तामाङ जातिको धार्मिक वाद्यवादन

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:०१
  •  फुर्पा तामाङ

धार्मिक क्रियाकलापमा पनि वाद्यवादन अर्थात् बाजाको प्रयोग गरेको पाइन्छ । प्रायः धर्मअनुसारको फरक वाद्यवादन हुने गर्छन् । लामा गुरु तथा बोन्पो (झाँक्री)ले धार्मिक क्रियाकलापमा विभिन्न बाजा बजाउँदा निस्किने धुनले एउटा साङ्गीतिक माहौल सिर्जना हुन्छ । यस्तो बाजा गीत गाउँदा सामान्य व्यक्तिले झैँ प्रयोग गर्न पाइँदैन । धार्मिक वाद्यवादन बजाउन छम् (गुफा शिक्षा) बस्नुपर्छ । विभिन्न वाद्यवादनको यतिउति छम् (गुफा शिक्षा) बस्नुपर्ने धार्मिक नियम हुन्छन् । कुन बाजा कुन प्रकारको धार्मिक कार्यमा प्रयोग गरिन्छ र के–कसरी बजाउनुपर्छ भनेर गुरुले गुफामा बस्दा सिकाउने गर्दछन् । प्रत्येक बाजाका लागि छुट्टा-छुट्टै छम् (गुफा शिक्षा) लिनुपर्छ । यो बाध्यात्मक र अनिवार्य हो । छम् (गुफा शिक्षा) बसेर दीक्षित नभएकाले बाजा बजाउन मिल्दैन र दिइँदैन । यो लेखमा तामाङ जातिले मान्दै आएका पुख्र्यौली धर्म बौद्ध र बोन (झाँक्री) धर्मका धर्मगुरुले प्रयोग गर्ने बाजाको नामका बारेमा केही उल्लेख गरिनेछ ।

(१) बौद्धधर्मका लामा गुरुले प्रयोग गर्ने धार्मिक बाजा :
बौद्ध धर्मका लामा गुरुले धार्मिक क्रियाकलापमा निम्नानुसारको वाद्यवादन बजाउने गर्दछन् :

(क) डम्ब्रा : डम्ब्रालाई नेपालीमा डमरु भनिन्छ । यो छाला र काठबाट बनाइन्छ । लामा गुरुले धार्मिक कार्यको पूजाआजामा डमरुको प्रयोग गर्दछन् । डमरु दाहिने हातले बजाउनुपर्छ ।
(ख) डिल्बु : डिल्बुलाई नेपालीमा घन्टी भनिन्छ । यो काँस वा ढलौटबाट बनेको हुन्छ । धार्मिक कार्यमा यसको प्रयोग प्रायः अनिवार्य हुन्छ । यो बाजा देब्रे हातले बजाउनुपर्छ ।
(ग) तिङ्च्या : तिङ्च्यालाई नेपालीमा के भन्छन् थाहा भएन । यो बाजा सानो प्लेटजस्तै हुन्छ । विशेषगरी लामाले नागको पूजा गर्दा यो बाजा अनिवार्य प्रयोग गरेका हुन्छन् ।
(घ) बुप्च्याल : बुप्च्याललाई नेपालीमा के भन्छन् थाहा भएन । यो पनि ढलौट वा पित्तलले बनेको हुन्छ । यो एकप्रकारको थालीजस्तै आकारको देखिन्छ । यसलाई छ्याबुप पनि भन्ने गरिन्छ ।
(ङ) सिङ्ङेन : यो बाजा थालीजस्तै आकारको बुप्च्याल बाजाजस्तै हुन्छ । पित्तल वा ढलौटबाट यो बाजा बनाइएको हुन्छ ।
(च) ङ्अ : ङ्अलाई नेपालीमा ढ्याङ्ग्रो भनिन्छ । ढ्याङ्ग्रो काठ, पित्तल, तामाको पातालाई खोक्रो बनाएर दुवैपट्टि छालाले मोडेर बनाएको हुन्छ । यो सानो, मझौला र ठूलो आकारको बनाउन सकिन्छ । यसलाई समात्नको लागि बिँड पनि बनाएको हुन्छ । बिँडलाई ‘ङ्अयु’ भनिन्छ । ढ्याङ्ग्रो बजाउनका लागि हँसिया आकारको काठको वा फलामको बनाइएको हुन्छ । यसलाई ‘ङ्अल्च्या’ भनिन्छ ।
(छ) ग्यालिङ : ग्यालिङ एकप्रकारको सहनाही जस्तै देखिने बाजा हो । यो बाजामा चाँदीको बेरुवा लगाइएको हुन्छ । चाँदीको बेरुवामा मुगा र युँ पनि जडित गरेका हुन्छन् । मुखले फुक्ने ठाउँमा ‘पिपी’ रूखको पात बेरेर राखिएको हुन्छ । यो बाजा पुजाकार्य र मृत्युसंस्कार दुवैमा प्रयोग गरिन्छ ।
(ञ) लाभा : लाभा एकप्रकारको ठूलो आकारको बाजा हो । यसको आवाज पनि ठूलो निस्किन्छ । यो बाजा तामाबाट बनाइन्छ ।
(ट) कङ्लिङ : कङ्लिङ बाजा नरकङ्कालबाट बनाइन्छ । यसको फुक्ने ठाउँ र अन्तमा तामाको बेरुवा हालेको हुन्छ । यसलाई शक्तिशाली बाजाको रूपमा लिइन्छ । पूजाकार्यमा यसको अनिवार्य प्रयोग हुन्छ । जिउँदो छँदा सुमधुर आवाज भएका व्यक्ति मरेपछि उसको नलीखुट्टाको हाडबाट कङ्लिङ बाजा बनाएको हुन्छ ।
(ठ) श्याङ् : श्याङलाई घन्ट भनिन्छ । यो फलामबाट बनेको हुन्छ । श्याङ गुम्बामा मात्र हुन्छ । किनभने यसको आकार ठूलो हुनुको साथै तौल पनि धेरै हुन्छ । गुम्बामा बिहान र साँझमा पूजा गरेपछि गुम्बा कुरुवाले श्याङ् (घन्ट) र दुङ् (शङ्खा) दैनिक अनिवार्य रूपमा बजाउनैपर्छ । पहिले श्याङ् बजाउँछ र त्यसपछि दुङ् (शङ्खा) फुक्छन् । बिहान घन्ट बजाएपछि गाउँले उज्यालो भयो भनेर उठ्नुपर्छ र साँझमा घन्ट बजाएपछि अब घरभित्र पस्नुपर्छ भन्ने मान्यता राख्दछन् ।
(छ) दुङ् : दुङ्लाई नेपालीमा शङ्ख भनिन्छ । शङ्खको प्रयोग विशेषगरी मृत्युसंस्कारमा अनिवार्य गरिन्छ । म्हानीमोलाम गाउँदा पनि यसको प्रयोग गरिन्छ । बिहानी र साँझमा गुम्बामा पूजा गरेपछि पुजारी वा गुम्बा कुरुवा (कोङ्यार)ले अनिवार्य शङ्ख फुक्नैपर्छ ।
(ड) वाइपी : लामा गुरुले धार्मिक कार्य गर्दा कहिलेकाहीँ सिट्ठी बजाउने गर्छन् । सिट्ठी मुखमा हात घुसारेर वा ओठ च्यापेर आवाज निकाल्छन् । यसलाई वाइपी भनिन्छ ।

