दुप्चेश्वरको गत वर्षको भेटी रु.डेढ करोड

साउनमा मात्र रु.३२ लाख

दुप्चेश्वरको गत वर्षको भेटी रु.डेढ करोड
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

समुन्द्रटार । गत आर्थिक वर्ष २०८१/०८२ सालमा दुप्चेश्वर महादेव मन्दिरको भेटी झन्डै रु.डेढ करोड सङ्कलन भएको छ । मन्दिरको एक वर्षको आय-व्यय विवरण सोमबार सार्वजनिक गरिएको थियो ।

दुप्चेश्वर क्षेत्र विकास कोषले गरेको सार्वजनिक आय-व्यय विवरणअनुसार एक वर्षमा भक्तजनबाट प्राप्त भेटी तथा दान कुल आम्दानी रु.एक करोड ४४ लाख ८० हजार नौ सय २८ र रु.३२ लाख २१ हजार खर्च भएको छ । आम्दानीबाट मन्दिरका पुजारी, आरती कर्मचारी र स्वयम्सेवकको तलबभत्तामा रु.३० लाख ५५ हजार सात सय, रासनमा रु.एक लाख ६५ हजार तीन सय खर्च भएको छ । समितिले भक्तजनले चढाएको भेटी, दान, सहयोग प्रत्येक दिन गणना गरी बैंकमा जम्मा गरेर सार्वजजिक गरिरहेको कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । चालू आवको पहिलो महिना मन्दिरमा दान, भेटी सहयोग, साउनमा मात्र रु. ३१ लाख ८३ हजार सात सय ८८ सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।दुप्चेश्वरधामको आर्जित आम्दानी तथा व्यय व्यवस्थापन समितिमार्पmत पारदर्शी ढङ्गले सञ्चालन हुँदै आएको छ । धाममा सङ्कलित भेटी, दान, सहयोग र अन्य आम्दानी स्रोतहरूको उपयोग, धार्मिक, सांस्कृतिक, भौतिक तथा प्रशासनिक कार्यमा खर्च गरिएको समितिका अध्यक्ष एवम् दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो ।

दुप्चेश्वर महादेव मन्दिरको आय–व्यय पारदर्शी हुन थालेपछि नुवाकोटमा रहेका अन्य महत्त्वपूर्ण मठमन्दिको पनि भेटी, दान, सहयोग पारदर्शी गर्न अहिले आवाज उठ्न थालेको छ । जिल्लाको विदुर नगरका देवीघाटको जालपादेवी, नुवाकोटको भैरवी, बगुवाको पञ्चकन्या मन्दिर, बेलकोटगढी नगरपालिकाको चिम्टेश्वर महादेव, पञ्चकन्या गाउँपालिकाको कविलासको कपिलेश्वर र नाट्यश्वरी मन्दिरमा पनि पुजारी र स्वयम्सेवक कर्मचारी व्यवस्था गरी तलब र भत्ताको व्यवस्थापन गर्न सके आम्दानी स्रोतको उपयोग र धार्मिक, सांस्कृतिक, भौतिक तथा प्रशासनिक कार्य गर्न सहज हुने नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार बताउनुभयो । नुवाकोटका समाजसेवी नारायणदास रञ्जित दुप्चेश्वर मन्दिरमा अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि उक्लन र पूजा गर्न सहजीकरण गरिएकामा कोषलाई धन्यवाद दिँदै सिँढीहरूमा पानी बग्ने गरेकाले नयाँ जुत्ताचप्पल लगाउन अनुमति दिनुपर्ने सुझाव पनि दिनुहुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह