हेटौँडा । देश सङ्घीय संरचनामा गएर प्रदेश सभा गठन भएको साढे सात वर्षपछि बागमती प्रदेश सभाले आफ्नै नयाँ भवन पाएको छ । विसं २०७४ माघ १८ गते पहिलो अधिवेशन बसेयता प्रदेश सभाको बैठक र सचिवालय तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनबाट सञ्चालन हुँदै आएको थियो ।
भवन शिलान्यास गरिएको पाँच वर्षपछि प्रदेश सभा भवन साउन २७ गते मंगलबार प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गरिएको हो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको भवन ढिलो गरी निर्माण पूरा भएर हस्तान्तरणसँगै बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले उद्घाटन गर्नुभयो । यसअघि प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेशचन्द्र देवकोटाले भवनको साँचो प्रदेश सभाका सभामुख पाठकलाई हस्तान्तरण गर्नुभएको थियो । २०७७ कात्तिक १९ गतेबाट सहरी विकास तथा भवन कार्यालय, हेटौँडामार्फत निर्माण सुरु गरिएको उक्त भवनको कुल लागत १२ करोड ३३ लाख ६२ हजार ९६४ रुपैयाँ रहेको छ । कुल लागतमध्ये सहरी विकास तथा भवन कार्यालय आठ करोड ६२ लाख ७१ हजार १२७ रुपैयाँमा भवनको संरचना निर्माण भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी गराउनुभयो । यस्तै फर्निचर, अडियो, भिडियोलगायतमा तीन करोड ७० लाख ९१ हजार ८३७ रुपैयाँ खर्च भएको छ । प्रदेश सभाको आफ्नै भवन नभएको भन्दै प्रदेश सभा सदस्यले आलोचना गर्दै आएका थिए । प्रदेश सभाको भवन हस्तान्तरणसँगै अब नयाँ भवनबाट प्रदेश सभाको बैठक सञ्चालन हुने भएको छ ।
प्रतिक्रिया