेइजिङस्थित चिनियाँ अन्तराष्ट्रिय रेडियो (सिआरआई)को नेपाली सेवामा ‘विदेशी विशेषज्ञ’ चेतनाथ आचार्य भन्छन्, ‘चीनका हरेक क्षेत्रमा वितरित पानी उमालेर पिउन योग्य हुने खालको छ । राजधानी बेइजिङ होस् वा चीनका अन्य सहरका होटलका धारामा आउने पानी उमालेर पिउन सकिन्छ । पाँचतारे होटलमा आउने पर्यटकले समेत त्यही धाराको पानी उमालेर पिउने गरेका छन् । पाँचतारे होटलमा प्रयोग हुने पानी नै अन्य बसोबास क्षेत्र र विश्व विद्यालयमा वितरण हुने गरेको छ । छात्राबास अथवा कुनै पनि बसोबास क्षेत्रका धाराको पानी पनि उमालेर प्रयोग गर्न सकिन्छ÷भईरहेको छ । कोही धनाढ्य र उच्चस्तरका ब्यक्तिले मिनिरल वाटर मात्र पिउलान्, अथवा कसैले पाँचतारे होटलमा मात्र खाना खालान्, त्यो कुरा सबैमा लागू नहोला ।’ बिना तथ्य भ्रमपुर्ण समाचार प्रकाशन र प्रशारण गर्दा चीन नेपालबिचको सम्बन्ध बिग्रन सक्छ । हाम्रो आपतमा जिम्मेवार हुने छिमेकीलाई परेको अप्ठ्यारो हामीले रुखो ब्यवहार गर्नु राम्रो होईन ।

चीनको दुःखमा यतिबेला पश्चिमा मुलुकले सघाएका छैनन् । उनीहरुले विभिन्न तरिकाबाट झनै दुःख थोपरिरहेको चिनियाँको भनाई छ । चीनमा देखिएको नोबल कोरोना भाईरसको विषयमा पश्चिमा मुलुक र युरोपेली मुलुकमा घृणाका अभिब्यक्ति आईरहेका छन् । एक जर्मन पत्रिकाले नोवल कोरोना भाईरस चीनमा बनेको भन्दै लेख्यो । नेदरल्यान्ड्सको एक रेडियो प्रस्तोताले ‘भाईरस तुच्छ चिनियाँले बनाएका हुन् । संक्रमणबाट बच्ने हो भने चिनियाँ खाना नखाऔँ’ भन्ने गीत बनाए । फेब्रुअरी ३ मा त ‘चीन साँच्चै एसियाको रोगी हो’ भन्ने वालस्ट्रिट जर्नलले हेडलाईन नै बनायो । यी सबैले चिनियाँ नागरिकमाथी झन् पिडा थपिएको छ । नेपालमा पनि सामाजिक सञ्जालमा चिनियाँ नागरिकको तस्विर राखेर ‘यही नै हो कोरोना भाईरस ल्याउने’ भन्दै पोष्ट गरिएको छ । टिकटक बनाएर चिनियाँ खानाको अपमान गरिएको छ । कसैलाई गाली गर्दा चिनियाँलाई जस्तै कोरोना भाईरस लागोस् भनिएको छ । यस्ता ब्यवहारले भोलीका दिनमा चीनले नेपाललाई कसरी हेर्छ, कस्तो ब्यवहार गर्ला त्यसको हामीले एक रत्ति पनि सोचिरहेका छैनौं ।

सरकारले चीनबाट ल्याईएका नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा राख्दै गर्दा हामीले ‘सिमानामा राखौं या भ्रष्टाचारीको बिचमा राखौं’ भनेर खिल्ली उडायौं । जस–जसले यसो भने, के उसैको परिवारको सदस्य भएको भए यसो भन्न सक्थे ? हामीले यसो भन्दै गर्दा चीनबाट फर्किएका ति विद्यार्थीलाई मानसिक रुपमा कति असर पर्ला ? हामीले सोच्नुपर्छ कि पर्दैन ?

एकजना चिनियाँ लेखक वाङ वेनले भनेका छन्, ‘चीनमा कोरोना भाइरस फैलिएको छ, केही चिनियाँ भाईरसबाट संक्रमित पनि छन्, तर यसको अर्थ चीन रोगी मुलुक होइन ।’ हामीले त मुलुक नै रोगी भए जस्तो करोडौं मर्ने भनी त्रास फैलाईरहेका छौं । हामीले फैलाएको त्रास कुनै पश्चिमा मुलुकले चीनलाई गरेको विभेदपुर्ण ब्यवहार जस्तै त भईरहेको छैन ? सचेत बनौं । कोरोना भाईरससँग लडिरहेको चीनको यो लडाँईमा साथ दिउँ र भनौं, ‘ प्रिय चीन, तिम्रो दुःखमा हामी पनि सँगसँगै छौं ।’