(२) बोन (झाँक्री) धर्मका गुरुले प्रयोग गर्ने बाजा :
बोन (झाँक्री)ले धार्मिक क्रियाकलाप गर्दा लामा गुरुले झैँ धेरै प्रकारका वाद्यवादन प्रयोग गरेको पाइँदैन । बोन्पो (झाँक्री) ले निम्नानुसारको वाद्यवादन प्रयोग गर्दछन् :
(क) ङ्अ : ङ्अलाई नेपालीमा ढ्याङ्ग्रो भनिन्छ । बौद्ध लामा गुरुले प्रयोग गर्ने ढ्याङ्ग्रो र झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो करिब–करिब उस्तै देखिन्छन् । तर, केही कुरामा भने भिन्न हुन्छ । बोन्पोको ढ्याङ्ग्रो सानो आकारको हुन्छ । यो काठको खोक्रोमा भेडा वा बाख्राको छालालाई मोडेर बनाइन्छ । छालालाई तन्काउन डोरी वा छालाकै मसिनो डोरी प्रयोग गरिन्छ । त्यसरी तन्काएको बीचबीचमा डाँफे वा कुखुराको प्वाँख सिउरेर राखिन्छ । त्यसैगरी, दुम्सीको काँडा पनि बीचबीचमा छिराएर चुच्चोलाई बाहिर निकालिएको हुन्छ । यसको बिँडमा तीनमुखे बनाइन्छ । बिँड काठबाट बुट्टा खोपेर बनाइएको हुन्छ । ढ्याङ्ग्रो बजाउनका लागि ‘क्रे’ वा
‘ङिकिक्रे’ प्रजातिको जङ्गली लहराबाट ‘ङ्अल्च्या’ बनाइन्छ ।
(ख) वाइपी : बोन्पो (झाँक्री)ले वाइपीको खुब प्रयोग गरेका हुन्छन् । कुनैकुनै मन्त्र वाइपी अर्थात् सिट्ठी बजाएर गर्छन् ।
(ग) श्याङश्याङ रोल्मो : बोन्पो (झाँक्री) को काँधदेखि तल छड्के पारेर घन्टीको माला लगाएको हुन्छ । झाँक्री काम्दा र नाच्दा घन्टीको आवाज निस्किन्छ । झाँक्रीको घन्टी मालालाई श्याङश्याङ रोल्मो वा छोटकरीमा रोल्मो पनि भनिन्छ । घन्टी पित्तल र ढलौटबाट बनाइएका हुन्छन् ।

phurpatamang10@gmail.com