ओझेलमा परेको भूमेथान र देवीथान

  • त्रिशूली प्रवाह
  • ६ चैत्र २०७८, आईतवार १२:२५
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको उत्तरगया गाउँपालिका-३ डाँडागाउँमा रहेका भूमेथान र देवीथान धार्मिक एवम् पर्यटकीय तथा प्राकृतिक दृश्यावलोकन सम्भावना रहेको स्थान हुँदाहुँदै पनि उचित प्रचार-प्रसारको अभावले ओझेलमा परेका छन् ।

सदियौँदेखि पूजापाठ हँुदै आएको भूमेथान र देवीथानमा सन्तान नभएकाले भाकल गरे सन्तान हुने विश्वासमा माघ मसान्तको दिन र एकादशीको दिन भव्य मेला लाग्ने गर्दछ । गुरुङ जातिको बाहुल्य रहेको यस वडामा भूमे र देवीको पूजा गुरुङ थरका पुजारीले गर्दै आएका छन् । वर्षौँदेखिको भूमे र देवीको मन्दिरमा दैनिक स्थानीयले पूजापाठ गर्ने गरेको भए पनि माघ मसान्त र एकादशीको दिनमा रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौंबाट बत्ती बाल्न, नारायणपूजा लगाउन, बलि चढाउन आउनेको भिड लाग्ने गर्दछ । ठूलो क्षेत्रफलमा फैलिएको भूमेथानवरिपरि ठुल्ठूला रूख रहेका छन् ।

गुरुङ जातिको बाजे-बराजुले यस स्थानमा भूमेथानको स्थापना गरिएको भन्ने कथन रहेको छ । यसै समयमा महिलाले यस स्थानमा खनजोत गर्ने क्रममा देवीको मूर्ति फेला पारेकाले भूमेथानसँगै देवीस्थानको पनि स्थापना गरिएको स्थानीय श्याम गुरुङ बताउँछन् । मन्दिरनजिकै ठूलो तलाउसमेत रहेको र वरपर लुगा धुने, नुहाउने, दिसापिसाब गर्ने गरेकाले तलाउ हराएको र मानिस बिरामी पर्न थालेपछि गुरुङहरू त्यहाँबाट छरिएर बस्न थालेकोसमेत उनले बताए । धार्मिक स्थल र पर्या–पर्यटन तथा पदयात्रीका लागि उपयुक्त हुँदाहुँदै पनि प्रचार–प्रसार नहँुदा ओझेलमा परेको छ । भूमेथान र देवीथानको महत्व स्थानीयबाहेक अरूलाई थाहा छैन । यस ठाउँमा गाउँपालिकाले व्यवस्थापन राम्रो गर्दै मन्दिर प्रवेशद्वार निर्माण, खानेपानी, सरसफाइ तथा विश्रामस्थलको निर्माणसमेत अहिले गरेपछि वरपर गाउँबाट पूजापाठ गर्न र हेर्न आउनेको सङ्ख्या बढिरहेको बमबहादुर गुरुङले बताए । भाकल पूरा भएपछि भूमेथानमा पाठी, देवीथानमा बोका चढाउने प्रचलन रहेको छ ।

वडाध्यक्ष लालबहादुर गुरुङ भन्छन्, ‘यस्तो शक्ति भएको ठाउँ व्यवस्थापन त गरेका छौँ, तर प्रचार–प्रसार भने गर्न सकेनौँ ।’ नियमित पूजा गर्ने पुजारी धनबहादुर गुरुङले बताएअनुसार भूमेथान र देवीथानको पूजापाठ गर्दा राम्रो हुने, नयाँ कामको सुरुवात गर्नुभन्दाअघि पूजा गर्दा फलिफाप हुने, गाउँमा केही अनिष्ट हुन लाग्दा पूजापाठ र भाकल गरे अनिष्ट टर्ने, सुख, शान्ति हुने बताउँछन् । अहिले उनले नसक्ने भएपछि उनका भाइ झंकबहादुर गुरुङले नियमित पूजापाठ उक्त मन्दिरमा गरिरहेका छन् । डाँडागाउँकी स्थानीय पार्वती गुरुङ भन्छिन्, ‘मानिस विदेश जानुपरेमा यहाँ भाकल गरेर जाँदा राम्रो हुने र मागेको पूरा हुन्छ ।’ अर्का स्थानीय बमबहादुर गुरुङ भन्छन्, ‘यहाँको भूमेथान र देवीथानबारे अहिलेको पुस्ताले विश्वास गर्दैन, तर यसमा अलौकिक शक्ति छ ।’ स्थानीय मञ्जु गुरुङले भनिन्, ‘मैले आँटेको काम भाकल गर्दा पूरा भएको छ ।’ दैवीशक्ति भनेको आफूले राम्रोसँग काम गरेर शक्ति मिलोस् भनेर काम आँटे मागेको कुरा पूरा हुने स्थानीय हिरा गुरुङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् ।